इन्टरनेटको युग: भरपर्दो इन्टरनेट सेवाका साथमा सुरक्षित डाटाको आवश्यकता

Technology Khabar ९ असार २०७७, मंगलवार

इन्टरनेटको युग: भरपर्दो इन्टरनेट सेवाका साथमा सुरक्षित डाटाको आवश्यकता
Classic Tech

मध्यपुर थिमीको गठ्ठाघरस्थित सिभिएम स्कूलमा कक्षा ५ मा पढ्ने विद्यार्थी आर्या अहिले स्कूल बन्द हुँदा अनलाइनबाट समय/समयमा कक्षा लिने गर्दछिन् । उनको विद्यालयका शिक्षक, शिक्षिकाहरुले भिडियो कन्फ्रेन्सिङ्ग एप जूम तथा च्याटिङ्ग एप मेसेन्जरबाट विद्यार्थीहरुसँग कुराकानी तथा अध्यापन गराईरहेका छन् । यसले उनलाई विद्यालय शिक्षासँग टुट्न दिएको छैन भने उनका अभिभावकहरुलाई केहि हदसम्म सन्तोष भएको छ ।

उनकी आमा संगिता सुबेदी लकडाउनले विद्यालय बन्द भएपछि यूट्यूब र फेसबुकमा मात्र झुण्डिईरहेका केटाकेटीहरुलाई पढाईमा मन लगाउन केहि भएपनि सहज भएको बताउँछिन् ।

‘अनलाइन कक्षा नभएको भए यति लामो समयसम्म केटाकेटीलाई लकडाउनमा घरभित्र राख्न नै समस्या हुनेथियो,’ उनले भनिन्, ‘अर्कोतर्फ अधिक मात्रामा इन्टरनेटमा झुण्डिदाँ बिग्रने डर पनि उत्तिकै छ ।’

त्यसैगरि दैनिक कार्यालय गएर समाचार लेख्नुपर्ने कारोबार दैनिकमा कार्यरत पत्रकार किरण आचार्य अहिले घरबाट वर्क फ्रम होमको अवधारणामा काम गरिरहेका छन् । पत्रिकाको व्यवस्थापन र सम्पादकले घरबाट नै कामगर्न भनेपछि उनी घरबाट नै समाचार पठाईरहेका छन् ।

त्यति मात्र होईन्, विभिन्न अनलाइन मिटिङ्गमा सहभागीता र पत्रिकाको लागि अनलाइनबाटै अन्तरवार्ता पनि लिईरहेका छन् ।

‘इन्टरनेट र कनेक्सन भएको हुँदा नै यसले सुरक्षित र सहज हुनुका साथै अन्य काम पनि गर्न सकिएको छ,’ आचार्य भन्छन् ।

त्यति मात्र होईन इन्टरनेट कनेक्सन नभएर अनलाइन कक्षा लिन नपाउँदा छिमेकी मुलुक भारतमा एक विद्यालयकी छात्राले आत्महत्या गरेको समाचार केहि समय अघि आएको थियो । नेपालमा पनि कतिपय अभिभावकहरुले इन्टरनेट र प्रविधिमा पहुँच नभएको हुँदा अनलाइन कक्षामा अझै सहभागी हुन नसक्दा शिक्षामा विभेद हुने बताउँदै आएका छन् ।

यी उदाहरणलाई हेर्ने हो भनेपनि कोभिड १९ को विश्वव्यापी महामारीले मानिसहरुलाई घरभित्र खुम्चिन बाध्य बनाएपनि उनीहरुलाई बाहिरी विश्वसँग सम्पर्क गर्ने माध्यम इन्टरनेट भएको छ ।

मानिसहरु सामाजिक हुन थालेदेखि सकेसम्म एकअर्कामा सम्पर्क गर्ने चाहनालाई अहिले घरभन्दा बाहिर ननिस्कन सकिने अवस्थामा पनि अन्य विभिन्न प्रविधिको माध्यमले सहज बनाएको छ ।

त्यसैले त २१ औं शताब्दीलाई सूचना र प्रविधिको शताब्दी भनेर भनिएको छ । जहाँ उच्चतम प्रविधिको विकास र बिस्तारले जिवनलाई सहज बनाउने प्रयास गरिँदै आएको छ।

एक आपसमा जोडिनको लागि सूचना प्रविधिको उपयोग पछिल्लो दिनहरुमा तिब्रगतिमा भईरहेको छ । यसको लागि एकमात्र आधार भनेको इन्टरनेट कनेक्सन नै हो । जहाँ विभिन्न डिभाइसहरुमार्फत तारसहितको इन्टरनेट होस वा ताररहित इन्टरनेटबाट सारा विश्व चाहार्न सकिएको छ ।

