कोभिड-१९ महामारी पछिको बदलिँदो परिवेशमा दूरसञ्चार क्षेत्र र व्यावसायिक संभावना

Technology Khabar ३१ जेष्ठ २०७७, शनिबार

कोभिड-१९ महामारी पछिको बदलिँदो परिवेशमा दूरसञ्चार क्षेत्र र व्यावसायिक संभावना
Classic Tech
Nepal Telecom

-नेपाल टेलिकमका सह प्रवक्ता कृष्ण प्रसाद भण्डारीको लेख
 

मानव जीवनका सबैजसो पक्षहरू अहिले कोभिड-१९ महामारीको चपेटामा आएका छन्। करीब ६ महिना देखि चीनबाट शुरु भएर युरोप हुँदै हाल संसारभर फैलिएको कोरोना भाइरस महामारीले अधिकांश देशमा आर्थिक, व्यावसायिक तथा सामाजिक गतिविधिहरूमा लगभग पूर्णविराम लगाएको छ । रोगबाट संक्रमित र हताहत हुनेको संख्या बढेसँगै धेरै देशमा लकडाउनको अवस्था रहेको छ । चीन र युरोपमा संक्रमण घट्दो क्रममा रहे पनि अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरू रहेको दक्षिण अमेरिका, एशिया र अफ्रिकामा यो महामारी फैलिंदो क्रममा छ ।

यसरी समग्र मानवीय गतिविधि वन्दप्रायस् हुँदा अन्य व्यावसायिक क्षेत्र जस्तै दूरसञ्चार क्षेत्र पनि प्रभावित बनेको छ । तर प्रविधिको उच्च प्रयोग हुने र लकडाउनमा पनि उपभोक्ताले प्रयोग गरिरहने अत्यावश्यक सेवा भएको कारण अन्य क्षेत्रमा जस्तो उच्च नकारात्मक प्रभाव भने दूरसञ्चार क्षेत्रमा परेको छैन।

राजस्वको हिसाबले बढी फाइदाजनक हुने कर्पोरेट क्षेत्रमा दूरसञ्चार सेवाको उपयोग घट्ने हुँदा सेवा प्रदायकको आम्दानी उल्लेख्य रूपमा प्रभावित हुने अनुमान गर्न सकिन्छ

विश्व दूरसञ्चार क्षेत्रमा कोभिड-१९ को प्रभाव
आम नागरिकहरू आ-आफ्नो घरमा वस्नुपरेको कारण विश्वका अधिकांश स्थानमा व्यक्तिगत दूरसञ्चार सेवाको खपत बढेको छ तर व्यावसायिक गतिविधि घटेको कारण उच्च राजस्व आउने व्यावसायिक क्षेत्रको उपयोग घटेको देखिन्छ।

अप्रिल २०२० मा व्यावसायिक परामर्शदाता संस्था एनालिसिस मेसनले प्रकाशित गरेको आंकडा अनुसार विकसित देशमा दूरसञ्चार क्षेत्रको वार्षिक राजस्व ३/४ प्रतिशतले घट्ने अनुमान गरेको भएपनि लकडाउन लम्बिँदै गएर व्यावसायिक गतिविधिको शिथिलता बढ्दै जाँदा सो कमीको अनुपात निश्चित रुपमा बढ्ने देखिन्छ। व्यक्तिगत र आवासीय प्रयोगमा आउने सेवाहरूको प्रयोगमा वृद्धि भएपनि राजस्वको हिसाबले बढी फाइदाजनक हुने कर्पोरेट क्षेत्रमा दूरसञ्चार सेवाको उपयोग घट्ने हुँदा सेवा प्रदायकको आम्दानी उल्लेख्य रूपमा प्रभावित हुने अनुमान गर्न सकिन्छ ।

उच्च छुट, विशेष प्याकेज तथा व्यावसायिक एवम् कर्पोरेट प्रयोग घटेको कारण राजस्वमा भने सेवा प्रदायकहरूले उल्लेख्य कमी ब्यहोर्नु परेको छ

