प्रविधिमैत्री बन्दै नयाँ बसपार्क, हरेक बसमा जिपिएस सिस्टम र टोकन सिस्टमबाट टिकट

Technology Khabar १० श्रावण २०७७, शनिबार

प्रविधिमैत्री बन्दै नयाँ बसपार्क, हरेक बसमा जिपिएस सिस्टम र टोकन सिस्टमबाट टिकट

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ।

गत चैत १० गतेदेखि बन्द रहेको नयाँ बसपार्कले कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको हो।

सरकारले छोटो दूरीका सवारी साधन यही साउन ८ देखि नै सञ्चालन गरे पनि लामो दूरीका सवारी साधन भने भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना सङ्क्रमण हुन नदिन नयाँ बसपार्कले प्रविधिको प्रयोगलाई अगाडि बढाएको बताए।

“बसको टिकट लिन लाइन बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेका छौँ”, उनले भने।

ल्होत्से बहुउद्देश्यीय प्रालिले विभिन्न यातायात कम्पनीको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था यसअघि नै मिलाइसकेको छ।

यात्रुको सहजताका लागि अनलाइनमार्फत समेत टिकट लिन मिल्ने व्यवस्था प्रालिले मिलाउन लागेको छ।

चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन्। उक्त बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएका छन्।

नयाँ बसपार्कले आगामी भदौ १ देखि सञ्चालन हुने सार्वजनिक सवारी साधन सरसफाइलाई विशेष प्राथमिकतामा राखेको छ। सार्वजनिक सवारी साधन फोहर हुँदा भाइरसको सङ्क्रमण दर बढ्ने भन्दै हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाउनेछ। यात्रुले बसभित्र प्रवेश गरेपछि अनिवार्यरूपमा स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेछ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ। उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको छ।

प्रकाशित: १० श्रावण २०७७, शनिबार

Leave a Reply

Loading...