Technology Khabar १४ श्रावण २०७७, बुधबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाईल टावरबाट सिर्जना हुने विद्युतीय चुम्बकीय विकिरणलाई नियन्त्रणमा राख्ने उद्धेश्यका साथ नयाँ विनियमावली जारी गरेको छ।
प्राधिकरणले गत पुस १८ गते नै बोर्डबाट पारित गरेको सो विद्युतीय चुम्बकीय विकिरणबाट सर्वसाधारण तथा कामदारको सुरक्षा सम्बन्धी विनियमावली २०७६ हालै जारी गरेको हो ।
प्राधिकरणले पहिलो पटक यस्तो विद्युतीय चुम्बकीय विकिरणको मापदण्ड निर्धारण गरेर नयाँ नियम लागू गरेको हो ।
सो विनियमावलीअनुसार अब मोबाईल टावर स्थापना र संचालन गर्ने दूरसञ्चार सेवा प्रदायकले निश्चित मापदण्डभित्र रहने गरि मात्र विद्युतीय चुम्बकीय विकिरण उत्सर्जन हुने व्यवस्था मिलाउनुपर्नेछ ।
प्राधिकरणले त्यस्तो विकिरण उत्सर्जनको मापदण्ड रेडियो फ्रिक्वेन्सी रेन्जअनुसार फरक फरक तोकेको छ ।
विनियमावलीअनुसार सामान्य मानिसहरु र सो टावरमा काम गर्ने व्यवसायीक व्यक्तिहरुको लागि भनेर फरक मापदण्ड र स्तर तोकेको छ ।
प्राधिकरणकाअनुसार मोबाईलको बेस स्टेशनका लागि १० देखि ४०० मेगाहर्जको तहमा ईलेक्ट्रिक फिल्ड स्ट्रेन्थ २८ भोल्ट प्रति मिटर हुनुपर्नेछ भने म्याग्नेटिक फिल्ड स्ट्रेन्थ ०.०७३ एम्प्लि प्रति मिटर तोकिएको छ भने पावर डेन्सिटी २ वाट प्रतिमिटर स्क्वायर रहेको तोकिएको छ ।
त्यसैगरि ४०० देखि २ हजार मेगाहर्ज, २ देखि ३०० गीगाहर्जको फरक फरक ईलेक्ट्रिक फिल्ड स्ट्रेन्थ, म्याग्नेटिक फिल्ड स्ट्रेन्थ र पावर डेन्सिटी सर्वसाधारण र सो टावरको लागि काम गर्ने व्यवसायीक व्यक्तिहरुको लागि फरक तोकिएको छ ।
जसमा साधारण मानिसहरुको लागि व्यवसायीक मानिसको भन्दा ५ गुणा कम विद्युतीय चुम्बकीय विकरण उत्सर्जन गर्ने किसिमले टावरको स्थापना र संचालन गर्नुपर्ने मापदण्डमा रहेको छ ।
सेवा प्रदायकले टावरमा जडित रेडियो प्रणालीको ईएमएफ एक्सपोजरबाट हुनसक्ने संभावित जोखिमको खतरा र त्यस्तो जोखिमको खतरा न्यूनीकरण गर्ने जानकारीसहितको चेतावनी चिन्ह र लेबलिङ्ग राख्नुपर्ने बाध्यकारी व्यवस्था विनियमावलीले गरेको छ । त्यस्तो चिन्हहरु मध्ये आरएफ पहेँलो दिशानिर्देश चिन्ह, सूचना चिन्ह, सावधानी चिन्ह, चेतावनी चिन्ह गरेर ४ प्रकारको चिन्हहरु समेत दूरसञ्चार टावरहरुमा प्रयोग गरिएको हुनुपर्नेछ ।
त्यसैगरि त्यस्तो टावरमा काम गर्ने कामदारहरुलाई सो बारेमा सचेतनामूलक जानकारी, सावधानीका उपायहरुको बारेमा प्रशिक्षित गर्नुपर्नेछ ।
प्राधिकरणले मोबाइल टावर तथा ट्रान्समिटर स्टेशन क्षेत्रभित्र प्रवेशमा नियन्त्रण गर्नुपर्ने प्रावधान सेवा प्रदायकहरुलाई राखेको छ भने त्यस्तो स्थानहरुमा जानेठाउँमा ढोका तथा तारबार गरिएको हुनुपर्ने प्रावधान रहेको छ ।
त्यसैगरि टावरमा राखिने एन्टेनाको लागि समेत उचाई निर्धारण गरेर न्यूनतम उचाई तोकिएको छ । विनियमावलीले भवनको छत वा छानामाथि टावरको जडान गर्दा त्यस्तो बेस स्टेशनको एन्टेना कम्तिमा ३ मिटर भन्दा अग्लो बनाई गर्नुपर्ने उल्लेख गरेको छ भने सर्वसाधारणको सजह पहुँच नहुने गरि रेडियो तरङ्गबाट श्रृजित तोकिएको अधिकतम एक्सपोजर सीमा पालना नभएको ठाउँमा सर्वसाधारणको पहुँचलाई राक्ने किसिमको हुनुपर्नेछ ।
