सजिलो मर्मत सेवाले प्राबिधिकहरुका लागि ल्यायो ‘कोभिड रिलिफ फन्ड’

Technology Khabar १४ श्रावण २०७७, बुधबार

सजिलो मर्मत सेवाले प्राबिधिकहरुका लागि ल्यायो ‘कोभिड रिलिफ फन्ड’

काठमाडौं ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ठूलो संख्याले लकडाउन अवधिमा निकै कष्ट झेल्नु पर्‍यो। यसबीच सजिलो मर्मत सेवा (एसएमएस) ले ‘एसएमएस कोभिड रिलिफ फन्ड’ मार्फत् आफ्ना साझेदार प्राविधिक एवम् मिस्त्रीहरूलाई सहयोग गर्ने गरेको छ ।

सजिलो मर्मत सेवासँगको सहकार्यमा हाल जम्मा ६५ जना प्राविधिकले काम गर्दै आएका छन्। लकडाउनका कारण उनीहरूलाई दैनिक गुजारा टार्न मुस्किल परेको थियो । सोही अप्ठ्यारो अवस्थालाई मध्यनजर गर्दै एसएमएस रिलिफ फन्ड सुरु गरिएको हो । सजिलो मर्मत सेवासँग जोडिएका प्राविधिकहरूलाई कोभिड–१९ महामारीसँग जुध्न सघाउनु रिलिफ फन्डको लक्ष्य हो । आर्थिक सहायताको आवश्यकता परेका प्राविधिकलाई सहयोग गर्नु यसको प्रमुख उदेश्य हो ।

एसएमएसले अप्ठ्यारोमा परेका प्राविधिकहरूलाई बिना धितो र बिना ब्याजदर ऋण प्रदान गर्नेछ । कोभिड–१९ भाइरसबारे पर्याप्त जानकारी दिएर उनीहरूलाई काममा फर्काउनका लागि पनि रिलिफ फन्ड प्रयोग गरिने बताईएको छ ।

प्राविधिक र ग्राहक दुवैको स्वास्थ सुरक्षालाई ध्यानमा राख्नुका साथै स्वास्थ सुरक्षा मापदण्ड अपनाएर यस कम्पनीले काममा फर्किने सबै प्राविधिकहरूलाई पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) उपलब्ध गराएको छ। साथै, कोभिड–१९ बारे पर्याप्त जानकारी दिन र कसरी लो कन्ट्याक्ट सर्भिस (न्यून जनसम्पर्क सेवा) उपलब्ध गराउन सकिन्छ भन्नेबारे बुझाउन एसएमएसले प्राविधिकहरूलाई तालिमसमेत दिँदै आएको छ ।

कम्पनीले आफूसँग आबद्ध ६५ जना प्राविधिकको बीमा गरिदिएको छ । उनीहरू सबैलाई पीपीई वितरण गरिएको थियो, जसमा मास्क, पञ्जा, चस्मा, स्यानिटाइजर र किटनाशक समेटिएका थिए ।

सजिलो मर्मत सेवाले रिलिफ फन्डका लागि एक लाख रुपैयाँ प्रदान गरेको छ भने जमर्नीका फ्रान्जिस्का डाइटेलले नेतृत्व गरेको माइन्डग्रोथ नामक संस्थाले पनि कोष विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

के हो त सजिलो मर्मत सेवा ?
घरायसी तथा व्यापारिक संस्थाका भवनको मर्मत–सम्भारलाई आवश्यक सम्पूर्ण मिस्त्री–सेवा उपलब्ध गराउने संस्था हो, सजिलो मर्मत सेवा प्राली ।

यसले आफ्ना दक्ष प्राविधिकमार्फत् सेवा–सुविधा दिने गरेको छ । नेपालको सर्वाधिक ठूलो सेवाप्रदायक इकाई बन्ने यसको लक्ष्य रहेको कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १४ श्रावण २०७७, बुधबार

ताजा समाचार