नेपालमै बनाएको सानोस्याट-१ अन्तरिक्षमा लाने तयारी, रकम अभाव भएपछि चन्दा उठाईँदै

Technology Khabar ५ श्रावण २०७७, सोमबार

नेपालमै बनाएको सानोस्याट-१ अन्तरिक्षमा लाने तयारी, रकम अभाव भएपछि चन्दा उठाईँदै

काठमाडौं ।

नेपालमा नै निर्माण गरिएको नानो स्याटेलाईट अन्तरिक्षमा पुर्याउनका लागि चन्दा संकलनको अभियान शुरु भएको छ । नेपाली युवा वैज्ञानिकहरुले नेपालमा नै बनाएको सानोस्याट-१ (SanoSat-1) नामक स्याटेलाइट प्रक्षेपण गर्नका लागि रकम संकलन गर्न थालिएको हो ।

राकेश चन्द्र प्रजापतिको नेतृत्वमा तयार पारिएको सो नानो स्याटेलाइट लो अर्बिटमा प्रक्षेपण गर्नका लागि तयारी शुरु भएसँगै टिमले रकम संकलनको कार्य गरेको हो ।

सो स्याटेलाइट नेपाली विद्यार्थीहरु, इन्जिनियरहरु र रेडियोअपरेटर्सले तयार पारेका हुन् जसको वैकल्पिक नाम नेपाल पिक्यू१ राखिएको छ । यसको लागि २५ भन्दा बढि विद्यार्थीहरुको मेहनत लागेको छ ।

अन्तराष्ट्रिय टेलिकम्युनिकेसन्स यूनियनबाट अनुमतिपत्र पाउने अवस्थामा रहेको सो स्याटेलाइट आगामी डिसेम्बरमा अन्तरिक्षमा पुर्याउने योजना राखिएको सो टिमका सदस्य तथा एमस्याट नेपालका भाइस प्रेसिडेन्ट जितेन थापाले जानकारी दिए ।

उनकाअनुसार करिब ३ वर्षको अवधि लगाएर तयार पारिएको सानोस्याट १ को तौल करिब २५० ग्राम मात्र रहेको छ । जसको आधार ५सेमी X ५सेमी X ५सेमीको रहेको छ र यो हत्केलामा नै अट्न सक्नेछ ।

काठमाडौं विश्वविद्यालयमा स्नातकतहमा अध्ययनरत रहेको अवस्थामा नै नानो स्याट बनाउने अवधारणामा सो स्याटेलाइन तयार पारिएको थापाले बताए ।

‘हामीले विद्यार्थी हुँदा देखि नै यो स्याटेलाइट बनाउन थालेका हौं र अहिले लाइसेन्स नै लिएर अन्तरिक्षमा पठाउने तयारी गरेका छौं,’ थापाले टेक्नोलोजीखबरलाई भने ।

सो स्याटेलाइट बनाउने काम भने ओरिअन स्पेस नामक कम्पनीले गरेको छ भने त्यसको कानूनी र प्रक्षेपणका लागि एमस्याट नेपाल नामक गैर नाफामुलक संस्थाले गरिरहेको छ ।

यो गैर व्यवसायिक स्याटेलाइटले मुख्यगरि दुई प्रकारको काम गर्नेछ । जसमा डिजिटल रिपिटरको कामगर्नेछ भने अर्को यसले बीटा र गामा रेडिएसनको मापन गर्नेछ ।

‘यो स्याटेलाइटले हामीले पठाएको डाटा ट्रान्सलेट गरेर अर्को स्थानमा पठाउन सक्नेछ भने अर्को स्थानको डाटा हामीलाई दिन सक्नेछ,’ निर्माण टिमका थापाले भने ।

उनकाअनुसार यो सानोस्याट १ लाई अन्तरिक्षमा १ वर्षसम्म प्रयोग गर्न सकिनेछ भने त्यसपछि यो आफैं नस्ट हुनेछ।

अन्तरिक्षमा यो स्याटेलाइट सौर्य उर्जाले संचालन हुनेछ भने यसमा विभिन्न १३ प्रकारका सामाग्रीहरु प्रयोग गरिएको छ ।

स्टार्टअप कम्पनी ओरियन स्पेसले स्याटेलाइट टेक्नोलोजीमा नेपालको क्षमता बिस्तार गर्ने उद्धेश्यले स्याटेलाइट पठाउन लागेको हो ।

कति छ लागत
अहिलेसम्म सो सानोस्याट १ बनाउनका लागि करिब ४० हजार डलर खर्च लागेको र सो सबै रकम टिमका प्रमुख तथा ओरियन स्पेसका सिईओ राकेश प्रजापतिले गरेको टिमका सदस्य थापाले बताए ।

उनकाअनुसार अझै ४० हजार डलर जति लागत आउने र त्यसको लागि आफैंले रकम हाल्न नसकिने अवस्था आएपछि रकम संकलन गर्न थालिएको हो ।

