जब नियमनकारी निकाय दूरसञ्चार प्राधिकरण नै वर्ल्डलिंकलाई कारबाही गर्नबाट डरायो

Technology Khabar ८ श्रावण २०७७, बिहीबार

जब नियमनकारी निकाय दूरसञ्चार प्राधिकरण नै वर्ल्डलिंकलाई कारबाही गर्नबाट डरायो

अनुज राज

गएको असार १७ गते नेपाल दूरसञ्चार प्राधिकरणमा एउटा फरक किसिमको उजुरी निवेदन दर्ता भयो । सो उजुरी निवेदन दर्ता गर्ने कुनै सेवाग्राही नभए एउटा इन्टरनेट सेवा प्रदायक कम्पनी थियो ।

प्राधिकरणमा आफूले सेवा नपाएको भन्दै उजुरी दिने इन्टरनेट सेवा प्रदायक(आईएसपी) कम्पनी थियो झापाको दमक नगरपालिकामा रहेको फस्टलिंक कम्युनिकेशन्स प्रालि । जसले दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट(ईमेलसहित) सेवा प्रदान गर्ने र नेटवर्क सर्भिस प्रोभाइडरको अनुमति पत्र लिएको छ ।

कम्पनीले २०७४ साल जेठ ८ गते देखि प्राधिकरणबाट आईएसपीको अनुमति पत्र लिएको देखिन्छ भने गएको पुस २२ गते नेटवर्क सेवा प्रदायकको अनुमति पत्र लिएको देखिन्छ।

करिब ३ वर्षदेखि आईएसपीको रुपमा काम गरेर सेवा दिईरहेको फस्टलिंकले आफूले नै नेटवर्क सेवाको अनुमति पत्र लिन आवश्यक भएपछि अनुमति पत्र लिएको देखिन्छ ।

सो कम्पनीले नेपालको झापा, दमक लगायतको पूर्वी भागमा इन्टरनेट सेवा दिईरहेको छ । कम्पनीको वेबसाइटकाअनुसार कम्पनीले अप्टिकल फाइबरमा आधारित भएर सेवा दिईरहेको छ ।

बिगत ३ वर्षदेखि आईएसपीको काम गरिरहेको र करिब ६ महिनादेखि नेटवर्क सेवा प्रदायक समेत भएको कम्पनीले उजुरीमा आफूले नै सेवा नपाएको गुनासो गर्दै प्राधिकरणमा उजुरी दिएको थियो ।

असार १७ गते कम्पनीले आफूले अर्को नेटवर्क सेवा प्रदायक कम्पनीबाट इन्टरनेट लिईरहेको र त्यसको लागि सम्झौतासमेत गरेर रकम दिईसकेको तर इन्टरनेट सेवा काटिदिएको पत्रमा उल्लेख गरेको थियो ।

हामीले हेरेको र फस्टलिंकका संचालक तथा अध्यक्ष रमेश काफ्लेले दिएको उजुरीमा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो सम्झौताअनुसार इन्टरनेट नदिएर काटिदिएको उल्लेख छ ।

सो उजुरी पत्रमा वर्ल्डलिंकलाई कारबाही गरी सेवा सुचारु गरिदिन भन्दै प्राधिकरणसँग अनुरोध समेत गरिएको थियो ।

अझ त्यसमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको संस्था आईस्पानले नै इन्टरनेट काट्न भनेको समेत उल्लेख गरिएको छ ।

सो पत्र आउने बित्तिकै प्राधिकरणमा हल्लिखल्लि मच्चिएको थियो । र त्यसमा तत्काल प्रकृया अगाडि बढाउनुपर्ने आवश्यक थियो । त्यसैले प्राधिकरणका सम्बन्धित अधिकारीहरुले सो बारेमा बुझ्नका लागि वर्ल्डलिंकका प्रतिनिधिलाई तत्काल बोलाएका थिए र फस्टलिंकका प्रतिनिधिसँग सम्पर्कमा राखेर कुरा भएको थियो ।

फस्टलिंकले उजुरी पत्रमा दाबी गरिएको विषय सत्य भएको ठहर भएको र वर्ल्डलिंकले समेत सो कुरा स्वीकार गरेको थियो ।

नेटवर्क सेवा प्रदायक कम्पनीको रुपमा वर्ल्डलिंकले फस्टलिंकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सम्झौता गरिएको र अग्रिम रकम समेत भुक्तान गरिसकेकोमा कम्पनीले अचानक इन्टरनेट काट्नु सबैको लागि आश्चार्यको विषय थियो ।

जसमा फस्टलिंकले उजुरी गरेको थियो भने वर्ल्डलिंकले सो उजुरीको विषय स्वीकार समेत गरेको थियो ।

अझ वर्ल्डलिंकका प्रतिनिधिले त फस्टलिंकको इन्टरनेट अर्को नेटवर्क सेवा प्रदायक कम्पनीका संचालकले भनेर नै काटिदिएको समेत खुलासा गरेका थिए। र त्यसरी फस्टलिंकको इन्टरनेट काटिदिन वर्ल्डलिंकलाई आदेश दिने व्यक्ति कम्पनी नेटवर्क सेवा प्रदायक क्लासिक टेक प्रालिका संचालक थिए ।

