Technology Khabar ३१ असार २०७७, बुधबार
काठमाडौं ।
भारतीय टेलिक कम्पनी जियो प्लेटफर्म्स लिमिटेडमा गूगलले ४.५ अर्ब डलर लगानी गर्ने भएको छ ।
कम्पनीका सिईओ सुन्दर पिचाईले आज जियोमा लगानी गर्ने घोषणा गरेका हुन् ।
कम्पनीले सो लगानीको बारेमा एक ब्लग पोस्टमार्फत जानकारी दिएको छ ।
कम्पनीले जियोमा ७.७३ प्रतिशत हिस्सा लिनेगरि ४.५ अर्ब डलर लगानी गर्ने भएको हो । यो गूगल फर इण्डियाअन्तरगत डिजिटाइजेसन फण्डमार्फत गरिएको पहिलो लगानी भएको बताएको छ ।
दुबै कम्पनीहरुले संयुक्तरुपमा सस्तो इन्ट्रि लेभलको स्मार्टफोनहरु विकास गर्ने र एन्ड्रोयड अपरेटिङ्ग सिस्टम र प्ले स्टोरलाई अप्टिमाईज गर्ने सहमति गरेका छन् । भारतमा लाखौं मानिसहरुलाई स्मार्टफोन प्रयोगकर्ताको रुपमा बनाउन यसले सहयोग गर्ने गूगलको भनाई छ ।
यो सहकार्यले आगामी दिनमा भारतका आधा अर्ब जनसंख्यालाई अनलाईनमा ल्याउन सहयोग गर्नेछ भने यसले प्रविधि र नेटवर्क प्लानहरुमा समेत परिवर्तन गर्नेछ ।
अहिले पनि अधिकांश भारतीयसँग इन्टरनेट पहुँच नभएको भन्दै त्यसमा धेरै कामगर्न सकिने बताएको छ ।
गूगलले जियोका साथै अन्य कम्पनीहरुसँग पनि स्थानिय ईको सिस्टममा काम गर्ने र प्ले स्टोरमा एप्स र सर्भिसहरु उपलब्धताको सुनिश्चित गर्ने स्पष्ट पारेको छ ।
जियोमा यसअघि नै फेसबुक क्वालकमलगायत १३ कम्पनीहरुले लगानी गरि शेयर लिईसकेका छन् ।
प्रकाशित: ३१ असार २०७७, बुधबार