नेपाली दूरसञ्चार क्षेत्रमा कोभिडको प्रभाव
विश्वभरका दूरसञ्चार सेवाहरु प्रभावित भएजस्तै नेपालको दुरसञ्चार क्षेत्रमा पनि लकडाउनको कारण उल्लेख्य प्रभाव परेको छ। नेपाली दूरसञ्चार क्षेत्रको राजस्वका प्रमुख श्रोतहरू मध्ये रहेको अन्तर्राष्ट्रिय कलमा देश भित्र र बाहिर पनि व्यावसायिक गतिविधि निकै कम भएकोले उल्लेख्य कमी आउने अनुमान गर्न सकिन्छ। साथै आन्तरिक बजारमा पनि उपभोक्ताहरू आ-आफ्नो घरमा नै बस्ने हुँदा फोन कल गर्ने क्रम घट्नु स्वाभाविक हो ।

व्यावसायिक कलहरू त झन् प्रभावित हुने नै भए । इन्टरनेट र डाटा सेवाको खपत भने उल्लेख्य रूपमा बढेको पाइन्छ तर लकडाउनको अवस्थामा उपभोक्तालाई राहत दिने धेयले ल्याइएका किफायती प्याकेजहरू तथा विशेष छुटको व्यवस्था आदिले गर्दा डाटा खपत बढेको अनुपातमा राजस्व भने बढेको पाईँदैन ।

ब्रोडब्याण्ड सेवा तर्फ भने उपभोक्ताहरू र खासगरी विद्यार्थी बर्गहरू घरमा सीमित रहेकोले मनोरन्जन, भिडियो गेम, अनलाइन भिडियो, सामाजिक सञ्जाल आदिको उच्च प्रयोगको कारण माग तथा उपभोग दुबै उल्लेख्य रुपमा बढेको छ । पछिल्ला दिनहरुमा घरबाट काम गर्ने तथा अनलाईन मार्फत पठन पाठन समेत हुने क्रम बढेकोले ब्रोडब्याण्ड तथा मोबाइल डाटा दुबैको प्रयोगमा अझ वृद्धि ल्याएको छ ।

यसरी डाटा सेवाको खपत विविध कारणवश बढे पनि उच्च छुट, विशेष प्याकेज तथा व्यावसायिक एवम् कर्पोरेट प्रयोग घटेको कारण राजस्वमा भने सेवा प्रदायकहरूले उल्लेख्य कमी ब्यहोर्नु परेको छ । समग्रमा हेर्दा यसको प्रभाव सबै दूरसञ्चार सेवा प्रदायकहरुको आम्दानीमा पर्नेछ भने यसले सरकारको वार्षिक राजस्वमा पनि असर देखिनेछ ।

भिडियो, अनलाईन गेम, सामाजिक सञ्जाल, अनलाईन शिक्षा, वर्क फ्रम होम जस्ता प्रयोजनमा मोबाइल तथा ब्रोडब्याण्ड डाटाको खपत भैरहने हुँदा सो सेवाहरूको माग र उपभोग ठूलो मात्रामा प्रभावित भएको छैन

दूरसञ्चार क्षेत्रका सबल पक्षहरू
लकडाउनको कारणले उल्लेख्य रूपमा प्रभावित भएको भएपनि दूरसञ्चार क्षेत्रको व्यवसाय अन्य कतिपय क्षेत्रको तुलनामा राम्रै चलेको मान्नुपर्छ । पर्यटन, यातायात तथा परिवहन, शिक्षा, स्वास्थ्य, अतिथि सत्कार जस्ता क्षेत्रमा जस्तो ढाडै भाँच्ने खालको असर दुरसञ्चार क्षेत्रमा परेको छैन । यसको कारण यो क्षेत्रको सञ्चालनमा बढी मानिस परिचालन गर्नु नपर्ने र उपभोक्ताले पनि प्रयोग गर्न छोड्न नसक्ने भएर पनि हुन सक्छ ।

घरमै बसेपनि र काममा जानु नपरे पनि भिडियो, अनलाईन गेम, सामाजिक सञ्जाल, अनलाईन शिक्षा, वर्क फ्रम होम जस्ता प्रयोजनमा मोबाइल तथा ब्रोडब्याण्ड डाटाको खपत भैरहने हुँदा सो सेवाहरूको माग र उपभोग ठूलो मात्रामा प्रभावित भएको छैन । ब्रोडब्याण्ड र मोबाइल डाटाको खपत त झन् बढेको छ, राजस्व सोहि अनुरुप नबढेपनि । तर दूरसञ्चार क्षेत्रमा आवश्यक हुने ठूलो लगानी तथा निरन्तर मर्मत सम्भार एवम् सञ्चालनको लागि लाग्ने खर्चको कारण लकडाउन बढ्दै जाँदा नकारात्मक प्रभाव पनि अझ गहिरो हुँदै जाने भने निश्चित छ ।

