Technology Khabar १ असार २०७७, सोमबार
काठमाडौं ।
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् ।
एन्ड्रोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको कम्पनीले दाबी गरेको छ ।
‘खल्ती’ले यो उचाइ तीन बर्षमै हासिल गरेको हो । प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ ।
आईओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै १ लाख पटक एपल डिभाइसहरूमा डाउनलोड भएको छ । वेवपेजबाट पनि अनलाइन पेमेन्ट गरिन्छ । मोवाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको कम्पनीले जानकारी दिएको छ ।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत बर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । विशुद्ध नेपाली नामलाइ ब्राण्ड बनाएर डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको ‘खल्ती’ शहरदेखि ग्रामिण भेगसम्म लोकप्रिय बन्न पुगेको छ ।
दैनिक जीवनमा मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेका छन् ।
खल्तिका निर्देशक अमित अग्रवालले भने, ‘छोटो समयमै ‘खल्ती’ले यत्रो लोकप्रियता हासिल गरेकामा हामी निकै उत्साहित भएका छौं । हामीलाई आम प्रयोगकर्ताले जुन विश्वास, भरोसा र माया गर्नु भएको छ, त्यसको हामी ऋणी भएका छौं । सरकारले डिजिटल प्रविधिबाट भुक्तानी प्रक्रियालाई प्रोत्साहन गरिरहेका बेला नेपालीले ‘खल्ती’लाई आफ्नो स्मार्ट फोनको अभिन्न एप बनाउनु भएकामा हामी उहाँहरूलाई धन्यवाद दिन चाहन्छौं ।’
‘खल्ती’ले बैंकिङ पहुँचमा नरहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याएर वित्तीय सेवा प्रदान गर्न अझै भूमिका खैल्ने कम्पनीले प्रण गरेको छ ।
कम्पनीले खल्ती नेपाली भर्सनमा पनि छिट्टै ल्याउने तयारी गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १ असार २०७७, सोमबार