हराएका मोबाइलबाट अपराध जोखिम बढेपछि जिल्ला प्रहरी मोरङमा छुट्टै अनुसन्धान डेस्क

Technology Khabar ११ श्रावण २०७७, आईतवार

हराएका मोबाइलबाट अपराध जोखिम बढेपछि जिल्ला प्रहरी मोरङमा छुट्टै अनुसन्धान डेस्क

काठमाडौं ।

पछिल्लो एक महिनाको अवधिमा साइबर क्राइमसँग सम्बन्धित १६ निवेदन जिल्ला प्रहरी कार्यालय मोरङमा परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी पीडित बनाइएको भन्दै प्रहरीमा असार ९ गतेदेखि साउन ९ गतेसम्म यी निवदेनहरु परेका हुन् ।

पीडितको निवेदनको आधारमा प्रहरीको सीडीआर (कल डिटेल रिपोर्ट) शाखाले अनुसन्धान गरेर मोबाइल धनीसम्म पुग्ने गर्छ ।

तर अपराधमा मोबाइलका असली धनीको संलग्नता हुँदैन, बरु मोबाइल हराएको वा चोरी भएको भन्दै मोबाइल धनीले उल्टै गुनासो गरेपछि प्रहरीलाई अपराधीसम्म पुग्न मुस्किल पर्ने गरेको छ ।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार चोरी वा लुटपाटमा संलग्नहरुले चलाख्याँइ पूर्वक ती मोबाइल प्रयोग गरेर सामाजिक सञ्जालमार्फत् दुःख दिने गर्छन् ।

प्रहरीले एक महिनाको अवधिमा त्यस्ता नौ जना व्यक्ति नियन्त्रणमा लिइसकेको छ । उनीहरु मोबाइल चोरी तथा लुटपाटमा समेत संलग्न भएको देखिन्छ ।

प्रहरी उपरीक्षक खड्काका अनुसार विराटनगर–५ मा मोटरसाइकलमा सवार एक व्यक्तिको मोबाइल लुटपाटमा संलग्न आरोपमा सुरज उराँवसहित चार जना र इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएका पाँच जनाविरुद्ध अनुसन्धान भइरहेको छ ।

‘सबै घटनामा उनीहरु नै संलग्न छन् भन्ने त हैन,तर मोबाइल लुटपाटमै संलग्न हुनेले योजना बनाएको देखिन्छ,’ उपरीक्षक खड्काले भने।

उपरीक्षक खड्काका अनुसार हराएका मोबाइलबाट अपराध जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङले छुट्टै अनुसन्धान डेस्क नै खडा गरेको छ ।

अनुसन्धान हुन बाँकी रहेका वा प्रहरीले समेत मूल्तवीमा राखेका घटनाको फाईल खोतल्न प्रहरी उपरीक्षक खड्काको प्रत्यक्ष निगरानी रहने गरी प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको विशेष अनुसन्धान डेस्क खडा गरिएको हो ।

नियमित अनुसन्धान गर्ने शाखा बाहेक विशेष अनुसन्धान डेस्क स्थापना गरिएसँगै हराएका मोबाइल भेटिने र व्यक्ति पक्राउ पर्ने क्रम भने पछिल्लो समय बढ्दो रहेको उपरीक्षक खड्काको दाबी छ ।

मोरङमा एक महिनाको यो अवधिमा ७३ वटा मोबाइल हराएको वा चोरी भएको भन्दै प्रहरीमा निवेदन परेको थियो तीमध्ये २८ थान मोबाइल साउन ९ गते प्रहरीले बरामद गरी सम्बन्धित धनीलाई फिर्ता गरिसकेको छ ।

आ. व. २०७६/७७ मा मात्रै मोरङमा हराएको मोबाइलसँग सम्बन्धित एक हजार ३५९ निवेदन दर्ता भएका थिए जसमध्ये १८३ मोबाइल मात्रै फेला परेका छन् । गोरखापत्रबाट

easy care

प्रकाशित: ११ श्रावण २०७७, आईतवार