Technology Khabar ३० असार २०७७, मंगलवार
बेलायतले चिनियाँ टेलिकम जायन्ट ह्वावेलाई आफ्नो ५जी नेटवर्कमा प्रतिबन्ध लगाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको नेटवर्कबाट उपकरण सन् २०२७ सम्ममा पुरै हटाउन आदेश जारी गरेका छन् ।
नयाँ निर्णयअन्तरगत अब बेलायतमा कुनैपनि मोबाइल सेवा प्रदायकहरुले ३१ डिसेम्बरबाट ह्वावे टेक्नोलोजीजका ५जी उपकरणहरु किन्न रोक लगाएको छ ।
बेलायतका डिजिटल, कल्चर, मिडिया एण्ड स्पोर्टस सेक्रेटरी ओलिभर डाउडेनले बेलायतको संसदलाई सो जानकारी दिएका हुन् । उनले यो निर्णयले बेलायतको ५जी रोलआउटलाई १ वर्ष पछाडि धकेलेको समेत बताएका छन् ।
‘यो कुनै सजिलो निर्णय होईन, तर यूकेका टेलिकम नेटवर्कहरुका लागि सहि हो । र हाम्रो राष्ट्रिय सुरक्षा र हाम्रो अर्थतन्त्रको लागि पनि,’ उनले भने ।
बेलायतको नेशनल सेक्यूरिटी काउन्सिलले मंगलबार यो वर्षको अन्त्यदेखि ह्वावेसँग ५जी सामाग्रीहरु खरिदमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो र सन् २०२७ सम्ममा ५जी नेटवर्कबाट ह्वावेका सबै उपकरणहरु हटाउने आदेश जारी गरेको थियो ।
यसअघि अमेरिकाले ह्वावे टेक्नोलोजीजलाई प्रतिबन्ध लगाउँदै बेलायतसहित अन्य देशहरुलाई पनि प्रतिबन्ध लगाउन दबाब दिँदै आएको थियो ।
अमेरिकाले ह्वावेलाई राष्ट्रिय सुरक्षा खतरा भएको आरोप लगाउँदै आएको छ भने कम्पनीले त्यसलाई अस्विकार गर्दै आएको छ ।
अमेरिकी प्रतिबन्धले केबल भविश्यका उपकरणहरुलाई मात्र प्रभावित पार्दछ र बेलायती सरकारले ह्वावेका २जी, थ्रीजी र फोरजी उपकरणहरुमा कुनै सुरक्षा खतरा नरहेको विश्वास गरेको छ ।
नयाँ प्रतिबन्धले कम्पनीको ब्रोडब्याण्ड कीटको प्रयोगलाई समेत प्रभावित पार्ने बताईएको छ ।
डिजिटल सेक्रेटरी डाउडेनले ब्रोडब्याण्डबाट उपकरण हटाउन आगामी २ वर्ष लाग्ने अनुमान गरेका छन् ।
बेलायतले गत जनवरीमा ह्वावेका टेलिकम पूर्वाधारहरुको अवस्थाको जानकारी लिएको थियो । र त्यसबेला कम्पनीलाई आपूर्ति गर्न दिने तर सिमित बजार हिस्सासम्म मात्र निर्धारण हुने गरि तोकिएको थियो ।
तर मे महिनामा अमेरिकाले ह्वावेलाई आफ्नो चीप्स उत्पादनमा अमेरिकी सामाग्री प्रयोगमा समेत प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
बेलायती मोबाइल अपरेटरहरु बीटी र भोडाफोनले आफ्ना नेटवर्कबाट ह्वावेका ५जी कीट हटाउन थोरै समय दिएमा ग्राहकहरुले मोबाइल ब्ल्याकआउट भोग्नसक्ने चेतावनी दिएको थियो ।
बेलायती अपरेटरहरुले आफ्नो नेटवर्कको कोर र र्यान दुबै क्षेत्रमा ह्वावेका उपकरणहरु प्रयोग गर्दै आएका छन् ।
यसबाहेक कम्पनीले बेलायतका विभिन्न विश्वविद्यालयहरुसँगको सहकार्यमा अनुसन्धान समेत गर्दै आएको छ ।
ह्वावेले बेलायतमा करिब १६ सयलाई रोजगारी दिएको छ । एजेन्सीका साथ
प्रकाशित: ३० असार २०७७, मंगलवार