असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट विद्यालय कक्षा सञ्चालन गरिँदै (तालिका सहित)

Technology Khabar ३२ जेष्ठ २०७७, आईतवार

असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट विद्यालय कक्षा सञ्चालन गरिँदै (तालिका सहित)

सरकारले असारदेखि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरेर वैकल्पिक प्रणालीको माध्यमबाट कक्षाहरु सञ्चालन शुरु गर्ने भएको छ ।

कोरोना भाइसरको महामारीका कारण लकडाउन भएपछि देशभरका विद्यालयहरु खुल्न नसकेको अवस्थामा विभिन्न सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरेर देशभर पढाई हुनेभएको हो ।

सरकारले उपलब्ध सुबिधाको आधारमा दूर शिक्षा तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि अध्ययन अध्यापन गराउने तालिकासमेत सार्वजनिक भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालसम्म सिकाइ पोर्टल र स्वअध्ययन सामग्री तयार गरिसकेको छ भने कक्षा १ देखि ८ सम्मका पाठहरुको भिडियो सामग्री समेत तयार गरिसकेको छ।

असार १ गतेदेखि विभिन्न टेलिभिजन च्यानलहरुबाट विद्यार्थीहरुलाई अध्यापन गराईने सूचना केन्द्रको श्रव्यदृश्य शाखाले सार्वजनिक गरेको छ । जसमा नेपाल टेलिभिजनको एनटिभी प्लस,डिस होम, नेट टिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानलबाट श्रव्यदृश्य पाठ प्रशारण गराईने भएको छ।

तालिकाअनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई बिहान १० बजेदेखि बेलुका ३ बजेसम्मको तालिकाअनुसार हप्तामा सातै दिन कक्षा संचालन प्रशारणा हुनेछ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यहि जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो।

निर्देशिकाले उल्लेख गरेअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू प्रसारण हुन थालेका हुन्।

सो निर्देशिकामा पहुँचको अवस्थाअनुसार रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिने उल्लेख छ। निर्देशिकामा कुनैपनि किसिमको प्रविधिको पहुँच नभएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहहरुमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ। त्यसको लागि स्थानीय तहमा भएका र नजिक भएका शिक्षकहरुले विद्यार्थीहरुलाई सुरक्षितरुपमा सहजीकरण गर्नुपर्ने उल्लेख छ।

अनलाइनबाटै विद्यार्थीलाई पढाउन सकिने, यस्तो छ शिक्षा मन्त्रालयले ल्याएको सिकाइ निर्देशिका

अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षणअनुसार मुलुकभर सञ्चालित ३५ हजार ५२० विद्यालयमध्ये २९ हजार ६०७ सामुदायिक विद्यालय छन्। सामुदायिक विद्यालयमध्ये आठ हजार ३६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ। यी विद्यालयमध्ये तीन हजार ६७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन्। चालू आवमा थप ५३५ सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिसकिएको तथ्यांकमा उल्लेख छ।

शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ बजेदेखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ थालेका छन्।

जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४ दशमलव ६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विषयमा पढाइ गराइएको छ।

यसबाहेक विभिन्न रेडियो तथा टेलिभिजन च्यानलहरुले पनि नियमित कक्षा सञ्चालन प्रशारण गर्न थालेका छन् ।

गत चैत ११ गतेदेखि जारी भएको लकडाउनका कारण सबै तहका विद्यालयको पठनपाठन र परीक्षा स्थगित भएका छन्। अहिले अधिकांश विद्यालयहरुमा क्वारेन्टिन राखिएको हुँदा तत्काल  पढाई शुरु हुने अवस्था छैन् ।

यो पनि हेर्नुस्-

शिक्षा मन्त्रालयले भन्यो- अनलाइन कक्षाको नाममा कुनै शुल्क लिन पाईँदैन्

प्रकाशित: ३२ जेष्ठ २०७७, आईतवार

Comments are closed.

Loading...