उपहारको लोभ देखाएर व्यक्तिगत ईमेल ठेगाना खुलारुपमा संकलन गर्दै वनप्लस नेपाल

Technology Khabar ७ असार २०७७, आईतवार

उपहारको लोभ देखाएर व्यक्तिगत ईमेल ठेगाना खुलारुपमा संकलन गर्दै वनप्लस नेपाल

काठमाडौं ।

नेपालमा वनप्लस फोन बेच्ने कम्पनीले अनधिकृत तरिकाले व्यक्तिहरुको खुलारुपमा ईमेल संकलन गरेर उनीहरुको ईमेल ठेगाना नै जोखिममा पारिदिएको छ।

कम्पनीले अन्तर्राष्ट्रिय फोन गिभअवेको नाममा आफ्नो ट्विटर एकाउन्टमार्फत सर्वसाधारणलाई ईमेल उल्लेख गर्न भन्दै व्यक्तिगत ईमेल संकलन गरिरहेको हो।

कम्पनीले प्रयोगकर्ताहरुलाई निशुल्क स्मार्टफोन दिने लोभ देखाएर उनीहरुको व्यक्तिगत ईमेल धमाधम संकलन गरिरहेको छ । सो गिभअवेका लागि वनप्लस नेपालको ट्विटर एकाउन्टबाट औपचारिकरुपमा नै ईमेल एड्रेस लेख्नेगरि बाध्यकारी बनाउँदै धमाधम ईमेल ठेगानाहरु लिईएको हो । जसमा कमेन्ट बक्समा नै ईमेल लेख्ने नियम राखिएको छ ।

तर केहि सचेत प्रयोगकर्ताहरुले सो बारेमा विरोध जनाएपछि कम्पनीले हाल ईमेल ठेगाना कमेन्टमा नलेख्न भनेको छ ।

तर कम्पनीले गिभअवेको नाममा राखिएको नियममा भने कुनै परिवर्तन गरेको छैन् । जसले गर्दा कम्पनीले विरोध भएपछि ईमेल नलिने बताएपनि त्यसलाई अझैपनि अनिवार्य गरेको देखिन्छ ।

यसरी कसैलाई उपहार दिने नाममा उनीहरुको ईमेल ठेगाना खुलारुपमा माग्नु गोपनियताको अधिकार विरुद्ध हुने गर्दछ। अझ यस्तो ईमेल ठेगाना कम्पनीहरुले अन्य व्यवसायीक गतिबिधिमा प्रयोग गरेमा कानूनी कारबाहिको भागिदार समेत हुने गर्दछ।

यूरोपमा यस्तै गरि कम्पनीहरुले अनधिकृतरुपमा प्रयोगकर्ताहरुको हरेक डाटा संकलन गर्न लागेपछि जिडिपिआरको कानून नै ल्याईएको थियो र व्यक्तिगत डाटाहरु संकलन गर्न रोक लगाईएको छ।

यूरोपमा जिडिपिआर पालन गर्नुपर्ने अन्तर्राष्ट्रिय ब्राण्ड वनप्लसले नेपालमा भने ईमेल ठेगाना त्यो पनि खुलारुपमा संकलन गरिरहेको हो।

वनप्लसको अहिलेको विषयमा जानकार भएको भन्दै यसरी व्यक्तिको ईमेल ठेगाना माग्नु कानूनी र नैतिकरुपमा गलत हुने सूचना प्रविधि कानूनका विज्ञ तथा अधिवक्ता बाबुराम अर्याल बताउँछन् ।

‘यो हामीकहाँ हुने माल प्राक्टिस हो, कुनैपनि लोभ देखाएर ईमेल ठेगाना संकलन गर्नु गलत हो,’ अधिवक्ता अर्यालले भने ।

यसरी अन्य उद्धेश्य राखेर मानिसहरुको ठेगाना संकलन गर्दा भोली ग्राहकहरुले सो ठेगाना दूरुपयोग भए नभएको बारेमा कानूनी कारबाहीमा जान सकिने उनले बताए ।

नेपालमा वनप्लस ब्राण्डका स्मार्टफोनहरु मुरारका ग्रुप अन्तरगतको आईहब प्रालिले बेच्ने गर्दछ। यसअघि पनि कम्पनीलाई विदेशी बजारमा भन्दा निकै महँगो मूल्य राखेर नेपाली ग्राहकहरुलाई फोन बेच्ने गरेको आरोप लाग्दै आएको छ।

easy care

प्रकाशित: ७ असार २०७७, आईतवार