अहिलेको समयमा इन्टरनेट नहुँदा के हुन्छ भनेर कल्पना समेत गर्न सकिँदैन् । त्यसले अतिविकसित मुलुकदेखि नेपालजस्तो विकासोन्मुख मुलुकमा हरेक समय इन्टरनेटको प्रयोग आवश्यक हुँदै आएको छ ।

यसले एक आपसमा सम्पर्क गर्न सहज बनाउने मात्र नभई दैनिक जीवनयापनलाई नै सहज र सरल बनाउन सहयोग गरिरहेको छ ।
हेर्ने हो भने पनि पछिल्लो दिनमा सूचना प्रविधि र इन्टरनेटमा आधारित शिक्षा, स्वास्थ्य सेवा, सरकारी सेवा सुबिधा मात्र नभई तपाईँ हामीले दैनिक भान्छामा प्रयोग गर्ने खाद्यान्न र तरकारी पनि इन्टरनेटबाटै किनबेच हुने गरेको छ । फुडमाण्डु, भोजडिल,फुडमारियो, सस्तो डिल, दराज डटकमलगायतका अनलाइनमा आधारित कम्पनीहरुको बढ्दो उपस्थिती र सेवा यसको राम्रो उदाहरण हो ।

गुणस्तरीय इन्टरनेट सेवा
त्यसैले पछिल्लो दिनमा इन्टरनेटको प्रयोग मनोरन्जनको साधनको रुपमा नभई अत्यावश्यक र बाध्यकारी हुँदैछ । यसमा आईरहेको नयाँ अत्याधुनिक प्रविधि र सुबिधाका साथै हरेक क्षेत्रमा यसको प्रयोगले गर्दा यो नियमितरुपमा प्रयोग हुँदै आएको छ ।

यसले गर्दा अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको देख्दछन् एक मोबाइल कम्पनीमा कार्यरत प्रकाश सुवेदी । उनले पछिल्लो दिनमा मानिसहरु घरमा नै रहेको र इन्टरनेट कनेक्सनको पहुँचमा हुँदा त्यसले बजारमा स्मार्टफोनको माग र बिक्री बढेको बताए ।

‘मानिसहरु हरेक समय कनेक्सनमा रहन चाहन्छन्, अहिले त २४ सै घण्टा इन्टरनेट पहुँचमा हुँदा त्यसको लागि डिभाइसको प्रयोग समेत बढिरहेको छ, सुवेदीले भने ।

मानिसले इन्टरनेट प्रयोग गर्दा सँधै भरपर्दो र निरन्तर कनेक्सन चाहन्छन जसले उनीहरुको दैनिक कामलाई अझ उत्कृष्ट बनाओस् । यसको लागि गुणस्तरीय इन्टरनेट आवश्यक पर्दछ । तर अहिलेको समयमा नेपालमा समस्यारहित र गुणस्तरीय इन्टरनेट सेवा पाएकोछु भनेर भन्ने मानिस भेट्न निकै कठिन छ । किनकी गुणस्तरीय र निरन्तर सेवा नदिएको आरोप इन्टरनेट सेवा प्रदायकहरुलाई दैनिक लागिरहेको छ ।

व्यक्तिगत ग्राहकहरुले मात्र नभई कर्पोरेट ग्राहकहरुले पनि आफ्नो इन्टरनेट सेवामा गुनासो गरिरहेका छन् । उदाहरणको लागि पुतलीसडकमा विदेश जाने विद्यार्थीहरुको लागि परामर्श दिने संस्था चलाईरहेका एक कम्पनीका संचालकले इन्टरनेट सेवा प्रदायकले भनेअनुसारको सेवा नदिँदा र समयमा नै समस्या समाधान नगरिदिँदा इन्टरनेट सेवा दिने कम्पनी नै परिवर्तन गरेको बताएका थिए ।