यसको लागि उनीहरुले गोफण्डमी डटकममार्फत रकम संकलन गर्न शुरु गरेका छन जसमा हालसम्म करिब १ लाख रुपैयाँजति संकलन भएको छ ।

उनीहरुले गोफण्डमी प्लेटफर्ममा राखेको जानकारीअनुसार सो स्याटेलाइटको सर्भाईभ टेस्ट गर्न र अन्तरिक्षमा हुने अवस्थाको परीक्षण गर्नका लागि प्रतिदिन ५ हजार डलरसम्म खर्च आउने र त्यसकोलागि १० हजार डलर आवश्यक पर्नेछ ।

त्यस्तै सो स्याटेलाइट प्रक्षेपण गर्न र अन्तरिक्षमा पुर्याउन करिब ३० हजार डलर लाग्ने अनुमान गरेका छन् । जसमा कुल ४० हजार डलर अर्थात करिब ५० लाख रुपैयाँ लाग्नेछ ।

यसको लागि सरकारी निकायहरुले कुनै सहयोग नगरेको दाबी टिमका सदस्य थापाले गरे ।

‘हामीले मन्त्रालयमा सो स्याटेलाइटको फ्रिक्वेन्सी लिनका लागि भन्दा समेत सहयोग गरेनन् र १ वर्ष समय खेर गयो, रकम दिने त अर्कै कुरा भयो,’ थापाले भने ।

उनले विज्ञान र प्रविधिको क्षेत्रको विकास गर्न भनेर स्थापना गरिएको नास्टले पनि रकम धेरै भयो भनेर सहयोग नगरेको बताए ।

उनीहरुले ८०० डलर भन्दा बढि रकम सहयोग गर्ने व्यक्ति वा संस्थालाई स्याटेलाइटको किट समेत सोभेनियरको रुपमा प्रदान गर्ने योजना राखेका छन् ।

यति मात्र होईन नेपालीहरुले नै नेपालबाट समेत सहयोग गर्न सकुन भनेर नेपालको बैंक खाता तथा खल्ति र ईसेवालगायतका वालेटबाट सहयोग गर्न सकिने व्यवस्था मिलाएका छन् ।

कुन अवस्थामा छ स्याटेलाइटको निर्माण ?
स्याटेलाइट प्रक्षेपण गर्नुभन्दा अगाडि विभिन्न किसिमका परीक्षण र मोडलहरु तयार पार्नुपर्ने हुन्छ । जसको लागि उनीहरुले इन्जिनियरिङ्ग मोडल तयार पारिसकेका छन भने ग्राउण्ड स्टेशनसहित सफ्टवेयर र हार्डवेयर परीक्षण सकेका छन् ।

हाल सो स्याटेलाइट फ्लाईट मोडेल एसेम्बलीको चरणमा रहेको छ भने त्यसपछि थप परीक्षणको लागि उनीहरुले सो सानोस्याट १ लाई बेलायत पठाउने छन् ।

त्यहाँ परीक्षण गरिसकेपछि सिधै त्यसलाई प्रक्षेपणको लागि अमेरिका लागिनेछ ।

अमेरिकामा संसारको सबैभन्दा चर्चित कम्पनी एलनमस्कको स्पेसएक्स कम्पनीले अन्तरिक्षमा नेपाली स्याटेलाइट पुर्याउने छ त्यसको लागि चर्चित रकेट फाल्कन ९ मा पेलोड हुने थापाको भनाई छ ।

यसको लागि उनीहरुले सबै हार्डवेयर, सफ्टवेयर नेपालमा नै डिजाइन गरेका हुन भने यसको प्रोग्राम पनि नेपालमा नै तयार पारिएको हो ।
२५० ग्रामको सो स्याटेलाइटमा ३.७ भोल्टको ब्याट्री प्रयोग गरिएको छ ।

यसबाहेक उनीहरुले स्याटेलाइटबारे नेपालसहित श्रीलंका, पाकिस्तानमा पनि तालिम दिईसकेका छन् ।

हालसम्म व्यक्तिगत खर्चमा स्याटेलाइट तयार गरिरहेका उनीहरुले अब भने रकम उठाएर नै सो सानोस्याट १ अन्तरिक्षमा पुर्याउने आशा गरिरहेको छन् । यदि तपाईँपनि उनीहरुको कामलाई सहयोग गर्न चाहनुहुन्छ र नेपालमा नै बनेको पहिलो नानो स्याटेलाइट अन्तरिक्षमा गएको हेर्न चाहनुहुन्छ भने नेपालबाटै बै‌ंक खातामा वा खल्ति तथा इसेवाबाट सहयोग गर्न सक्नुहुनेछ ।

Sajilo Visa

प्रकाशित: ५ श्रावण २०७७, सोमबार

तपाइको प्रतिक्रिया