मोबाइल बैंकिङमा किर्ते हस्ताक्षर गरी नगद रकम ठगी गरेको अभियोगमा एक पक्राउ

Technology Khabar १० असार २०७७, बुधबार

मोबाइल बैंकिङमा किर्ते हस्ताक्षर गरी नगद रकम ठगी गरेको अभियोगमा एक पक्राउ
सांकेतिक

काठमाडौं ।

मोबाइल बैंकिङ किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।

किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

हाल वीरगंज महानगरपालिका बस्ने चितवन भरतपुर महानगरपालिकाकी मिरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय बीरगंजमा रहेको खाताको हस्ताक्षर किर्ते गरी रकम झिकेको अभियोगमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केसीको खाताबाट अपरिचित व्यक्तिले मोबाइल नम्बर ९८२९२४३५६० बाट मिराकै मोबाइल बैकिङ सेवा सुचारु गरी पटक पटक गरी ३ लाख रुपैयाँ अन्य बैंकको खातामा ट्रान्सफर गरेको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा नादिरको खातामा रकम ट्रान्सफर भएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

easy care

प्रकाशित: १० असार २०७७, बुधबार

ताजा समाचार