कम विकसित देशमा गलत सूचना र साइबर आक्रमणको सबैभन्दा कडा असर

Technology Khabar १९ असार २०७७, शुक्रबार

कम विकसित देशमा गलत सूचना र साइबर आक्रमणको सबैभन्दा कडा असर

काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस रोग (कोभिड–१९) को समस्यालाई अनलाइन स्रोत समेतको प्रयोग गरी रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार सक्रिय रहेको बताएका छन् ।

एस्टोनिया र सिङ्गापुरद्वारा आयोजना गरिएको कोभिड–१९ मा डिजिटल माध्यमको उपयोगितासम्बन्धी मन्त्री स्तरीय भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशलाई ज्ञानमा आधारित समाजमा रूपान्तरण गर्ने कार्य भइरहेको बताए। कम विकसित देशले गलत सूचना र साइबर हमलाको सबैभन्दा कडा असर भोग्नु परेको भन्दै उनले यी देशको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । सुरक्षित, दिगो र न्यायसङ्गत डिजिटल पहुँच सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

विद्युतीय सुशासन र साइबर सुरक्षा ग्रुप अफ फ्रेन्ड्सका सहअध्यक्षका रूपमा मन्त्री ज्ञवालीले सम्बोधन गरेका थिए। यस सम्मेलनले देश कसरी नवीन र डिजिटल माध्यमको प्रयोग गरेर कोभिड–१९ सङ्कटको सामना गर्न अझ सक्षम र सुसज्जित हुनसक्छ भन्ने विषयमा जोड दिइएको थियो ।

सम्मेलनमा ६० भन्दा बढी देशको सहभागिता थियो । ‘क्लोज्ड द डिटिल डिभाइड: द डिजिटल रेस्पोन्स टु कोभिड–१९’ अवधारणामा भएको सम्मेलनका सहभागी राष्ट्रका मन्त्रीले आफ्ना राष्ट्रिय अनुभव साटासाट गर्ने जनाएका छन् ।

साथै समावेशी डिजिटल रूपान्तरण, क्षमता निर्माण र कनेक्टिभिटीको विस्तारका लागि सहकार्य गर्न वचनबद्धता व्यक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनले विश्वव्यापी घोषणापत्र समेत सार्वजनिक गर्नेछ । गोरखापत्रबाट

Global Bank
easy care

प्रकाशित: १९ असार २०७७, शुक्रबार

ताजा समाचार