Technology Khabar १२ असार २०७७, शुक्रबार
काठमाडौं ।
टेक कम्पनी एनभिडिया र अटोमोबाइल कम्पनी मर्सिडिज बेन्ज मिलेर अहिलेसम्मकै अत्याधुनिक प्रविधियुक्त कार निर्माण गर्न सहमति गरेका छन् । दुबै कम्पनीले संयुक्तरुपमा कार ड्राईभ सफ्टवेयर निर्माणको घोषणा गरेका छन् ।
यी दुई कम्पनीले सन २०२४ सम्ममा भेहिकल कम्प्युटिङ सिस्टममा अहिलेसम्मकै विकसित प्रविधि भित्र्याउने घोषणा गरेका हुन् । अटोमोबाईल क्षेत्रमा हालसम्म नभएको वा निकै अत्याधुनिक प्रविधिको विकास गर्ने सो घोषणामा उल्लेख छ ।
सो प्रविधिमार्फत कुनै पनि सवारीसाधनलाई मानवरहित बनाएर लेभल २, ३ र ४ अर्थात पार्किङ समेत स्वचालितरुपमा गर्न सकिने किसिमले तयार पारिनेछ । जुन टेस्लाको अटामेटिक गाडीभन्दा पनि अत्याधुनिक हुने एनभिडियाले जारी गरेको प्रेस विज्ञप्तिमा बताईएको छ ।
यो कारको विकासपछि अवस्था भयावह भएको बेलामा पनि मानिसको आवश्यकता अनुसार कारहरु सरलरुपमा सडकमा चलाउन सकिने छ । एनभिडियाको ड्राईभ प्लेटफर्मयुक्त गाडीमा सुरक्षाको कुनै चुनौतीसमेत नहुने विज्ञप्तिमा बताईएको छ । यस्तै गाडीको प्रत्येक सेकेन्डको अवस्थाको बारेमा नियमन गर्ने मानिसकहाँ उक्त कारको सूचना समेत पुग्ने बताईएको छ ।
यसका साथै मर्सिडिज बेन्जले बनाउने हरेक कारमा एनभिडियाको ड्राईभ सिस्टमको प्रयोग गरिनेछ । एनभिडियाले यो ड्राईभ प्लेटफर्ममा आधारित प्रणालीबाट ‘एयर टु एयर’ नियमित मार्गको ड्राइभिङ स्वचालित गर्न सक्षम हुनेछ । यो प्रणालीमा ओभर–एयर अपडेट हुनेछ, जुन ग्राहकलाई टाढा रहँदा पनि सुरक्षा, सफ्टवेयर अपडेटहरु र सेवाहरू स्थापना गर्न सक्षम हुने बताईएको छ । एजेन्सी
प्रकाशित: १२ असार २०७७, शुक्रबार