Technology Khabar २१ श्रावण २०७७, बुधबार
प्रयोगकर्ताहरुको डाटा अत्यधिक लिईरहेको आरोप भोगिरहेको शाओमीको एमआई ब्राउजर प्रोलाई भारतमा प्रतिबन्ध लगाईएको छ ।
सो ब्राउजरलाई हालै पछिल्लो समयमा भारतले थपेको प्रतिबन्धित चिनियाँ एप्सको सूचीमा समेत समावेश गरिएको थियो ।
यो त्यहि एमआई ब्राउजर हो जो शाओमी र रेडमी स्मार्टफोनहरुमा प्री-इन्स्टल गरेर आउने गर्दछ । यसका साथै गूगल प्ले स्टोरमार्फत डाउनलोड गर्ने अप्सन समेत रहेको छ जसलाई अब एप स्टोरबाट समेत हटाईएको छ ।
भारतीय मिडिया रिपोर्टअनुसार सो एमआई ब्राउजरलाई चिनियाँ एप प्रतिबन्ध गर्ने नीतिअन्तरगत प्रतिबन्ध लगाईएको हो ।
यसअघि पनि सो ब्राउजरको बारेमा सेवाग्राहीहरुले निकै आलोचना गर्दै आएका थिए । जसमा असम्बन्धित विज्ञापनहरु यूजरलाई निरन्तर देखाउने गरिन्थ्यो ।
यसअघि पनि सो ब्राउजर एप विवादमा परेको थियो । अन्तराष्ट्रिस्तरमै कम्पनीको सो एप विवादमा पर्नुमा इन्कोग्निटो मोडमा पनि यूजरको डाटाहरु संकलन गर्ने पत्ता लागेको थियो । यो एक प्रकारले डाटा चोरी भएको त्यसबेला साइबर सेक्यूरिटी अनुसन्धाकर्ताहरुले बताएका थिए ।
जबकी इन्कोग्निटो मोड भन्नाले आधारभूतरुपमा प्राइभेट ब्राउजिङ्ग ट्याब हो जसमा ब्राउजर हिस्ट्री, कुकिज, डाटाहरु कहिले पनि रेकर्ड हुँदैन् । तर यसलाई इन्टरनेट सेवा प्रदायकहरुले भने ट्र्याक गर्न सक्दछन् ।
कम्पनीले त्यसबेला समेत आफूहरुले डाटा संकलन नगरेको बताएको थियो । तर पछि सो स्वीकार गर्दै ब्राउजर भित्र ग्राहकहरुलाई यूजर एक्सपेरियन्स प्रोग्रामको लागि डाटा दिने वा नदिने भन्ने निर्णय गर्न सकिने अप्सन राखेको थियो ।
अहिलेको प्रतिबन्धमा कम्पनीले भारतीय कानूनअनुसार डाटा प्राइभेसी र सेक्यूरिटी मापदण्ड पालना गरेको दाबी गरेको छ ।
कम्पनीका प्रवक्ताले भारतीय समाचारपत्र इकोनोमिक टाइम्ससँग कुरा गर्दै सो बारेमा प्रमुख साझेदारहरुसँग सम्पर्कमा रहेको र विषयलाई सम्बोधन गर्ने बताएका छन् । एजेन्सीका साथ
प्रकाशित: २१ श्रावण २०७७, बुधबार