आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन शुरू, दुई नयाँ विधासहित ११ विधामा अवार्ड हुने

Technology Khabar ८ असार २०७७, सोमबार

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन शुरू, दुई नयाँ विधासहित ११ विधामा अवार्ड हुने

काठमाडौं ।

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज अर्थात असार ८ गतेदेखि सुरु भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ गतेसम्म खुल्ला गरिएको छ ।

कोरोनाको प्रभाव र महामारीको कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगष्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुने आयोजकले जानकारी दिएको छ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् ।

स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरु इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् ।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन् ।

यो वर्ष कोरोनाको संकटको कारण छनौट प्रक्रिया पनि बढी प्रविधिमैत्री हुने आयोजकले जनाएको छ ।

१. आइसिटी स्टार्टअप अवार्ड
आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाइ प्रवर्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानुन अनुसार कम्पनी दर्ता भएर संचालनमा रहेको हुनुपर्नेछ ।
यस विधामा बिगत ३ वर्ष (आर्थिक बर्ष २०७४र०७५ देखि २०७६र०७७) को अवधिमा दर्ता भएका कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।

२. आइसिटी प्रडक्ट अवार्ड
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले विकास गरेको आइटी प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ ।
२०७६ वैशाखदेखि २०७६ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रोडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

३. राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड
राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा बिश्वबिध्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा प्रडक्टहरूलाई समावेश गर्न सकिन्छ ।

४. इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड
कोभिड-१९ महामारी द्वारा सिर्जित समस्याको नियन्त्रण तथा समाधान गर्ने प्रयास स्वरूप विकास भएका नयाँ इन्नोभेसनहरूलाई यस विधामा नोमिनेशन गर्न सकिनेछ । संकट समाधानमा इन्नोभेसन र प्रविधिको महत्वलाई दर्शाउने गरी विकास भएका यस्ता विभिन्न एप्लिकेशन, सफ्टवेयर, हार्डवेयर, रोबोटजस्ता प्रविधिहरू यस विधाको लागि योग्य मानिनेछन् ।
यस विधामा नोमिनेशन (आबेदन) दिनको लागि माघ २०७६ देखि आबेदनको अन्तिम दिनसम्म सार्वजनिक भएका प्रविधि तथा इन्नोभेसनहरु हुनुपर्नेछ ।

५. पायोनियर आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो समयसम्म योगदान दिएका विशिष्ट व्यक्तिलाइ दिइनेछ ।
यो अवार्डमा सूचना प्रविधि क्षेत्रमा विगत १५ वर्षदेखि योगदान दिइरहेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यस विधामा स्वयम् वा अरू कसैले पनि सम्बन्धित व्यक्तिको नाममा नोमिनेशन (आबेदन) दिन सकिनेछ ।

६. नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । यस विधामा विदेशमा रहेर पनि सूचना प्रविधि क्षेत्रमा योगदान दिइरहेका नेपालीहरूले आबेदन दिन सक्नेछन् । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा नोमिनेशन(आबेदन) दिन सकिनेछ ।

७. आन्टरप्रेनर आइसिटी अवार्ड
आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ ।
यस विधामा नोमिनेशन दर्ता गर्न सूचना प्रविधिको क्षेत्रको उद्यमीको रुपमा कम्तिमा ५ बर्षदेखि क्रियाशील रहेको हुनुपर्नेछ । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन(आवेदन) दिन सकिनेछ ।

८. वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूको लागि लक्षित छ । आइटी क्षेत्रमा क्रियाशील महिला (उद्यमी, लिडर, म्यानेजर, इन्नोभेटर)हरूले यसमा आवेदन दिन सक्नुहुनेछ ।
यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन(आवेदन) दिन सकिनेछ ।

९. मिडिया पर्सन आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई मुख्य बिट बनाएर समाचार रिपोर्टिङ, सम्प्रेषण, प्रकाशनमा क्रियाशील पत्रकारलाई दिइनेछ ।
कम्तीमा ३ वर्षको अनुभव भएका पत्रकारहरूले यसमा आवेदन दिन सक्नुहुनेछ । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन(आवेदन) दिन सकिनेछ ।

१०. डिजिटल एजुकेशन आइसिटी अवार्ड
डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ ।
विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थानहरूले यो विधामा आवेदन दिन सक्नेछन् । यस विधामा जो कोहिले सम्पूर्ण जानकारी उल्लेख गरेर नोमिनेशन (आवेदन) फाराम बुझाइदिन सकिन्छ ।

११. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
सरकारी सेवा सुविधालाई प्रविधिमैत्री बनाउँदै छिटो, सहज र पारदर्शी रूपमा सेवा सञ्चालन गर्ने सरकारी संस्थालाई यो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।
नागरिकलाई सेवा दिने सरकारी सस्था, प्राधिकरण, विभाग, स्थानीय निकाय लगायतको प्रतिनिधित्व गर्दै यस विधामा नोमिनेशन दिन सकिन्छ ।

Global Bank
easy care

प्रकाशित: ८ असार २०७७, सोमबार

ताजा समाचार