लकडाउन अवधिमा नेपालको इन्टरनेट स्पीड १८.२५ प्रतिशतले घट्यो, विश्वभर ६.३१ प्रतिशतले कमी

Technology Khabar २० श्रावण २०७७, मंगलवार

लकडाउन अवधिमा नेपालको इन्टरनेट स्पीड १८.२५ प्रतिशतले घट्यो, विश्वभर ६.३१ प्रतिशतले कमी

काठमाडौं ।

कोभिड-१९ को महामारीबाट बच्न गरिएको लकडाउनको अवधिमा नेपालको इन्टरनेट स्पीड २० प्रतिशत भन्दा बढिले सुस्त भएको छ । विश्वभर भएको लकडाउनको समयमा इन्टरनेट स्पीड सुस्त भएसँगै नेपालको पनि इन्टरनेटको गति कम भएको हो ।

सार्वजनिक एक अध्ययन रिपोर्टले लकडाउनको अवधिमा विश्वका ११४ देशहरुमध्ये इन्टरनेटको गति उच्च मात्रामा कम भएको देशमा नेपाल पनि परेको छ ।

अन्तराष्ट्रिय तहमा इन्टरनेटको डाटा अध्ययन र अनुसन्धान गर्ने बेलायती संस्था केबल डट को डट यूकेकाअनुसार नेपाल इन्टरनेटको गति घटेको देशहरुको सूचीको २४ औं स्थानमा रहेकोछ ।

तर दक्षिण एशियाली मुलुकहरुको आधारमा हेर्दा भने नेपालको इन्टरनेटको गति सो अवधिमा श्रीलंका, बंगलादेश, भारत भन्दा कम मात्रामा घटेको देखिन्छ । सूचीमा श्रीलंका १५ औं स्थानमा छ भने बंगलादेश १७ औं र भारत १९ औं स्थानमा रहेका छन् । यसको अर्थ यी देशहरुमा कोभिड १९ को लकडाउन अवधिमा इन्टरनेटको गति अधिक सुस्त भएको थियो ।

तथ्यांकअनुसार नेपालको इन्टरनेटको औसत गति सो समयमा ४.५२ एमबी प्रति सेकेण्ड रहेको थियो जबकी लकडाउन हुनुभन्दा अगाडिको समयमा इन्टरनेटको औसत गति ५.९३ एमबिपिएस रहेको थियो ।

सार्वजनिक रिपोर्टअनुसार एशियामा सबैभन्दा धेरै इन्टरनेटको गति कम हुनेमा चीन परेको छ, जहाँ औसतमा इन्टरनेट स्पीड ५०.९७ प्रतिशतले घटेको थियो भने चीन विश्वमै लकडाउनको अवधिमा स्पीड कम हुने पहिलो देश समेत भएको छ ।

त्यस्तै एशियाली देशमा दोस्रोमा दक्षिण कोरियाको ३०.४५ प्रतिशतले घटेको छ भने मलेशियाको २९.५१ प्रतिशतले कम भएको थियो ।

त्यसैगरि दक्षिण एशियाली देशहरुमध्ये श्रीलंकाको इन्टरनेट स्पीड २३.२९ प्रतिशतले घटेको थियो भने बंगलादेशको २१.७६ प्रतिशत तथा भारतको २१.०५ प्रतिशतले कम रहेको थियो ।

तथ्यांकअनुसार विश्वमा चीनपछि पनामाको इन्टरनेट स्पीड सबैभन्दा धेरै कम भएको थियो भने तेस्रो स्थानमा मदागास्कर रहेको छ ।

विश्वभर औसतमा लकडाउन अवधिमा इन्टरनेटको स्पीड ६.३१ प्रतिशतले घटेको थियो, जबकी वार्षिकरुपमा त्यस्तो स्पीड २० प्रतिशतको दरले सन् २०१७ पछि बढिरहेको रिपोर्टमा उल्लेख छ ।

केबल डट को डट यूकेले एम ल्याबसँगको सहकार्यमा विश्वभर ३६ करोड ४० लाख ब्रोडब्याण्ड स्पीड परीक्षण गरेको थियो । जसमा ११४ देशहरु सहभागी रहेका थिए ।

इन्टरनेट स्पीड कम हुने मात्र नभई केहि देशहरुमा सो अवधिमा इन्टरनेटको स्पीड वृद्धि समेत भएको थियो जसमा अफगानिस्तान, ब्राजिल, भियतनाम, अस्ट्रेलियालगायतका देशहरु रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: २० श्रावण २०७७, मंगलवार

ताजा समाचार