अझ इन्टरनेटमा आधारित भएर सेवा दिने कम्पनीहरुले गुणस्तरीय सेवा नपाउने हो भने उनीहरुको व्यवसाय नै ठप्प हुन्छ । नेपालमा ईकमर्श कम्पनीहरुको बिस्तारसँगै उनीहरुलाई तिब्रगतिको उच्च क्षमताको इन्टरनेट सेवा आवश्यक पर्दछ तर अहिले उनीहरु एउटै इन्टरनेट सेवा प्रदायकसँग भर पर्न सकिरहेका छैनन् र यसको लागि अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता छ । यसले एकातर्फ उनीहरुको सेवा बिस्तारमा अवरोध भईरहेको छ भने अर्कोतर्फ उनीहरुले राख्ने डाटामा सम्झौता गर्नुपरेकोछ । अर्थात गुणस्तरीय डाटा हुनको लागि गुणस्तरीय सेवा दिनुपर्दछ र त्यसको लागि अनलाइनमा आधारित कम्पनीहरुलाई निरन्तर उच्च गतिको इन्टरनेट सेवा आवश्यक पर्दछ । जून अहिलेको अवस्थामा संभव देखिएको छैन् ।

इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई भनेअनुसारको गुणस्तरीय इन्टरनेट कनेक्सन नदिँदा यो समस्या बढेको हो । सेवा प्रदायकले अहिले एउटै लाइन ७ जनासम्मलाई शेयर गरेर दिने गर्दछन जसले गर्दा व्यक्तिगत ग्राहक मात्र नभई कर्पोरेट ग्राहकहरु समेत प्रभावित हुन्छन् । कर्पोरेट ग्राहकलाई दिईने इन्टरनेट सेवा समेत शेयरिङ्गमा दिँदा त्यसले थप समस्या उब्जाएको छ । अझ अत्यावश्यक समय र काम परेको बेलामा इन्टरनेट नै नचल्ने वा सुस्त हुने समस्या तपाईँ हामीले नियमित भोगिरहेका छौं । यसले हाम्रा डाटाहरुलाई अझ असुरक्षित बनाउने देखिन्छ ।

सो बारेमा एक सेवा प्रदायक कम्पनीका एक अधिकारीले शेयरिङ्गमा सेवा नदिने हो भने अहिलेको भन्दा ४ गुणा महंगो शुल्क तिर्नुपर्ने दाबी गर्दछन् ।

त्यसैले नियमनकारी निकायहरुले इन्टरनेटको गुणस्तर र शेयरिङ्ग मोडालिटीमा स्पष्ट निर्देशन दिनु आवश्यक देखिन्छ । नत्र ग्राहकहरुले इन्टरनेटको लागि रकम खर्च गरिरहने तर गुणस्तरीय सेवा नपाउने समस्या निरन्तर रहिरहनेछ ।

गुणस्तरीय डाटा र सुरक्षा
कम्पनीहरुले भविश्यमा आफ्नो सेवा बिस्तार गर्न गुणस्तरीय डाटाको आवश्यकता पर्दछ र अधिकांश कम्पनीहरु डाटामा नै आधारित भएर काम गरिरहेका हुन्छन र सेवा वा वस्तुको कारोबार गरिरहेका हुन्छन् ।

यसको लागि कनेक्सन वा सम्पर्क मात्र भएर हुँदैन त्यसको लागि डाटा पनि आवश्यक पर्दछ । जसको आधारमा मानिसहरु कनेक्सनमा रहन्छन् । तर नेपालमा डाटाको भण्डारण र उपयोगको अवस्था निकै कमजोर छ ।

मानिसहरुको हरेक गतिबिधिबाटै डाटा सिर्जना हुने बताउँछ, प्रदेश नम्बर १ को प्रदेश सरकारलाई सूचना प्रविधिमा सहयोग गरिरहेका विज्ञ रमेश ढकाल । उनको भनाईमा सरकारी संयन्त्र डाटा संकलनमा निकै कमजोर र समस्याग्रस्त छ ।

‘सरकारका प्रशासनिक मानिसहरुमा नै डाटाको बारेमा जानकारी छैन्,’ उनले एक कार्यक्रममा भने ।

यस अवस्थामा डाटा सहि नहुँदा त्यसको कार्यान्वयन नीति नै गलत हुने बताउँछन् राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल भण्डारी । उनले हालै आयोजित एक छलफलमा हाम्रो डाटा नै स्पष्ट नभएको बताए ।

‘हामीले तथ्यांकलाई कसरी प्रयोग गर्ने र कसले संकलन गर्ने भन्ने नै स्पष्ट छैन्,’ उनले भने ।

सचिव केवल भण्डारीले डाटा सहि नहुँदा गूगलले नेपालको पोस्टल कोड नै गलत राखेको भन्दै उनले डाटाको उपयोग निजी क्षेत्रले समेत गर्न नसकेको गुनासो गरे ।

सरकारको डाटा संकलन निकै ठूलो मात्रामा भएपनि त्यो व्यवस्थित नहुँदा समस्या भएको र सँधै दोहोरोपना हुने गरेको विज्ञहरुको भनाई छ ।

