Technology Khabar ३ श्रावण २०७७, शनिबार
काठमाडौं ।
विश्भर पछिल्लो दिनमा भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग र माग निकै बढिरहेको छ । जसमध्ये सबैभन्दा धेरै जूमको प्रयोग हुने गर्दछ ।
हालै फेसबुकले जूमलाई टक्कर दिनेगरि आफ्नो मेसेन्जर एपमा एक महत्वपूर्ण फिचर थप गरेको छ । फेसबुक मेसेन्जरमा अब स्क्रिन शेयरिङ फिचर थपिएको हो ।
फेसबुकका अनुसार मेसेन्जर एपका एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताका लागि स्क्रिन शेयरिङको अप्सन प्राप्त गर्नेछन् । अहिलेसम्म यो फीचर केवल मेसेन्जरको वेब भर्सनमा मात्र उपलब्ध रहेको थियो जुन अब एप भर्सनमा समेत उपलब्ध भएको हो ।
फेसबुकका अनुसार फेसबुकको भिडियो कन्फ्रेन्सिङ सर्भिस ‘मेसेन्जर रुम्स’ मा पनि यो फीचर उपलब्ध हुनेछ ।
कोरोना भाइरस महामारीका कारण विश्वभर भिडियो कन्फ्रेन्सिङको बढ्दो प्रयोगसँगै स्क्रिन शेयरिङ फीचर प्रयोग हुने गर्दछ। यसैलाई ध्यानमा राखेर फेसबुकले आफ्नो मेसेन्जर रुम्स ल्याएको थियो ।
नयाँ फिचरको सहयोगले अब प्रयोगकर्ताले आफ्नो फोनको स्क्रिनलाई मेसेन्जरका प्रयोगकर्तासँग शेयर गर्न सक्नेछन् । नयाँ अपडेटसँगै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।
मेसेन्जर एपमा यो नयाँ फिचर वान–टु–वान भिडियो कलका साथै ८ जनासम्मको ग्रुप भिडियो कलिङका क्रममा प्रयोग गर्न सकिनेछ ।
आठ जना भन्दा धेरै सहभागी भएको बेलामा भने यो फिचर प्रयोग गर्न सकिँदैन् । मेसेन्जर रुम्समा भने १६ जनासम्म सहभागीभएको बेलामा यो फीचर प्रयोग गर्न सकिनेछ ।
यसका लागि प्रयोगकर्ताले मेसेन्जर एपमा लगइन गरेर एप खोलेसँगै कसैलाई भिडियो कल गर्नुपर्ने हुन्छ । कल जोडिएसँगै स्क्रिनको तल्लोभागमा रहेको ट्याबमा शेयर योर स्क्रिन नामक विकल्प देखिनेछ । त्यसमा ट्याप गरेपछि भिडियो कलमा जोडिएको मेसेन्जर प्रयोगकर्ताले तपाईंको स्मार्टफोनको स्क्रिन देख्न सक्नेछ ।
यसमार्फत तपाईँले कुनै भिडियो वा आफ्नो प्रस्तुतीहरु दिन सक्नुहुनेछ । एजेन्सीका साथ
प्रकाशित: ३ श्रावण २०७७, शनिबार