Technology Khabar १६ श्रावण २०७७, शुक्रबार
संसदको विकास तथा प्रविधि समितिले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को फोरजी सेवाको बिस्तारमा भएको ढिलाइ बारे कारण माग गरेको छ।
समितिको शुक्रबार बसेको बैठकमा टेलिकमको सेवा सम्बन्धि छलफल गर्दै कम्पनीको फोरजी सेवा बिस्तार किन ढिलो भएको हो भन्ने प्रश्न गर्दै तोकिएको समय अवधि भित्र नसक्नुका कारणसहित सात दिनभित्र जवाफ पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।
समितिले मन्त्रालय र प्राधिकरणलाई गत आर्थिक वर्षमा कति सिमकार्ड वितरण भयो र अन्य संस्थाहरुको आर्थिक अवस्थाको बिबरण सात दिनभित्र प्रस्तुत गर्न निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले बताईन् ।
त्यस्तै नेपाल टेलिकमको रणनीतिक साझेदार कम्पनी भित्र्याउने बारेमा सरकारले प्रकृया अगाडि बढाएको अवस्थामा के कस्तो र साझेदारीलाई कस्तो काम गराउने र कसरी साझेदारी गर्नेहो भन्ने बारेमा त्यसको स्पस्ट नीतिगत व्यवस्था गरि समितिमा जानकारी गराउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले टेलिकमको सेवाको गुणस्तर र प्रभावकारिताको विषयमा आगामी कार्ययोजना माग गरिएको छ भने सो उक्त कार्ययोजना ३० दिन भित्र समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
सो निर्देशन दिनुअगाडी समितिको बैठकमा टेलिकमको सेवा र गुणस्तर बारे सांसदहरुले छलफल गरेका थिए ।
प्रकाशित: १६ श्रावण २०७७, शुक्रबार