सरकारी डाटा संकलनमा अस्पष्टता नभएपनि निजी क्षेत्रले भने आवश्यकताअनुसार डाटाको प्रयोग अधिक मात्रामा गरिरहेको छ ।
निजीक्षेत्रले डाटा प्रयोग बढाईरहेको र सरकार पनि डाटालाई व्यवस्थित गरिरहेको बेलामा डाटाको सुरक्षामा ध्यान दिनुपर्ने बताउँछन एनपीसर्टका अध्यक्ष चिरन्जिवी अधिकारी । निजी क्षेत्रले आफ्नो स्वास्र्थअनुसार डाटा संकलन गर्ने र सरकारको डाटा स्पष्ट नहुँदा डाटा सुरक्षा झन चुनौतीपूर्ण रहेको अधिकारीले बताए ।

‘प्रयोगकर्तालाई नै यसबारेमा सचेत गर्नुपर्ने र कति डाटा शेयर गर्ने भन्ने स्पष्ट हुनुपर्दछ,’ अधिकारीले भने । उनले डाटा सुरक्षा गर्नको लागि इन्टरनेट कनेक्सनसमेत सुरक्षित गरिनुपर्ने भन्दै त्यसको लागि नियमनकारी निकायहरु सक्रिय हुनुपर्ने स्पष्ट पारे ।

व्यापार विश्लेषकहरू आधुनिक डाटामा आधारित अर्थव्यवस्थामा बढ्दोक्रममा रहेको बताउँछन् । तिनीहरूले बजारको प्रवृत्ति निर्धारण, डाटा विश्लेषणले कम्पनीका अधिकारीहरु लाई अंतर्दृष्टि प्रस्तुत गर्दै कम्पनीको भविष्य निर्देशित गर्न सहयोग गर्ने बताउँछन् । र जब विश्व अझ बढी डाटामा आधारित हुन्छ, त्यसबेला व्यवसायीक कम्पनीहरु लागि सही डाटा सही समयमा आवश्यक हुन्छन् ताकि त्यसले भविश्यमा व्यवसाय बिस्तारमा सहयोग गरोस् ।

यदि तपाईंसँग खराब डाटा मात्र भयो भने तपाईंले राम्रो सूचनाहरु प्राप्त गर्न सक्नुहुन्न् र कमजोर सूचनाको साथ तपाईले व्यवसायका संचालन गर्नुपर्ने हुन्छ जसले अन्तत व्यवसायलाई नै जोखिममा पारिदिन्छ । त्यसैले गुणस्तरीय डाटा हरेक व्यवसायको लागि अत्यावश्यक हो ।

नेपालको तथ्याकंहरु हेर्दा नेपालमा चैतमहिनासम्म ३ करोड ८६ लाख ७७ हजार भन्दा बढि टेलिफोन सेवा प्रयोगकर्ताहरु छन भने मोबाइल मात्रै चलाउने ३ करोड ७८ लाख भन्दा बढि छन् ।

त्यसैगरी इन्टरनेट कनेक्सनतर्फ हेर्ने हो भने ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ७३।३५ प्रतिशत पुगेको छ । जसमा फिक्स्ड ब्रोडब्याण्ड १७।३३ प्रतिशत छ भने मोबाइल ब्रोडब्याण्डको पहुँच ५५।२९ प्रतिशत रहेको छ। ब्रोडब्याण्ड कनेक्सनमध्ये ४जी कनेक्सनमा रहेका प्रयोगकर्ताहरुको संख्या ४८ लाख २१ हजार भन्दा बढि रहेको नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणको तथ्यांकले पनि देखाउँछ नेपालमा इन्टरनेटमा सम्पर्क हुनेहरुको संख्या बढिरहेको छ तर अझैपनि उच्चगतिको इन्टरनेट सम्पर्क भने हुन सकेको छैन् । तथ्यांकले नै करिब ४ करोडमध्ये ४८ लाख मात्र ४जीमा जोडिएको देखिन्छ ।

ग्रामीण क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड
त्यसैले शहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा जाने हो भने त फिक्स्ड इन्टरनेट बिस्तारको संभावना अत्यन्त न्यून छ र त्यो क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड नै उपयुक्त विकल्प हो । अझ त्यहाँ ४जी बिस्तारको बारेमा ध्यान दिनसकिएमा थप मानिसहरुलाई मोबाइल ब्रोडब्याण्ड कनेक्सनमा जोडिन सकिनेछ ।

