टिकटकसहित ५९ चिनियाँ एपहरु भारतमा प्रतिबन्ध लगाएको बारेमा यस्तो भन्यो चीनले

Technology Khabar १७ असार २०७७, बुधबार

टिकटकसहित ५९ चिनियाँ एपहरु भारतमा प्रतिबन्ध लगाएको बारेमा यस्तो भन्यो चीनले

काठमाडौं ।

५९ चिनियाँ एपलाई प्रतिबन्ध गर्ने भारतीय सरकारको निर्णयलाई भारतीय मिडियाले दुई देशबीच सीमाको विषयमा जारी तनावको ‘कडा सन्देश’ बताएका छन् ।

यद्यपि, भारत सरकारले आफ्नो बयानमा कतै पनि सीमा विवादको कुरा उठाएको छैन । बयानमा यी एप देशको सम्प्रभुता र सुरक्षाका लागि हानिकारक भएको र यसमा डाटाको सुरक्षा र गोपनियतामाथि पनि खतरा भएको बताइएको छ ।

यो प्रतिबन्ध १५ जूनमा गलवान घाटीमा विवादित सीमामा हिंस्रक झडपपछि लगाइएको हो । यो झडपमा भारतका २० जवानको ज्यान गएको बताईएकोछ जबकी चीनले आफ्नो क्षतीबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

सो घटनापछि भारतमा थुप्रै दक्षिणपन्थी समूह र सोसल मिडिया प्रयोगकर्ताले चीनमा बनेका सामान बहिष्कार गर्न माग गरिरहेका थिए ।

चिनियाँ उत्पादन, विशेषगरी स्मार्टफोन भारतमा निकै लोकप्रिय छ ।

भारतीय मिडियाकाअनुसार चिनियाँ सामानको बहिष्कारको अपिल अव्यवहारिक छ ।

चीनको एक सरकारी पत्रिकाले भारत सरकारको यो कदम अति–राष्ट्रवादको लहरको हिस्सा भएको बताएको छ ।

भारत सरकारद्वारा प्रतिबन्ध गरिएको ५९ एप्समा टिकटक पनि समावेश छ जुन भारतमा सर्वाधिक लोकप्रिय छ । स्थानीय मिडियाका अनुसार यसका १० करोड सक्रिय प्रयोगकर्ता छन् ।

धेरै मानिसहरुले यसमार्फत् चर्चा पाएका छन् भने कतिले आफ्नो व्यवसायको विज्ञापन पनि यसैमार्फत् गरेका छन् ।

भारतमा ट्वीटरमा ‘ChineseAppsBlocked’ र #RIPTiktok जस्ता ह्याशट्याग ट्रेन्ड गरिरहेका छन् ।

यो प्रतिबन्धमाथि टिप्पणी गर्दै टिकटक इन्डियाले भनेको छ, ‘हामीले डाटाको गोपनियता र सुरक्षाका लागि भारतीय कानूनको पालना गरिरहेका छौं । हामीले भारतीय प्रयोगकर्ताको कुनै पनि जानकारी कुनै विदेशी सरकार वा चिनियाँ सरकारमाझ साझा गरेका छैनौं ।’

यस विषयमा चीनले कुनै औपचारिक भनाई राखेको  छैन् । तर चिनियाँ मिडियाले भारतकै क्षती हुने बताएका छन् ।

चीनको आधिकारिक मिडिया सिन्ह्वा, पिपल्स डेली र चाइना सेन्ट्रल टेलिभिजनले यो प्रतिबन्धबारे कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुले सीमा तनावको विषयमा साधारणतया चिनियाँ विदेश मन्त्रालयकै धारणा अपनाउने गर्छन् ।

यद्यपि सरकारी पत्रिका ग्लोबल टाइम्सले सीमा तनावका लागि भारतलाई जिम्मेवार बताउँदै एप्समाथिको प्रतिबन्धलाई ‘अल्ट्रा नेशनलिजम’ को लहरको हिस्सा बताएका छन् ।

यो अंग्रेजी पत्रिकाले लेख्यो, ‘अचानक उठाइएको यो कदम भारतीय सैनिकद्वारा सीमा पार गरेपछि चीनसँग अवैध गतिविधि सुरु गरेको र चिनियाँ सैनिकमाथि हमला गरेका कारण दुई देशबीच तनाव बढेपछि लिइएको हो । त्यसपछि नै भारतमा अल्ट्रा नेशनलिजम हावी भएको छ ।’

समाचार र कमेन्ट्री वेबसाइट Guancha.cn ले गलवान घाटीमा जानीजानी उक्साएर र चिनियाँ उत्पादनलाई बहिष्कार गरेर भारतले आफ्नै क्षती गर्नेछ ।

ग्लोबल टाइम्सको चिनियाँ भाषाको वेबसाइटमा यो प्रतिबन्धका कारण थुप्रै भारतीय आफ्नो जागिर गुम्ने हुन् कि भन्ने चिन्तामा रहेको बताइएको छ । यसमा बताइए अनुसार दीपिका पादुकोण, सारा अली खान, शाहिद कपुर र माधुरी दीक्षितजस्ता बलिउड सेलिब्रिटी आफ्नो प्रशंसकसँग सम्पर्कमा रहन र फिल्मको प्रोमोसनका लागि टिकटकको प्रयोग व्यापक गर्दथे । बीबीसीका साथ

easy care

प्रकाशित: १७ असार २०७७, बुधबार