अनलाइन कक्षाको लागि जूम प्रयोग गर्ने सबैभन्दा धेरै, ल्यापटपबाट पढ्ने र पढाउनेको संख्या अधिक

Technology Khabar १४ असार २०७७, आईतवार

अनलाइन कक्षाको लागि जूम प्रयोग गर्ने सबैभन्दा धेरै, ल्यापटपबाट पढ्ने र पढाउनेको संख्या अधिक

काठमाडौं ।

कोरोना भाइरसको महामारीले भएको लकडाउनमा विद्यालय संचालन हुने अवस्था नहुँदा विभिन्न विद्यालय तथा कलेजहरुले अहिले अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् । त्यसरी अनलाइनमार्फत कक्षा संचालन गर्ने शिक्षक/शिक्षिकाहरुमध्ये ९५ प्रतिशत रमाएको देखिएको छ।

त्यसैगरि अनलाइनमार्फत कक्षामा सहभागी हुने विद्यार्थीहरुमध्ये ७५ प्रतिशत विद्यार्थीहरु रमाएको देखिएको छ ।

गएको मे महिनामा वुमेन इन इन्फर्मेशन टेक्नोलोजी(डब्लूआईआईटी) नेपालको सर्वेक्षणअनुसार सो तथ्यांक सार्वजनिक भएको हो ।

सर्वेक्षणकाअनुसार अनलाइनमा सहभागी हुनेमध्ये केबल आधा विद्यार्थीहरुले मात्र पढाईएको कोर्षबारेमा बुझ्न सकेका छन् । त्यसैगरी अनलाइनमा सहभागी भएर रमाएका मध्ये केबल एक तिहाईले मात्र आगामी दिनमा अनलाइन कोर्ष लिने बताएका छन् ।

प्रतिवेदनअनुसार केबल आधा शिक्षक शिक्षिकाहरुले मात्र आफ्नो संस्था तथा अभिभावकहरुबाट सहयोग प्राप्त गरेका छन् ।

सो प्रतिवेदन सार्वजनिक गर्दै संस्थाकी अध्यक्ष गुणकेशरी प्रधानले शिक्षाको क्षेत्रमा डिजिटल विभेद हटाउन र गरिब परिवारलाई सहयोग गर्न समुदाय र सरकारले अझै सहकार्य गर्नुपर्ने बताईन् ।

सो अध्ययनले विश्वव्यापी महामारीको बिचमा बालबालिकाहरुलाई शिक्षा निरन्तर प्रदान गर्न दूर शिक्षा राम्रो विकल्प भएको ठहर समेत गरेको छ ।

सो अध्ययन प्रतिवेदनले सहभागीमध्येका ९५.५ प्रतिशत टिचरहरुले ल्यापटपममार्फत अनलाइन कक्षाहरु लिने गरेको देखाएको छ भने

मोबाइलमार्फत ३६.४ प्रतिशत टिचरहरुले अनलाइन कक्षा लिएका थिए । बाँकीले कम्प्युटर तथा ट्याबलेटको प्रयोग गरेका थिए ।

तर अर्कोतर्फ अनलाइन कक्षा लिने विद्यार्थीहरुमध्ये मोबाइल र ल्यापटप प्रयोग गर्नेहरुको संख्या भने अधिक रहेको देखिन्छ । तथ्यांकअनुसार ल्यापटपमार्फत अनलाइन कक्षा लिने विद्यार्थी ७७.५ प्रतिशत थिए भने मोबाइलबाट कक्षा लिने विद्यार्थीहरु ६७.५ प्रतिशत रहेका थिए ।

त्यसैगरि सहभागीमध्ये अनलाइन कक्षा संचालन गर्ने टिचरहरुमध्ये अधिकांशले जूमको प्रयोग गरेका थिए । जूमको प्रयोग गर्ने शिक्षक शिक्षिकाहरु ८१.८ प्रतिशत रहका थिए भने भाइबर र गूगल क्लासरुप प्रयोग गर्ने समान अर्थात ३६.४ प्रतिशत रहेका थिए । त्यसैगरि माईक्रोसफ्ट टिम प्रयोग गर्ने ३१.८प्रतिशत देखिएको थियो ।

विद्यार्थी तर्फपनि सबैभन्दा धेरैले जूमको प्रयोग गरेर अनलाइन कक्षा लिएको बताएका छन् । जसमा ६८.४ प्रतिशतले जूम प्रयोग गरेका थिए भने त्यसपछि माइक्रोसफ्ट टिम प्रयोग गर्ने ३२.९ प्रतिशत तथा गूगल क्लासरुम प्रयोग गर्ने २६.६ प्रतिशत रहेका थिए ।

तथ्यांकअनुसार हेर्दा अनलाइन कक्षाको विभिन्न सफ्टवेयर तथा एप्लिकेसन प्रयोग गर्नेहरुमा विद्यार्थीहरु निकै सचेत रहेको देखिएको छ । टिचरहरुले सिमित टूलको प्रयोग गरेपनि विद्यार्थीहरुले भने १६ वटा फरक फरक टूलको बारेमा जानकार रहेको देखिएको छ ।

संस्थाले गएको मे १० देखि मे २६ सम्म नेपालका विभिन्न विद्यालय तथा कलेजका शिक्षक/शिक्षिका तथा विद्यार्थीहरुका बिचमा सर्वेक्षण गरेको थियो ।

easy care

प्रकाशित: १४ असार २०७७, आईतवार