सिमकार्ड किन्न परिचय पत्रसहित ग्राहक आफैं उपस्थित हुनुपर्ने, नत्र अधिकृत वारेसनामा आवश्यक

Technology Khabar ११ असार २०७७, बिहीबार

सिमकार्ड किन्न परिचय पत्रसहित ग्राहक आफैं उपस्थित हुनुपर्ने, नत्र अधिकृत वारेसनामा आवश्यक

नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड बिक्री गर्दा सम्बन्धित व्यक्तिको आधिकारिक परिचय पत्र रुजु गरेर मात्र दिनको लागि निर्देशन दिएको छ ।

दूरसञ्चार प्राधिकरणले गएको जेठ १३ गते पत्र मोबाइल सेवा प्रदायकहरुलाई पत्र पठाउँदै अनधिकृतरुपमा अन्य व्यक्तिलाई सिमकार्ड दिँदा त्यसले अर्को व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैंकिङ्ग सेवा, ईमेल सेवा, सामाजिक संजाल र अन्य डिजिटल सेवाहरु तथा डाटामा पहुँच पुग्न सक्ने जोखिम भएको भन्दै त्यस्तो निर्देशन दिएको हो ।

त्यस्तो व्यवस्था नयाँ सिमकार्ड लिन, हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिने सबै कार्यमा लागू गर्नुपर्नेछ ।

प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई आफैंले बिक्री गर्ने वा अन्य आधिकारिक बिक्रेताहरुमार्फत बिक्री गरिने सिमकार्डहरु बेच्दा ग्राहक स्वयंम उपस्थित भएको खण्डमा सक्कल परिचय पत्र रुजु गरेर मात्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

यदि ग्राहक स्वयम् उपस्थित हुन नसकेको अवस्थामा भने कानूनअनुसारको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड दिन प्राधिकरणले भनेको छ ।

‘अनधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले अब उप्रान्त सिमकार्डको विक्री वितरण गर्दा तथा हराएको वा विग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा अनिवार्य रुपमा ग्राहक स्वयम् उपस्थिति भई ग्राहकको सक्कल परिचय पत्र (नागरिकताको प्रमाण पत्र वा मतदाता परिचय पत्र वा राहदानी वा प्राधिकरणले तोके बमोाजिमको अन्य परिचय पत्रहरु) सँग प्रतिलिपी रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरी तथा ग्राहक स्वयम् उपस्थित हुन नसकेको अवस्थामा कानून बमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउन,’ -प्राधिकरणद्धारा जारी निर्देशनमा भनिएको छ ।

प्रकाशित: ११ असार २०७७, बिहीबार

Leave a Reply

Loading...