व्यवहारिकरुपमा ग्रामीण क्षेत्रमा तार तानेर सेवा दिन संभव नहुने र त्यो निकै महंगो हुने हुँदा पनि त्यस्ता क्षेत्रमा मोबाइल ब्रोडब्याण्डको विकल्प छैन् । अधिकांश नेपालीहरु ग्रामीण क्षेत्रमा बसोबास गर्ने र त्यहाँपनि पछिल्लो समयमा सूचना प्रविधिमा आधारित सेवाहरुको माग बढिरहेको समयमा उनीहरुलाई सूचना प्रविधिमा पहुँचको लागि पनि मोबाइल ब्रोडब्याण्ड बिस्तारको विकल्प छैन् ।

शहरी क्षेत्रमा मात्र सिमित भएका इन्टरनेट सेवा प्रदायकहरु र शहरी क्षेत्रमा नै गुणस्तर कायम गर्न नसकेको अवस्थामा उनीहरु ग्रामीण भेगमा जाने संभावना अहिले छैन् । त्यसैले यसमा मोबाइल सेवा प्रदायकहरुको भूमिका महत्वपूर्ण रहन्छ । जसले ग्रामीण ग्राहकहरुलाई आकर्षित गर्न र इन्टरनेट कनेक्सनमा ल्याउनका लागि कामगर्न सक्नेछन् । यसमा विभिन्न अफरहरु ल्याएर समेत आकर्षित गर्न सकिन्छ ।

नियमनकारीको भूमिका
सूचना प्रविधिमा आधारित सेवा र व्यवसायको संख्या निरन्तर बढिरहेको हुँदा सरकारले यसलाई ध्यान दिनुपर्ने देखिन्छ । अझ कोभिड १९ महामारीपछिको अवस्था हेर्ने हो भने त हरेक क्षेत्र र मानिसहरु इन्टरनेटमा जोडिनुपर्ने बाध्यता आएको छ । शिक्षा, स्वास्थ्यलगायतका आधारभूत क्षेत्रहरु सहित अन्य व्यक्तिगत र व्यवसायीक कार्यहरुमा इन्टरनेट अत्यावश्यक भएको छ । अनलाइन शिक्षा होस वा टेलिमेडिसिन होस वा ईकमर्श कम्पनीबाट तरकारी मगाउने कुरा, हरेकमा इन्टरनेटको भुमिका प्रमुख र महत्वपूर्ण रहेको छ जसले डाटा सिर्जना गर्न सहयोग पुर्याउँछ ।
सरकारले बजेट मार्फत पनि डिजिटल नेपालको अभियान यहि वर्षदेखि शुरु गर्ने नीति लिईसकेको र दूरसंचार सेवालाई गुणस्तरीय समेत गर्ने नीति सार्वजनिक गरेको समस्यमा सबैभन्दा महत्वपूर्ण भूमिका सरकारको रहन्छ ।

पछिल्लो चरणमा सरकारी संस्थाहरुले नै अनलाइनमा आधारित भएर सेवा शुरु गरिरहेका छन् । जसको ताजा उदारहण हो खाद्य कम्पनीले सस्तो डिलसँग मिलेर शुरु गरेको अनलाइन खाद्यान्न ढुवानी सेवा । त्यति मात्र होईन्, लकडाउनमा आवश्यक पर्ने सवारी पास बनाउनका लागि गृह मन्त्रालयले शुरु गरेको अनलाइन सिस्टमपनि सूचना प्रविधिमा आधारित सरकारी सेवा हो । त्यसैले अब हरेक डिभाइस र सेवाहरु कनेक्सनमा आधारित भएर आउने छन् ।

सूचना प्रविधिमा आधारित हुनका लागि इन्टरनेट सबैभन्दा महत्वपूर्ण आधार हो र त्यसमा गुणस्तरीय र फास्ट इन्टरनेट कनेक्सन हुनु आवश्यक भईरहेको छ । नियमनकारी निकायहरुले इन्टरनेट सेवाको सुनिश्चितताका लागि नयाँ नियम कानून ल्याउनुपर्ने देखिएको छ भने डाटाको सुरक्षा र त्यसको लागि आवश्यक पर्ने कानुनको निमार्ण पनि बनाउनुपर्नेछ । अहिले भएका नियम कानूनहरु अझै पर्याप्त नभएको हुँदा भविश्यमा ग्राहकहरुले रकम तिरेअनुसारको तिब्रगतिको इन्टरनेट सेवा निरन्तर प्राप्त गर्नका लागि पनि नयाँ नियम कानूनहरु बनाउनुपर्दछ ।

प्रकाशित: ९ असार २०७७, मंगलवार

Comments are closed.

Loading...