सबै पोस्टपेड ग्राहकलाई स्वामित्व शुल्कको जानकारी दिँदै नेपाल टेलिकम

Technology Khabar १३ श्रावण २०७७, मंगलवार

सबै पोस्टपेड ग्राहकलाई स्वामित्व शुल्कको जानकारी दिँदै नेपाल टेलिकम
नेपाल टेलिकमको गठ्ठाघर शाखामा राखिएको कम्पनीको लोगो। फाइल

नेपाल टेलिकमले आफ्नो पोस्टपेड मोबाइल सेवाग्राहीलाई चालू आवदेखि लाग्ने २ प्रतिशत स्वामित्व शुल्कको बारेमा जानकारी दिन शुरु गरेको छ ।

कम्पनीले पोस्टपेड मोबाइल सेवाग्राहीलाई एसएमएसमार्फत प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने सरकारी निर्णयको जानकारी दिएको हो ।

सरकारले बजेटमार्फत चालू आर्थिक वर्ष २०७७/७८ देखि मोबाइल फोनको हरेक रिचार्जमा स्वामित्व शुल्क लिने घोषणा गरेको थियो ।

त्यस्तो शुल्क कुनैपनि माध्यमबाट गरिने रिचार्जमा लाग्ने गर्दछ र प्रत्येक पटक मोबाइल रिचार्ज गर्दा ग्राहकको रकमबाट २ प्रतिशत काटिनेछ ।

यहि २ प्रतिशत शुल्कको बारेमा कम्पनीले ग्राहकलाई एसएमएसमार्फत जानकारी दिईरहेको हो । यसबारेमा हाल सबै सेवाग्राहीलाई जानकारी दिईरहेको टेलिकमले उल्लेख गरेको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशीले साउन १ देखि नै सो व्यवस्था भईसकेको बारेमा प्रेस विज्ञप्ति जारी गरेको र हाल एसएमएसबाट पनि जानकारी दिएको बताए ।

‘सरकारको निर्णय सबैलाई थाहा नहुन सक्ने हुँदा पोस्टपेड ग्राहकहरु सबैलाई आजै एसएमएस गरेर निर्णयबारे जानकारी दिएका हौं, जसमा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने उल्लेख छ,’ टेलिकमका प्रवक्ता जोशीले भने ।

उदाहरणको लागि पोस्टपेड ग्राहकले रु.१०० को रिचार्ज गरेमा २ प्रतिशत रकम स्वामित्व शुल्क कटाएर बाँकी ९८ प्रतिशत मात्र ग्राहकले प्राप्त गर्नेछन् ।

यसअघि यस्तो शुल्क प्रिपेड मोबाइलमा मात्र लाग्ने गरेको थियो भने सरकारले चालु आबदेखि पोस्टपेड रिचार्जमा पनि यस्तो शुल्क लिन लागेको हो ।

बजेटमार्फत निर्धारण गरिएको सो शुल्क घटाएपछिको रकम मात्र वास्तविक भुक्तानी रकम हुने जानकारीसहितको सूचना टेलिकमले आफ्ना पोस्टपेड मोबाइल प्रयोगकर्तालाई दिएको हो।

टेलिकमले केहि दिनअघि मात्रै पोस्टपेड मोबाइलको सिम लिँदा लाग्ने स्वामित्व शुल्क हटेको बताउँदै केबल ५०० रुपैयाँमा नै पोस्टेपेडको सिमकार्ड पाईने जानकारी दिएको थियो ।

प्रकाशित: १३ श्रावण २०७७, मंगलवार

Comments are closed.

Loading...