कृषकलाई डिजिटल तथ्यांकमा समावेश गर्दै प्रविधिसँग जोड्नु आवश्यक रहेको विज्ञहरूको सुझाव

Technology Khabar १ असार २०७७, सोमबार

कृषकलाई डिजिटल तथ्यांकमा समावेश गर्दै प्रविधिसँग जोड्नु आवश्यक रहेको विज्ञहरूको सुझाव

काठमाडौं ।

नेपालमा करिब ७० प्रतिशत मानिसहरू आश्रित रहेको कृषि पेशा प्रविधिकोे प्रयोग, माग र आवश्यकता अनुसार प्रविधिमैत्री हुँदै जानुपर्नेमा शनिवार आयोजित डिजिटल संवादमा जोड दिइएको छ । कृषिको डिजिटलाइजेसन भनेको के हो ? यसका आयामहरू के के हुन, यसबाट कृृषकलाई के फाइदा हुन्छ तथा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा छलफल सम्पन्न भएको थियो ।

ब्लकचेन, कृषिमा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम डिजाइन गर्न, कृषिलाई विकास गर्दै डिजिटलाइजेसन गर्नुपर्ने आवश्यकता, यसको सम्भावना र चुनौतीको बारेमा पनि छलफलले जोड दिएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क २०१९ मा समेत कृषि क्षेत्रका पहलहरूमा प्रविधिको प्रयोग गरी कृषिमा लागत कम तथा प्रतिफल बढाउने कार्यक्रमहरू रहेका छन् ।

अब कृषिलाई उच्च प्राथमिकता दिएर युवालाई यसतर्फ आकर्षित गर्दै नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने पूर्वमन्त्री गणेश शाहले बताए । कृषिबाट उच्च फाइदा लिन आइसिटी महत्वपूर्ण टुल्सको रूपमा प्रयोग हुने शाहको भनाइ छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बिमप्रसाद श्रेष्ठले अरू देशहरू एग्रिकल्चर ४.० को अवधारणामा गइसकेको हुँदा हामीले पनि प्रविधि प्रयोगलाई अत्यावश्यक बनाउनुपर्ने बताए । कृषकका समस्याहरूको समाधान, निर्णय गर्नसक्ने वातावरण र उत्पादनको बजारीकरणको लागि आइसिटीको प्रयोग महत्वपूर्ण हुने उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्रालयका पूर्वसचिव जयमुकुन्द खनालले सरकारको योजना र कार्यान्वयनसँग किसानको आवश्यकता तालमेल नहुँदा उपलब्धि हासिल हुन नसकेको बताए । उनले कृषि मन्त्रालयले विभिन्न निकाय, निजी क्षेत्र र कृषकसँग समन्वय गर्दै प्रविधिमैत्री कृषि बनाउन काम गर्नुपर्ने सुझाव दिए ।

यसैगरी कृषि सूचना तथा तालिम केन्द्रका प्रमुख डा. श्रीराम घिमिरेले कृषककोे आवश्यकता र समयको माग अनुसार काम गर्न नसकेको स्वीकार गरे ।

उनले भने, ‘अब प्रादेशिक संरचनामा पनि तालिम केन्द्रहरू विकास भइरहेको हुँदा स्थानीय कृषकका समस्या समाधान र मागलाई सम्बोधन गर्न केन्द्रले मन्त्रालयसँग समन्वय गर्दै काम गर्नेछ ।

डिजिटल संवादको १२औं श्रृंखलामा कृषिमा डिजिटलाइजेसन विषयको कार्यक्रममा १ सय बढी सरोकारवाला, कृषक तथा जिज्ञासुहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव शवनम शिवाकोटीले सरकार डिजिटलाइजेसनको प्रोसेसमा सँगै रहेको र केही कामहरू अघि बढिसकेको बताइन् ।

उनले स्वयल म्यापिङ, रासायनियक मलको ट्र्याकिङ, डिजिटल इन्फरमेशन सिस्टमको विकास, रोगकिराको बारेमा अलर्ट गराउने जस्ता कामहरू सुरु भएको जानकारी दिइन् । विभिन्न निजी क्षेत्रबाट पनि कामहरू पनि भइरहेको बताउँदै शिवाकोटीले सेवाहरू एकीकृत गरेर वास्तविक कृषकलार्ई प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आर एण्ड डी इन्नोभेसनका सिइओ डम्बर खनालले बैंक, प्राविधिक, इन्सुरेन्स सेवाहरू कृषकसमक्ष पुग्न नसकेको र यसलाई सरलीकरण गर्न पनि डिजिटलाइजेसन आवश्यक रहेको बताए ।

प्रोसेस र मेकानिजम कम्प्लिकेटेड भएको कारण पनि कृषकलाई लक्षित सेवा दिन नसकेको बताउँदै खनालले भइरहेका एप सर्भिसहरूलाई एकीकृत गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

यसैगरी डिबिटुम्यापका राजनमान वज्राचार्यले कृषकको लागि प्लानिङ, डिसिजन सपोर्ट, एड्भाइजरी, एक्सटेन्सन सर्भिस र भर्चुअल मार्केटप्लेसको रूपमा डिजिटल प्रविधिले समाधान दिने बताए । ब्लकचेन, एआई, किसान कार्ड जस्ता प्रविधिको प्रयोग गर्दै एउटा उपयोगी प्लेटफर्म बनाएर काम गर्न सके प्रभावकारी हुन सक्ने वज्राचार्यको भनाइ थियो ।

कृषकलाई प्रविधिसँग जोड्न स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै फेदिखोला गाउँपालिकाका मेयर घनश्याम सुवेदीले प्रविधिलाई सरलीकरण गरेर हलो जोत्ने किसानसम्म सेवा पुग्नुपर्ने बताए ।

आफ्नो पालिकामा केही उदाहरणीय काम गरेको भन्दै सुवेदीले डिजिटल इन्फ्रास्ट्रक्चर र प्रविधिमैत्री कृषि साक्षरताको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

easy care

प्रकाशित: १ असार २०७७, सोमबार

ताजा समाचार