Technology Khabar २९ असार २०७७, सोमबार
स्याटेलाइटमार्फत घरघरमा टेलिभिजन सेवा प्रदान गरिरहेको डिटिएच कम्पनी डिसहोमले करिब २४ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
डिसहोमले प्रतिकित्ता एक सय रुपैयाँका दरले २३ लाख ८५ हजार ९२९ कित्ता अर्थात २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको शेयर निष्कासनका लागि आवेदन दिएको हो।
कम्पनीले सोमबार आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो। डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले आवेदन दिएको र अनुमति पाएसँगै आईपिओ जारी गर्ने बताए ।
उनले असोज सम्ममा आईपिओ जारी गर्ने योजना रहेको जानकारी दिए ।
कम्पनीको जारी पूँजी २ अर्ब २५ करोड रुपैयाँ छ । जसको १०:६० प्रतिशतका दरले आइपीओ जारी गर्न लागेको हो। आईपिओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्षमा कम्पनीले २९ करोड २७ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो भने चालु आर्थिक वर्षको ९ महिनाभित्रै २८ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाईसकेको छ।
कम्पनीमा हाल ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । डिटिएच तथा केबल टेलिभिजन सेवा प्रदायकको बजारमा डिसहोमको बजार हिस्सा करिब ४५ प्रतिशत छ ।
डिसहोमले आईपिओ जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ।
आचार्यकाअनुसार हाल कम्पनीसँग देशभर १५ लाख ग्राहकहरु रहेका छन् ।
कम्पनीले हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र समेत लिएको छ ।
प्रकाशित: २९ असार २०७७, सोमबार