Technology Khabar ३२ जेष्ठ २०७७, आईतवार
काठमाडौं ।
आजकाल तपाईँले स्मार्टफोन बजारमा धेरै विकल्पहरू भेट्टाउनुहुनेछ, बजारमा सस्तोदेखि निकै महंगाे मूल्यमा फोन बेच्नेगरि विभिन्न मोबाइल कम्पनीहरूको बाढी आएको छ र यसमा सबैभन्दा दबदबा चिनियाँ ब्राण्डहरुको रहेको छ ।
बजारमा सबै कम्पनीले आफूलाई अरू भन्दा राम्रो भएको दाबी गर्दछ, जसको कारण ग्राहकहरुलाई राम्रो स्मार्टफोन खरीद गर्न समस्या हुनेगरेकाे छ।
यस्तो अवस्थामा हामी तपाईंलाई केही महत्त्वपूर्ण कुरा भन्दै छौं जुन तपाईंलाई नयाँ राम्रो स्मार्टफोन खरीद गर्नको लागि सहयोगी हुनेछ।
स्मार्टफोनको बडी
यस समयमा, स्मार्टफोनको बडी ग्लास कोटिङ्गका साथ आउन शुरू भएको छ हेर्दा जुन राम्रो देखिन्छ तर यो निकै संवेदनशिल छ भने कम सुरक्षित छ। यस्तो ग्लास बडी भएका स्मार्टफोन भुईँमा खसेमा त्याे फुट्ने हुन्छ। यस्तो ग्लास बडी भएका फोनहरु महँगा हुने गर्दछन् ।
प्लास्टिकको बडी सुरक्षित र धेरै राम्रो हुन्छन् तथा खसे पनि फुट्दैनन्। यसैले प्लास्टिकको बडी भएका फोनहरू उत्तम र लामो अवधिसम्म चल्ने हुन्छन्।
स्मार्टफोनको डिस्प्ले र आकार
आजकल स्मार्टफोनमा फोन डिस्प्ले एकदम राम्रो देखिन थालेको छ, अब स्मार्टफोन केबल कल वा मेसेज गर्नका लागि मात्र सीमित छैन, यो मनोरञ्जनको साधन पनि भएको छ, साथै मानिसहरूले यसमा भिडियो सम्पादन गर्न पनि थालेका छन्। तसर्थ, यदि एक राम्रो स्मार्टफोनमा ५.५ इन्चदेखि ६ इन्चको फुल एचडी वा क्वाड एचडी डिस्प्ले छ भने यो उत्कृष्ट हुन्छ। कम्तिमा एचडी क्वालिटीको डिस्प्ले हुनु उपयुक्त हुन्छ ।
अर्कोतर्फ, यदि तपाईं कल र सन्देशहरूको लागि मात्र फोन प्रयोग गर्न चाहनुहुन्छ भने तपाईं ५ इन्च डिस्प्ले भएको स्मार्टफोन छनौट गर्न सक्नुहुनेछ।
क्यामराको गुणस्तर
आजकल कम्पनीहरूले आफ्नो स्मार्टफोनलाई क्यामरामा बढी केन्द्रित गरिरहेका छन्। धेरै कम्पनीहरूले अधिक मेगापिक्सेल र जूमको बारेमा कुरा गर्छन् तर यो सबै भ्रामक हुन्। वास्तविकता के हो भने कम्पनीहरू जसले तपाईंलाई फोन बेच्छन् र भन्छन् कि हाम्रो स्मार्टफोन २०एक्स, ३० एक्स वा अधिक जूम गर्दछ, तर तपाईँ त्यसमा ध्यान नदिनुस् । किनकि यति धेरै जूमले पिक्सेल फाट्न थाल्छ र तस्बिर स्पष्ट हुँदैन, १० एक्स जूमसम्म फोटो क्लिक गर्दा फोटो ठिकठाक हुन्छ।
यसका साथै अधिक मेगापिक्सेलको क्यामरा फोनको चक्करमा जानु हुँदैन, किनकि अधिक पिक्सेल जब तपाईँले ठूला पोस्टरहरू प्रिन्ट गर्नुपर्ने हुन्छ त्यसबेला मात्र उपयुक्त हुन्छ । यदि तपाईँको फोटोहरू केबल तपाईको स्मार्टफोन वा ल्यापटपमा मात्र हेर्न चाहेको हो भने यसको लागि कम्तिमा १२ मेगापिक्सेल क्यामेरा सहितको स्मार्टफोनले पनि धेरै राम्रो नतीजा दिन्छ। फोटोको क्वालिटी यसको लेन्स, अपार्चर र आईएसओ लेभलमा निर्भर गर्दछ। धेरै मेगापिक्सेल क्यामरा भएको फोनहरू व्यवसायीक फोटोग्राफी गर्नेहरूले मात्र खरीद गर्दा हुन्छ।
कुन प्रोसेसरहरू छान्ने
स्मार्टफोन बजारमा अब ५जी प्रोसेसर भएको स्मार्टफोन भित्रिसकेको छ, तर नेपालमा ५जी प्रविधि नै उपलब्ध छैन, त्यसैले ५ जी स्मार्टफोन किन्नुको कुनै फाइदा छैन्। यदि तपाईं मल्टी टास्क गर्नऽ गेमिङ्गको लागि वा सम्पादनलगायतका काम गर्न चाहनुहुन्छ भने एक ससक्त र किफायती प्रोसेसरको साथ स्मार्टफोन खरीद गर्ने सोच्दै हुनुहुन्छ भने, कम्तिमा क्वालकम स्न्यापड्रागन ६०० सिरिजको प्रोसेसर तपाईंको फोनमा हुनुपर्छ। तर दैनिकरुपमा सामान्य प्रयोगको लागि मात्र फोन किन्ने हो भने मिडिया टेक प्रोसेसर राम्रो हो।
ब्याट्रीको क्षमता
आजकाल मानिसहरूले स्मार्टफोन धेरै प्रयोग गर्न थालेका छन्। समय कटाउन स्मार्टफोन पनि प्रयोग भईरहेको छ। यस्तो अवस्थामा अहिले कम्पनीहरूले फोनमा पावरफुल ब्याट्री राख्न थालेका छन् । केहि फोनहरुमा ६००० एमएएच सम्मका ठूला ब्याट्रीहरू दिन थालेका छन्। तर तपाईले जुनसुकै फोन किने पनि कम्तिमा ४००० एमएएचको ब्याट्री हुनु राम्रो हुन्छ।
स्मार्टफोनमा अपरेटिङ्ग प्रणाली
बजारमा हाल एन्ड्रोइड १० संस्करणका एन्ड्रोइड स्मार्टफोनमा आईरहेका छन् । र एन्ड्रोइड ११ अपरेटिङ्ग प्रणाली आउने तयारीमा छ । जबकि केही कम्पनीहरूको स्मार्टफोन अझै एन्ड्रोइडको पुरानो संस्करणमा चलिरहेको देखिन्छ र त्यसलाई बजारमा बिक्रीका लागि केहि कम दाममा राखिएको छ । तर नयाँ फोन किन्दा सो स्मार्टफोनमा कम्तिमा एन्ड्रोइड ९.० राखिएको हुनुपर्छ।
यी उल्लेखित कुराहरुमा ध्यान दिनुभयो भने तपाईँले सूपथ र किफायती मूल्यमा उत्कृष्ट स्मार्टफोन किन्न सक्नुहुनेछ ।
प्रकाशित: ३२ जेष्ठ २०७७, आईतवार