यस्तो छ भानू जयन्तीको अवसरमा सार्वजनिक गरिएको ‘नेपाली बृहत् शब्दकोश’ एप

Technology Khabar ३० असार २०७७, मंगलवार

यस्तो छ भानू जयन्तीको अवसरमा सार्वजनिक गरिएको ‘नेपाली बृहत् शब्दकोश’ एप

नेपाल प्रज्ञा प्रतिष्ठानले भानू जयन्तीको अवसर पारेर नेपाली भाषा र शब्दको सहजता हुनेगरी ‘नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा–प्रतिष्ठान’ एप्स सार्वजनिक गरेको छ।

यो एप्स यसअघि नै गूगल प्ले स्टोरमा उपलब्ध भइसकेको छ। नयाँ यात्रा प्रालिको सहयोगमा आर्थिक वर्ष ०७६/७७ को पुसमा निर्माण भएको यो एप्स भानू जयन्तीको अवसर सार्वजनिक गरिएको हो।

हालै प्रधानमन्त्रीको औपचारिक ट्विटर एकाउन्टबाट पनि सो एपको प्रबद्र्धन गरिएको छ।

नेपाली भाषा आफैँमा पहिचान रहेको र विभिन्‍न भाषा र भाषिकाबाट नेपाली भाषा हुर्कंदै आएकोले यसको विस्तारका लागि प्रतिष्ठानले प्रविधिसँगै एप निर्माण गरेको हो। हाल उक्त एपमा ६४ हजार नेपाली शब्द छन्।

आगामी आर्थिक वर्षमा यसलाई थपेर १ लाख ५० हजार शब्द समावेश गरिने प्रतिष्ठानको भनाई छ।

त्यसैगरि नेपालका विभिन्न क्षेत्रका भाषा र भाषिकालाई पनि समावेश गर्ने योजनामा छ भने नेपालका विभिन्न क्षेत्रमा बोलिने समुदायका विभिन्न भाषाहरूको पनि उत्थान र प्रवर्द्धन गर्ने उद्‍देश्‍यमा यसलाई समेत प्रयोग गरिनेछ ।

प्रतिष्ठानले २०४० सालदेखि नेपाली बृहत् शब्दकोश प्रकाशन गर्दै आएको छ । जुन नेपाली भाषाको आधिकारिक शब्दकोश हो ।अहिले सोहि शब्दकोषलाई एपको रुपमा समेत तयार पारिएको हो ।

प्रतिष्ठानका अनुसार शब्दकोषमा ६५ हजार भन्दा बढी शब्द रहेका छन् । यसको मुद्रण प्रति नै ६० हजारभन्दा बढी बिक्री भइसकेको छ ।

यो एपमार्फत प्रयोगकर्ताले सहज रुपमा नेपाली शब्दहरु खोज्न र त्यसको अर्थ थाहा पाउन सक्नेछन् । त्यसका लागि वर्ण सूची र सङ्केत सूची पनि उपलब्ध गराइएको छ । शब्दकोशलाई पुरै अफलाइन समेत प्रयोग गर्न सकिन्छ ।

अ, आ, इ, ई, क, ख, ग, घ जस्ता वर्णसूचीमार्फत प्रयोगकर्ताले ती वर्णबाट आउने शब्दहरुको खोजी गर्न सक्ने गरी एपको डिजाइन गरिएको छ । साथै सङ्केत सूचीमार्फत संकेतको अर्थ समेत थाहा पाउन सकिने गरि यसलाई बनाईएको छ ।

यो एपमा खोजेको शब्द नभेटिएको अवस्थामा मिल्दोजुल्दो शब्दहरु समेत प्रयोगकर्तालाई सजेस्ट गर्नेछ ।

यो एप हाल एन्ड्रोइड भर्सनमा मात्रै उपलब्ध रहेको छ ।

यदि तपाईँ पनि प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश एप प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।

प्रकाशित: ३० असार २०७७, मंगलवार

Comments are closed.

Loading...