एउटै टावर संरचनामा एक भन्दा बढी सेवा प्रदायकहरुको रेडियो एन्टेना रहेमा त्यसलाई कलेक्सन ईएमएफ एक्सपोजर सीमाको पालना गर्नुपर्नेछ ।
प्राधिकरणले विद्युतीय चुम्बकीय विकिरणको मापदण्डका साथै त्यसको अडिट र अनुगमनको बारेमा समेत विनियमावलीमा उल्लेख गरेको छ ।
जसमा सेवा प्रदायकले रेडियो प्रणाली संचालन गर्दा तोकिएको मापदण्ड भन्दा बढि नहुनेगरि संचालन गर्नुपर्नेछ भने टावर संरचनामा रेडियो फ्रिक्वेन्सीको बेस स्टेशन जडान सकिएपछि तोकिएअनुसार जाँच गरी तोकिएको ढाँचामा स्वघोषणा गरी सेवा प्रदायकले प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
टावर साईटमा एन्टेना जडान गर्नुभन्दा अगाडि नै आरएफईएमएफ एक्सपोजरको वस्तुगत विश्लेषण तथा सिमुलेसन गर्नुपर्नेछ भने आरएफ एक्सपोजरको मापदण्डको मूल्यांकन गरेर प्रतिवेदन बुझाउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
यसबाहेक प्राधिकरणले आवश्यकताअनुसार अनुमगन तथा सुपरिवेक्षण गर्न सक्नेछ भने सेवा प्रदायकले उपलब्ध गराउने तथ्यांकको आधारमा एकीकृत केन्द्रीय तथ्यांक तयार पार्नेछ र त्यसलाई सार्वजनिक गर्नेछ ।
प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले मोबाइल टावरबाट उत्सर्जन हुनसक्ने बिकिरणको जोखिमलाई न्यून गर्न र मापदण्ड तोक्न विनियमावली ल्याएको जानकारी दिए ।
‘मोबाइल टावरले धेरै विकिरण उत्सर्जन गर्दैन तरपनि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विद्युतीय चुम्बकीय विकिरण उत्सजर्नको मापदण्ड तोकिएको हो,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।
उनले अन्तराष्ट्रिय संस्थाहरु, आईटियूको मापदण्डअनुसार नै नेपालमा पनि मापदण्ड तोकिएको र त्यसको अनुगमन र निरिक्षण समेत गर्ने जानकारी दिए ।
‘हामीले विद्युतीय चुम्बकीय विकिरण उत्सर्जनको मापदण्ड पालना भए नभएको हेर्नका लागि टूल समेत खरिद गरिसकेका छौं र त्यसअनुसार समय समयमा परीक्षण गर्नेछौं,’ उनले भने ।
उनले यसमा दण्ड जरिवानाको समेत व्यवस्था गरिएको बताए ।
हाल जारी गरिएको विनियमावलीअनुसार विद्युतीय चुम्बकीय विकिरण उत्सर्जनलाई नियन्त्रण नगरेमा सुधार गर्न निर्देशन दिने र तोकिएको ३ महिनाको अवधिभित्र मापदण्डमा संचालन नगरेमा त्यस्तो रेडियो प्रणाली नै बन्द गराउन निर्देशन दिनसक्नेछ ।
यसमा मापदण्ड उलंघन गरेको भेटिएमा र त्यसले हानी नोक्सानी भएमा सोको क्षतिपूर्तिसमेत भराइ दिन सकिने स्पष्ट उल्लेख छ ।
यसबाहेक मोबाइल टावरमा प्रयोग हुने रेडियो प्रणालीबाट सृजित आरएफईएमएफ एक्सपोजर जोखिमसम्बन्धमा गुनासो समेत गर्न सकिने प्रावधान राखिएको छ ।
नयाँ विनियमावली आगामी कात्तिकदेखि लागू हुने प्राधिकरणले जनाएको छ ।
EMF v6-4__Finalप्रकाशित: १४ श्रावण २०७७, बुधबार