विद्युतीय कारोबार सञ्चालन गर्न, भुक्तानी लिन वा दिन, अनलाईन मार्फत प्रचार प्रसार गर्न समेत दूरसञ्चार सेवाको भूमिका उल्लेख्य रहेको छ

लकडाउनमा दूरसञ्चार क्षेत्रको भूमिका
सेवाग्राहीहरू घरमै सीमित हुनुपर्दा सञ्चार र मनोरञ्जनको साधन नै इन्टरनेट हुनपुग्यो । जसले गर्दा विश्वभर दूरसञ्चार सेवाको माग विशेषगरि इन्टरनेटको उच्च रह्यो । त्यसैगरि घरबाटै अनलाईन शिक्षा लिन पनि मोबाइल तथा घरायसी ब्रोडब्याण्ड सेवाले सहयोग गर्‍यो । उच्च गतिको इन्टरनेट सेवाको कारण नै ठूलो संख्यामा पेशाकर्मीहरूले घरबाट नै कार्यालयको काम गर्न सके । कार्यक्षेत्रमा खटिएरै गनुपर्ने भौतिक काम बाहेक प्रशासनिक, व्यावसायिक, नेटवर्क, सफ्टवेयर, परामर्श, कल सेन्टर, गुनासो व्यवस्थापन, मिडिया व्यवस्थापन आदि कार्य आ-आफ्नो निवासबाट नै सम्पन्न गर्न पनि गुणस्तरीय इन्टरनेट कनेक्सनले सम्भव बनाएको छ ।

कार्यालयमा नियमित हुने छलफल, बैठक, परामर्श आदि पनि विद्युतीय माध्यमबाट गर्नको लागि इन्टरनेटको भरपुर प्रयोग भएको पाइन्छ । यसरी लकडाउनको अवस्थामा व्यावसायिक तथा अन्य पेशागत गतिविधि सञ्चालन गर्न मोबाइल तथा तारसहितको ब्रोडब्याण्ड सेवाको महत्वपूर्ण योगदान र भूमिका रहेको छ ।

विद्युतीय कारोबार सञ्चालन गर्न, भुक्तानी लिन वा दिन, अनलाईन मार्फत प्रचार प्रसार गर्न समेत दूरसञ्चार सेवाको भूमिका उल्लेख्य रहेको छ । त्यसैगरी कोभिडको महामारीमा स्वास्थ्य क्षेत्रको काम थप प्रभावकारी बनाउनको लागि संक्रमितहरूको गतिविधि तथा अवस्थितिको निर्क्यौल गर्न समेत खासगरी मोबाइल दुरसञ्चार सेवा प्रणाली तथा त्यसबाट प्राप्त हुने विवरणको विश्वभर जस्तै नेपालमा पनि केहि हदसम्म प्रयोग भएको छ ।

आर्थिक पुनरुत्थानमा दूरसञ्चारको भूमिका
कोभिडको कारण जनजीवनमा तथा अर्थतन्त्रमा पर्ने तात्कालिक र प्रत्यक्ष असरको साथै दूरगामी असरहरू पनि धेरै हुन सक्छन् । उद्योग व्यवसाय तथा कारोबार सञ्चालन गर्ने एवम् जनशक्ति परिचालन गर्ने प्रथामा आमूल परिवर्तन आउने संभावना देखिन्छ । पर्यटन, यातायात, अतथि सत्कार, खानपान आदि आम मानिसको बाह्य गतिविधि र घुमफिरमा आधारित व्यापार व्यवसायले कोभिड अघिको स्तरको गतिशिलता पुनस् प्राप्त गर्न लामो समय लाग्ने देखिन्छ भने कतिपय क्षेत्रको पद्धति र तरिका नै आमूल परिवर्तन समेत हुने सम्भावना देखिएको छ ।