उनले फोन गरेर नै वर्ल्डलिंकलाई फस्टलिंकको इन्टरनेट काटिदिन दबाब दिएका थिए भने अन्य कम्पनीलाई समेत सोहि ब्यहोराअनुसार इन्टरनेट नदिन दबाब दिएका थिए ।

उनले फस्टलिंकको भुक्तानी रकम बाँकी भएको हुँदा इन्टरनेट सेवा काटिदिन भनेको भन्दै कम्पनीले मौखिकरुपमा जानकारी दिएको थियो भने वर्ल्डलिंकका प्रतिनिधिले समेत सोहि अनुसार इन्टरनेट काटिएको बताएका थिए ।

सो उजुरीको सुनुवाई तत्काल गर्नुपर्ने भएपछि प्राधिकरणका अधिकारीहरुले यसलाई गंभिररुपमा लिएर दुबै पक्षलाई छलफलमा बोलाएका थिए र अधिकारीहरुले वर्ल्डलिंकलाई तत्काल इन्टरनेट जोड्न मौखिक आदेश दिएका थिए ।

सो आदेशपछि वर्ल्डलिंकले इन्टरनेट काटिएको करिब १९ घण्टापछि इन्टरनेट जोडिदिएको थियो ।

वर्ल्डलिंकले इन्टरनेट पुन जोडिदिएपछि फस्टलिंकले त्यसबारेमा फेरी अर्को पत्र पठाउँदै इन्टरनेट जोडिएको र सो उजुरीको पत्रलाई रोक्न अनुरोध गरेको थियो । कम्पनीले यस्तो पत्र असार २२ गते पठाएको थियो ।

सो पत्र पठाएसँगै यो विषय राफसाफ भएको भन्दै प्राधिकरणले थप कुनै प्रकृया अगाडि बढाएको छैन् ।

फस्टलिंकका अध्यक्ष काफ्लेले क्लासिस टेकले गुणस्तरीय सेवा नदिएपछि अग्रिम जानकारी दिएर नै सम्झौता खारेज गरेको जानकारी दिए ।

‘हाम्रो क्लासिक टेकसँग कुनै समस्या र बाँकी भुक्तानी थिएन्, उहाँहरुलाई पटक पटक भन्दा पनि सम्झौताअनुसारको गुणस्तरको इन्टरनेट नदिएको हुँदा वर्ल्डलिंकसँग गएका हौं, तर उहाँहरुले वर्ल्डलिंकलाई पनि इन्टरनेट काटिदिन दबाब दिनुभएछ,’ फस्टलिंकका अध्यक्ष काफ्लले भने ।

उनकाअनुसार यो व्यवसायीक रुपमा गलत भएको र आफ्ना ५ हजार भन्दा बढि ग्राहकहरु जसमा सरकारी निकायहरु, गाबिस कार्यालय, नगरपालिका, अस्पतालहरुको सेवा नै प्रभावित भएको थियो ।

‘हाम्रो इन्टरनेट सेवा लिएर अस्पतालले चलाएको टेलिमेडिसिन सेवा नै बन्द भयो, यसले हामीलाई पनि गंभिर नोक्सानी भएको छ,’ उनले भने ।

अहिले वर्ल्डलिंकले जोडिदिए पनि ठूला कम्पनीहरुले जे पनि गर्न सक्ने संभावना र उनीहरुप्रति विश्वास नभएको हुँदा नेपाल टेलिकमसँग पनि सेवा किनेको उनले बताए । वर्ल्डलिंकले पनि अर्को कम्पनीको संचालकले भनेको भरमा नै हाम्रो इन्टरनेट काट्न गलत भएको उनले स्पष्ट पारे ।

‘क्लासिक टेकले त हामीलाई बन्द नै गराउने चेतावनी दिनुभएको थियो र अन्य एनएसपीलाई पनि नेटवर्क नदिनु भनेर दबाब दिनुभएको रहेछ, त्यसैले वर्ल्डलिंकले हाम्रो इन्टरनेट गलत तरिकाले काटिदिएको थियो’ फस्टलिंकका अध्यक्ष काफ्लले भने ।

काफ्लेकाअनुसार इन्टरनेट काटिनु अगाडी नै कम्पनीले वर्ल्डलिंकसँग सम्झौता गरेको र अग्रिम रकम पनि भुक्तान गरिसकेको थियो ।

तर यस्तो निकै संवेदनशिल विषयमा इन्टरनेट काट्ने कम्पनी र काट्न आदेश दिने अर्को कम्पनीलाई कारबाही नगरिएको भन्दै प्राधिकरण भित्रै प्रश्न उब्जिएको छ ।

‘यस्तो गंभिर विषयमा अहिलेसम्म वर्ल्डलिंकलाई स्पष्टिकरणसमेत नसोधिनु र कारबाही नहुनु भनेको आश्चार्य हो । यसले आगामी दिनमा ठूला कम्पनीले नियामक निकायलाई नै नटेर्ने अवस्था आउन सक्नेछ,’ एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

सो घट्नापछि फस्टलिंकले आफैंले विदेशबाट ब्याण्डविथ आयात गर्ने तयारी गरेको छ।

प्रकाशित: ८ श्रावण २०७७, बिहीबार

Comments are closed.

Loading...