नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्र एप्स डाउनलोड गर्न पाईने व्यवस्था गर्न सरकारलाई निर्देशन

Technology Khabar १२ असार २०७७, शुक्रबार

नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्र एप्स डाउनलोड गर्न पाईने व्यवस्था गर्न सरकारलाई निर्देशन
फाइल फोटो

काठमाडौं ।

संसदिय समितिले हरेक नेपालीले प्रयोग गर्ने र डाउनलोड गर्ने मोबाइल एप्सहरुलाई सरकारी निकायले सुरक्षित भएको पुष्टि गरेपछि मात्र डाउनलोड र प्रयोग गर्ने बनाउनुपर्ने भन्दै सरकारलाई निर्देशन दिएको छ ।

नेपालभित्र प्रयोग गरिने एप्स तथा सामाजिक संजालहरु सुरक्षा, गोपनियता र उपयोगिताका हिसाबले उपयुक्त भएको पुष्टि भएपछि मात्र डाउनलोड गर्न पाईने व्यवस्थागर्न संसदिय समितिले सरकारलाई निर्देशन दिएको हो ।

व्यवस्थापिका संसद अन्तरगतको विकास तथा प्रविधि समितिले सरकार र संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिँदै नियमनकर्ता निकायले एप्स तथा सामाजिक संजालहरु सुरक्षा, गोपनियता र उपयोगिताका हिसाबले उपयुक्त रहेको पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाईने व्यवस्था गर्न निर्देशन दिएको हो ।

समितिले आज सम्बन्धित निकायका अधिकारीहरुसँग साइबर अपराध र सुरक्षाको सम्बन्धमा गरिएको छलफलपछि त्यस्तो निर्देशन दिएको हो ।

यसका साथै समितिले सरकारी पत्र, कागजात, सूचना एवं जानकारीहरु अनाधिकृत रुपमा दूरुपयोग हुने गरेको भन्दै सरकारी आधिकारिक इमेल र वेभसाइटबाट मात्र प्रयोग हुने गरि आवश्यक व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ।

बैठकले सरकारी वेबसाइट र सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरुको अनिवार्य सेक्यूरिटी अडिट गर्ने व्यवस्था मिलाउन र सरकारी डोमेन नेम निजी क्षेत्रबाट दर्ता हुँदै आएकोमा यस्तो कार्य सरकारी निकायबाट गर्ने आवश्यक व्यवस्था मिलाउन समितले निर्देशन दिएको छ ।

समितिले सबै स्थानीय तहका कार्यालय तथा विद्यालयहरुमा द्रूत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम प्रभावकारी बनाउन समेत भनेको छ ।

बैठकमा सांसदहरुले नेपालको साइबर सुरक्षा कमजोर भएको र त्यसलाई अनुगमन र सुरक्षित पार्नुपर्ने विषयमा जोड दिएका थिए ।

सांसद बहादुर सिंह लामाले अरुले बनाएको प्रविधि हामीले प्रयोग गरिरहेको भन्दै आफैंले यस्तो प्रविधि बनाउनुपर्ने बताए । उनले प्रविधिले विकास भन्दा बिनाश बढि भएको जिकिर गरेका थिए ।

त्यस्तै सांसद आशा कुमारीले गाउँघरमा अझै सूचना प्रविधिको पहुँच नपुगेको अवस्थामा साइबर सुरक्षा अझ टाढाको कुरा भएको बताईन् । उनले साइबर अपराध हेर्ने निकाय जिल्ला तहसम्म पुग्नुपर्ने सुझाब दिईन् ।
बैठकमा सांसद गणेश पहाडीले विद्यालयहरुमा पुर्याउने भनिएको इन्टरनेट कार्यक्रम निकै सुस्त गतिमा रहेको आरोप लगाउँदै उनले डाउनलोड गरिएको एप्स सुरक्षित छ वा छैन भनेर कसरी हेर्ने भन्ने प्रश्न गरेका थिए ।

विकास तथा प्रविधि समितिको बैठकमा मन्त्रालयका अधिकारीहरु, नेपाल दूरसंचार प्राधिकरण, राष्ट्रिय सूचना केन्द्र, नेपाल प्रहरीको साइबर ब्यूरोका अधिकारीहरुले वर्तमान अवस्थाको बारेमा जानकारी दिएका थिए ।

प्रकाशित: १२ असार २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया