प्राइभेट कम्पनी एनसेल अब पब्लिक कम्पनी बन्यो, नाम समेत परिवर्तन

Technology Khabar २१ श्रावण २०७७, बुधबार

प्राइभेट कम्पनी एनसेल अब पब्लिक कम्पनी बन्यो, नाम समेत परिवर्तन
Classic Tech

एनसेल अब पब्लिक कम्पनीको रुपमा परिवर्तन भएको छ । कम्पनीले आफ्नो नाम परिवर्तन गरी एनसेल प्रालिबाट एनसेल आजीयाटा लिमिटेड बनाएको छ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालको साउन १९ गतेको निर्णय बमोजिम नाम परिर्वतन गराएको कम्पनीले जनाएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नाम परिवर्तन गरेको हो भने अब सार्वजनिक शेयर जारी गर्ने बाटो समेत खुला भएको छ।

कम्पनी ऐन २०६३ को २०७४ सालमा भएको संसोधनपछि आगामी बैशाखभित्र पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिक कम्पनीमा जानु पर्ने व्यवस्था रहेको छ । सोहिअनुसार एनसेल पनि पब्लिक कम्पनीमा गएको हो । एनसेलको चुक्ता पूँजी १० करोड रुपैयाँ छ ।

मेरो मोबाइलको नाममा सेवा शुरु गरेको स्पाइस नेपालले सन् २०१० मा स्विडेनको टेलिया सोनेरालाई कम्पनी बिक्री गरेको थियो भने त्यसपछि मलेशियाको आजियाटाले किनेको हो । टेलियाले मेरो मोबाइल र स्पाइस नेपालको नाम परिवर्तन गर्दै एनसेलको रुपमा ब्राण्डिङ्ग गरेयता एनसेलको नाममा सेवा सञ्चालन गर्दै आएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल अपरेटर एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो ।

प्राधिकरणको जेठ महिनाको तथ्याङ्क अनुसार एनसेलका हाल करिब १ करोड ६० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् ।

प्रकाशित: २१ श्रावण २०७७, बुधबार

Comments are closed.

Loading...