एक व्यक्तिले २ वटा भन्दा बढि मोबाइल सिम प्रयोग गर्न नपाईने, प्राधिकरणले दियो निर्देशन

Technology Khabar २१ असार २०७७, आईतवार

एक व्यक्तिले २ वटा भन्दा बढि मोबाइल सिम प्रयोग गर्न नपाईने, प्राधिकरणले दियो निर्देशन

काठमाडौं ।

अनुज राज

अबदेखि कुनैपनि नेपाली नागरिकले एउटा मोबाइल सेवा प्रदायकको २ वटा भन्दा बढि सिम प्रयोग गर्न नपाउने नियम लागू भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सबै मोबाइल सेवा प्रदायकहरुलाई पत्र पठाउँदै एक व्यक्तिलाई अधिकतम २ वटा भन्दा बढि सिम बेच्न प्रतिबन्ध लगाउने गरि निर्देशन दिएको छ । नयाँ निर्देशनसँगै एक जनाले एउटा अपरेटरको अधिकतम २ वटा मात्र सिम प्रयोग गर्न सक्नेछ ।

प्राधिकरणको असार ११ गते बसेको बोर्ड बैठकले सो निर्णय गर्दै ५ वटै मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

एक मोबाइल सेवा प्रदायकसम्बद्ध स्रोतले प्राधिकरणले पठाएको पत्रको बारेमा जानकारी पाएको भन्दै त्यसले बजारमा व्यापक उथलपुथल ल्याउनसक्ने बताए।

प्राधिकरणले पठाएको पत्रमा कुनैपनि मोबाइल अपरेटरले ग्राहकहरुलाई प्रति व्यक्ति २ वटा भन्दा बढि सिम बेच्न प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुलाई पठाएको पत्रमा सिम कार्ड (SIM card) का साथै रिम कार्ड (RUIM Card) मा पनि सो नियम लागू हुने उल्लेख छ।

पत्रकाअनुसार प्रत्येक मोबाइल अपरेटरहरुले ग्राहकहरुलाई अधिकतम २ वटासम्म मात्र सिम बेच्न सक्ने र नेपाल टेलिकमको हकमा सिडिएमएको लागि अतिरिक्त सिम बेच्न सक्ने प्रावधानसहित नयाँ निर्देशन दिएको हो ।

निर्देशनअनुसार नाबालिकको हकमा भने कम्पनीहरुले अभिभावक ग्यारेन्टी बस्नेगरि छुट्टै अतिरिक्त सिम उपलब्ध गराउन सक्नेछन् ।

नयाँ निर्देशनअनुसार अब मोबाइल सेवा प्रदायकहरुले पोस्ट पेड वा प्रिपेड दुबैको हकमा कुनैपनि सिम बेच्दा अधिकतम प्रति व्यक्ति २ वटा भन्दा बढि बेच्न पाईनेछैन् ।

उदाहरणको लागि यदि कसैले एउटै मोबाइल कम्पनीबाट पोस्ट पेड वा प्रिपेड एक/एक वटा सिम कार्ड लिन सक्नेछ भने पोस्टपेड मात्रै २ वटा वा प्रिपेड मात्रै २ वटासम्म लिन सक्नेछ।

प्राधिकरणको निर्देशनअनुसार अब एक जनाले एउटा मोबाइल अपरेटरको अधिकतम २ वटा मात्र सिम राख्न पाउनेछन भने फरक/फरक अपरेटरअनुसार २ वटासम्म सिम किन्न सक्नेछन् ।

फरक अपरेटरअनुसार भने कम्पनीपिच्छे २ वटासम्म प्रयोग गर्न पाईनेछ।अर्थात हाल सेवा दिईरहेका ३ वटा कम्पनीहरुले प्रत्येक कम्पनीअन्तरगत २ वटा सिमको  दरले ग्राहकहरुलाई अधिकतम ६ वटासम्म सिम बेच्ने सक्नेछन् ।

पत्रमा अहिले २ वटा भन्दा बढि सिम प्रयोग गरिरहेका ग्राहकहरुको हकमा के गर्ने वा हुने भन्ने उल्लेख छैन् ।

त्यसैगरि सो निर्देशनमा २ वटा भन्दा बढि सिम बेचेको पाईएमा कम्पनीलाई के कारबाहि गर्ने भन्ने उल्लेख छैन भने ग्राहकहरुले २ वटा भन्दा बढि सिम प्रयोग गरेमा के हुनेछ भन्ने समेत सो निर्देशन पत्रमा उल्लेख छैन् ।

प्राधिकरणले निर्देशन पालना नगरेको खण्डमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा १ बमोजिम अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ तर ग्राहकलाई बेचेको सिम फिर्ता हुन्छ, बन्द हुन्छ वा के कारबाहीको प्रकृया हुनेछ भन्ने उल्लेख छैन् ।

हाल नेपालमा ५ वटा मोबाइल सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट टेलिकम र यूनाईटेड टेलिकम संचालनमा छन्  तर त्यसमध्ये केबल ३ वटा कम्पनीले मात्र मोबाइल सेवा उपलब्ध गराईरहेका छन् ।*

*सच्याईएको

Global Bank
easy care

प्रकाशित: २१ असार २०७७, आईतवार

ताजा समाचार