लकडाउनको अवधिमा स्मार्ट टेलिकमलाई फलिफाप, ठूला अपरेटरको हिस्सा घट्दा बजार बढायो

Technology Khabar १८ श्रावण २०७७, आईतवार

लकडाउनको अवधिमा स्मार्ट टेलिकमलाई फलिफाप, ठूला अपरेटरको हिस्सा घट्दा बजार बढायो

काठमाडौं ।

कोभिड-१९ को महामारीबाट बच्न सरकारले लकडाउन गरेको अवधिको जेठ महिनामा दूई ठूला मोबाइल अपरेटरहरुको ग्राहक र बजार घटेपनि स्मार्ट टेलिकमले भने बजार बढाउन सफल भएको छ ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार स्मार्ट टेलिकम प्रालिले बैशाख महिनाको तुलनामा जेठमा बजार बढाउन सफल भएको छ । कम्पनीले जेठमा ५.६६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको हो ।

यसअघि स्मार्ट टेलिकमको बैशाखमा बजार हिस्सा ५.५१ प्रतिशत थियो भने लकडाउन शुरु भएको महिना २०७६ चैतमा ५.४५ प्रतिशत मात्र थियो ।

कम्पनीले दुई महिनाको हाराहारीमा करिब शुन्य दशमलब ११ प्रतिशतले ग्राहक संख्या बढाएको छ ।

स्मार्ट टेलिकमले बजार संख्या बढाउन सफल भएपनि अन्य दुई ठूला मोबाइल अपरेटरहरु नेपाल टेलिकम र एनसेल प्रालिको बजार हिस्सा भने केहि खुम्चिएको छ ।

जेठमा नेपाल टेलिकमको बजार हिस्सा ५२.२२ प्रतिशत भएको छ । यसअघि बैशाखमा टेलिकमको बजार हिस्सा ५२.३२ प्रतिशत थियो ।

त्यस्तै निजी मोबाइल अपरेटर एनसेलको बजार हिस्सा जेठमा ४२.११ प्रतिशत रहेको छ । यसअघि बैशाखमा एनसेलको बजार हिस्सा ४२.१६ प्रतिशत रहेको छ ।

गएको चैतमा भने नेपाल टेलिमको बजार ५०.६९ प्रतिशत थियो भने एनसेलको बजार हिस्सा ४३.८५ प्रतिशत थियो ।

नेपाल टेलिकमले लकडाउन शुरु भएसँगै बजार हिस्सा बढाउँदै लगेको देखिन्छ । कम्पनीले चैतको तुलनामा जेठमा करिब १.५३ प्रतिशत बजार बढाएको देखिन्छ । तर एनसेलले भने सोहि अवधिमा तुलना गर्दा करिब १.७४ प्रतिशत बजार गुमाएको छ ।

बैशाखकाे बजार हिस्सा
जेठको बजार हिस्सा

तर स्मार्टले भने चैत, बैशाख र जेठमा क्रमश बजार हिस्सा बढाउँदै लगेको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

जेठ महिनामा नेपाल टेलिकमसँग १ करोड ७२ लाख ७७ हजार ८७३ जीएसएमए मोबाइलका ग्राहकहरु छन जसमा थ्रीजीका मात्रै ८५ लाख ८२ हजार ६३४ ग्राहक छन भने फोरजीमा केबल ८ लाख ४३ हजार ४०२ जना ग्राहक छन् । बाँकी २जीका ग्राहकहरु रहेका छन् ।

त्यसैगरि एनसेलसँग जेठ महिनामा १ करोड ५९ लाख १६ हजार ३५४ ग्राहक छन भने कम्पनीका ३६ लाख ८४ हजार ८ सय ३२ ग्राहक ४जीमा तथा २८ लाख ५८ हजार ३८३ ग्राहक थ्रीजीमा रहेका छन् ।

जेठमा बजार बढाउन सफल भएको अर्को निजी मोबाइल अपरेटर स्मार्टसँग भने २१ लाख ४१ हजार ११७ ग्राहक रहेका छन जसमध्ये १ लाख ८२ हजार ५४५ जना फोरजीका ग्राहक छन् ।

जेठमा अघिल्लो महिनाको तुलनामा मोबाइलको पहुँच करिब २ प्रतिशतले घटेर १२३.९० प्रतिशत भएको छ । त्यस्तै फिक्स्ड लाइनमा पनि घटेको देखिन्छ भने समग्रमा टेलिफोनको पहुँच घटेर १२६.५३ प्रतिशत रहेको छ । अघिल्लो महिना बैशाखमा यस्तो दर १२९.३४ प्रतिशत रहेको थियो ।

Global Bank
easy care

प्रकाशित: १८ श्रावण २०७७, आईतवार