सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गरिने, आठ वर्ष भित्र ७० प्रतिशत जनसंख्यामा ५जी पुर्याईने

Technology Khabar २२ श्रावण २०७७, बिहीबार

सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गरिने, आठ वर्ष भित्र ७० प्रतिशत जनसंख्यामा ५जी पुर्याईने
सांकेतिक
Classic Tech

नेपालले सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गर्ने तयारी गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसको लागि तयारी गरिरहेको छ ।

नेपालले सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गर्ने नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य सि. मणि चौलागाईँले जानकारी दिएका हुन् ।

५जी परीक्षणको लागि छिटै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको फ्रिक्वेन्सी समितीले समेत त्यसलाई अनुमति दिने भएको छ।

उनले आज आयोजित छैटौं एशिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट कन्फ्रेन्समा सन् २०२० भित्रै ५जी परीक्षण गरिने योजना रहेकाे र त्यसको लागि सरकारले समेत अनुमति दिने बताएका हुन् ।

‘हामी सन् २०२० को अन्त्यमा र सन् २०२१ को शुरुवातमा २.६ गीगाहर्ज उपलब्ध गराउने योजनामा छौं,’ उनले भने, ‘एनटिएको बोर्डले यसअघि नै ५जीको लागि फ्रिक्वेन्सी पहिचान गरिसकेको छ।’

सन् २०१९ मा नै प्राधिकरणले ५जीको लागि आवश्यक स्पेक्ट्रमहरु पहिचान गरेर फ्रिक्वेन्सी समितिमा सिफारिस गरिसकेको छ।

यसअघि नै सरकारले नेपाल टेलिकमलाई ४जी नेटवर्क बिस्तारको लागि टेण्डर गर्दा नै काठमाडौं र बिराटनगरमा नेटवर्क बिस्तार सकिएपछि ५जी परीक्षण गरिने गरि अनुमति दिएको थियो।

प्राधिकरणले ५जीमा आगामी १ वर्षसम्म निशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउँदै परीक्षण गर्न समितिमा सिफारिस गरेको बोर्ड सदस्य चौलागाईँले जानकारी दिए । उनले सो कार्यक्रममा बोल्दै सन् २०२१ र २०२२ को ५जीको लागि ७०० मेगाहर्ज ब्याण्ड र २.६ मेगाहर्ज ब्याण्ड उपलब्ध गराउने बताए ।

सन् २०२२ भित्र मोबाइल अपरेटरहरुले ५जी नेटवर्कको शुरुवात गर्ने र मुख्य शहरहरुमा व्यवसायीक प्रयोगमा ल्याउने अपेक्षा गरेका छन् ।

‘हामीले सन् २०२५ भित्रमा व्यापक राष्ट्रियतहमा ५जी नेटवर्क पुर्याउने र सन् २०२८ भित्र कम्तिमा ७० प्रतिशत जनसंख्यामा ५जी नेटवर्कहरु पुग्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

उनले ५जी नेटवर्क बिस्तारसँगै देशभर डिजिटल अर्थतन्त्र फस्टाउने र यसले आर्थिक विकासमा सहयोग गर्ने बताए ।

नेपालजस्तो भौगोलिक बिबिधता भएको देशमा सब १ गीगाहर्ज निकै महत्वपूर्ण भएको भन्दै चौलागाईले हाल फोरजी यूजर एभरेज स्पीडलाई सब १ गीगाहर्जको प्रयोग गर्दै २० प्रतिशतसम्म पुर्याउन सकिएको बताए ।

उनले नेपालमा टेलिकम अपरेटर र ब्रोडकास्टर अपरेटरहरुबिच कुनै सहकार्य नभएको र यसमा सहकार्य गर्न निकै चुनाैतीपूर्ण रहेको बताए ।

सो कन्फ्रेन्समा विभिन्न देश र कम्पनीका प्रतिनिधिहरुले स्पेक्ट्रमको प्रयोग र लो ब्याण्डको उपयोगीता बारेमा आफ्नो धारणा राखेका थिए ।

समाचार सम्पादित

प्रकाशित: २२ श्रावण २०७७, बिहीबार

Comments are closed.

Loading...