गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंकको संयुक्त कारोबार शुभारम्भ

Technology Khabar २३ असार २०७७, मंगलवार

गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंकको संयुक्त कारोबार शुभारम्भ

काठमाडौं ।

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आजबाट विधिवत रुपमा संयुक्त कारोबार शुभारम्भ गरेको छ ।

आइतबार पोखरामा एक समारोहका बीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरियो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमीक शेरचनले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई सार्थक बनाउँदै मध्यमवर्गीय नेपालीको बैंक बन्न मेगा बैंकलाई सुझाव दिए । छोटो समयमै मेगा बैंक देशकै अग्रणी बनेकोमा आफूलाई खुसी लागेको भन्दै उनले आगामी दिनमा पनि व्यावसायिक सफलताका लागि शुभकामना दिए ।

कार्यक्रममा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गरी आजबाट संयुक्त कारोबार शुभारम्भ गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएको घोषणा गर्दै उनले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भई मेगा बैंक देशकै ठूलो मध्येको एक “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए ।

अध्यक्ष शाहका अनुसार, मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ ।

कार्यक्रममा बोल्दै साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले मेगा बैंकमा समाहित हुन पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए । गण्डकी विकास बैंकले स्थापनाको छोटो सयममै गण्डकी प्रदेशसहित विभिन्न प्रदेशका ग्राहकहरुको मन जित्न सफल भएको स्मरण गर्दै उनले अब त्यो विश्वास र माया मेगा बैंकमा सरेको बताए ।

कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ वटा भएको बताईन् । अब मेगा बैंकको शाखा सञ्जालका हिसाबले वागमती प्रदेशपछि गण्डकी प्रदेश दोस्रो नम्बरमा रहेको उनले बताईन् ।

सिइओ खुञ्जेलीका अनुसार, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११औं स्थानमा रहेको छ । यसैगरी, मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ ।

easy care

प्रकाशित: २३ असार २०७७, मंगलवार