अबैध क्रिप्टोकरेन्सी माइनिङ्ग गर्ने एपको बारेमा सामाजिक सञ्जालमा शेयर गरिँदै

Technology Khabar १३ असार २०७७, शनिबार

अबैध क्रिप्टोकरेन्सी माइनिङ्ग गर्ने एपको बारेमा सामाजिक सञ्जालमा शेयर गरिँदै

पछिल्लो दिन नेपालका सोशल मिडियाहरुमा क्रिप्टोमाइन गर्ने बारेको एप निकै चर्चामा रहेको छ । पिआई एप भनिने सो क्रिप्टो माइन गर्ने एपले क्रिप्टोकरेन्सी कमाउन सकिने भन्दै शेयर सम्बन्धि ग्रुपहरुमा निकै भाइरसल भएको छ ।

कतिपय ग्रुपमा यसलाई प्रतिबन्ध गरिएको भएपनि अधिकांशले यसलाई निकै शेयर गरिरहेका छन्।

नेपालमा अबैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारलाई प्रबद्र्धन गर्ने यो पिआई नेटवर्कको एप डाउनलोड गर्न र क्रिप्टोकरेन्सी माइन गर्न भन्दै अन्यलाई समेत सिफारिस गरिरहेका छन् ।

सो पिआई नेटवर्कको एपले आफूले २० हजार मासिकरुपमा कमाई गरिरहेको भन्दै अन्यलाई पनि सो एप स्मार्टफोनमा डाउनलोड गरेर क्रिप्टोमाइन गर्न सुझाब दिईएको छ ।

जसमा सो एप कसरी डाउनलोड गर्ने त्यसलाई कसरी प्रयोग गर्ने र क्रिप्टोमाइन गर्ने भन्ने बारेमा बिस्तृतमा जानकारी गराईएको देखिन्छ ।

क्रिप्टोमाइन गर्ने ‘पिआई नेटवर्क एप’को बारेमा नेपालका सामाजिक संजालहरु मध्ये शेयर बजारसम्बन्धि जानकारी र समाचारहरु शेयर गर्ने ग्रुपहरुमा अधिकांश राखिएको छ । जसमा पिआई नेटवर्क भनेको के हो र त्यसले कसरी कामगर्दछ भन्ने बारेमा ब्याख्या गर्दै सो परियोजनाको रुपमा आएको र त्यसलाई आधिकारिकरुपमा प्रयोग गर्न सकिने दाबी गरिएको छ ।

जहाँ मानिसहरुले कसरी कमाउन सक्छन र नेपालीले दैनिकरुपमा १२ सय रुपैयाँ कमाउने सक्ने दाबी गरिएको छ ।

सो बारेमा जानकारी शेयर गर्ने व्यक्तिहरुले भने नयाँ एप प्रयोगकर्तालाई आकर्षित गर्दै आफ्नो कोड नाम इन्भाइट कोडको रुपमा राख्न सुझाब दिने गरेका छन् ।

क्रिप्टोकरेन्सीको कारोबार नेपालमा पूर्णरुपमा अवैध भएको बेलामा पुन क्रिप्टोकरेन्सीको बारेमा जानकारी आउनु संकास्पद भएको एक शेयर लगानीकर्ताले बताए ।

‘मलाई पनि यस्तो क्रिप्टोमाइन गर्ने पिआई एपको बारेमा जानकारी शेयर गरिएको थियो । तर मैले त्यसलाई डिलिट गरिदिएँ,’ उनले भने ।

 

उता नेपाल राष्ट्र बैंकले यसअघि नै गैरकानूनी घोषणा गरेको क्रिप्टोकरेन्सी कारोबार र माईनिङ्गको नीतिमा यथावत रहेको जानकारी दिएको छ ।

डिजिटल कारोबार हेर्ने राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले क्रिप्टोकरेन्सी बारे पुरानो नीति र निर्देशनमा कुनै परिवर्तन नभएको बताए ।

‘सामाजिक संजालमा अहिले भएको क्रिप्टोकरेन्सी माइनिङ्गको प्रचार बारे जानकारी नभएपनि यसअघि नै राष्ट्र बैंकले अवैध भनिसकेको हुँदा त्यस्तो कारोबार अवैध हो,’ कार्यकारी निर्देशक कँडेलले भने ।

उनले त्यसबारेमा जानकारी पाए थप अध्ययन अनुसन्धान गरिने जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले २०७४ साउन २९ गते  नेपालमा बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सी कारोबार गैरकानूनी भएको बताएको थियो ।

प्रकाशित: १३ असार २०७७, शनिबार

Leave a Reply

Loading...