दूर शिक्षा, दूर स्वास्थ्य, घरबाट काम गर्ने जस्ता पक्षहरू थप प्रबल र व्यापक हुँदै जाने स्पष्ट संकेतहरू देखिन थालेका छन् । यी सबै परिवर्तनको सबलिकरण गर्न र त्यसलाई व्यावहारिक रुपमा सफल बनाउन दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको मुख्य भूमिका हुनेछ । प्रथमतः नयाँ परिवेशमा रिमोट वर्क, वर्क फ्रम होम, अनलाईन शिक्षा आदिको लागि आवश्यक ब्रोडब्याण्ड र दूरसञ्चार सेवा प्रदान गर्ने जिम्मेवारी पनि यहि क्षेत्रको हुनेछ ।

लकडाउनको कारण शिथिल भएको व्यावसायिक परिदृष्यमा सीमित मात्रामा भएपनि सरकारी राजस्व तथा अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने धेरै कम क्षेत्रहरू मध्ये दूरसञ्चार क्षेत्र पनि हुनेछ । यसकारण पनि समग्र आर्थिक गतिविधि चलायमान राख्न तथा अर्थतन्त्रलाई भरथेग गर्न यसको महत्त्वपूर्ण भूमिका रहने देखिन्छ ।

वर्क फ्रम होम लगायतका प्रयोजनको लागि आवश्यक पर्ने क्लाउड प्लेटफर्ममा आधारित सफ्टवेयर र स्टोरेज सुविधाहरू, सोको सुरक्षाको लागि आवश्यक भिपिएन र फायरवाल लगायतका सिस्टमहरू उपलब्ध गराउने छन्

भविष्यको व्यावसायिक वातावरण र दूरसञ्चार
कतिपय दूरसञ्चार सेवा प्रदायकहरूले कोभिड पछिको व्यावसायिक र सामाजिक जनजीवनलाई दृष्टिगत गरी आफ्ना गतिविधि सञ्चालन गर्न शुरु गरिसकेको पाइन्छ । मोबाइल तथा तारसहितको ब्रोड्ब्याण्डमा प्रदान गरिएका विशेष दूर शिक्षा तथा वर्क फ्रम होम प्याकेजहरु यसको सर्वाधिक सहज र सरल उदाहरण हरू हुन् । विगतमा कर्पोरेट ग्राहकहरूलाई लिज लाईन वा इन्ट्रानेट सेवा प्रदान गर्ने सेवा प्रदायकहरूले विशेष रुपमा तयार गरिएका वर्क फ्रम होम प्रोडक्टहरू बजारमा ल्याउन थालिसकेका छन् ।

उदाहरणको लागि भारतीय कम्पनी ‍एयरटेलले आफ्ना भिडियो स्ट्रिमिङ्ग, इन्ट्रानेट र भिपिएन मिश्रित प्याकेजहरूलाई घरमा बसीबसी मनोरन्जन गर्न, कार्यालयको काम गर्न तथा शिक्षण सिकाई गर्नको लागि भनेर प्रवर्द्धन गर्न थालिसकेको छ । अन्य सेवा प्रदायकहरूले पनि त्यस्तै खालका अफरहरू ल्याएर नयाँ परिवेशमा आफ्नो उपस्थिति देखाउन पछि परेका छैनन् ।

दीर्घकालीन रूपमा अनुमान गर्दा दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरूले वर्क फ्रम होम लगायतका प्रयोजनको लागि आवश्यक पर्ने क्लाउड प्लेटफर्ममा आधारित सफ्टवेयर र स्टोरेज सुविधाहरू, सोको सुरक्षाको लागि आवश्यक भिपिएन र फायरवाल लगायतका सिस्टमहरू, दुर शिक्षा र ई-स्वास्थ्यको लागि आवश्यक कनेक्टिभिटि तथा डिजिटल सामग्रीहरू, प्राविधिक परामर्श लगायतका सेवा सुविधा एकीकृत रूपमा एकद्वार प्रणालीबाट उपलब्ध गरी नया जमानाको काम गराई तथा व्यावसायिक एवम् व्यक्तिगत गतिविधिलाई पूर्णता दिन महत्वपूर्ण काम गर्नेछन् ।

सो सँगसँगै ती सेवा प्रदायकलाई घट्दो रूपमा रहेको परम्परागत आयलाई प्रतिस्थापन गरी आफ्नो व्यवसाय थप नाफामूलक बनाउन समेत सहयोग पुग्ने अनुमान गर्न सकिन्छ । यसरी समयसापेक्ष रूपमा बजारको माग एवम् आवश्यकताको आधारमा आफ्नो व्यावसायिक परिदृष्य परिवर्तन गर्ने क्षमतामा नै उक्त कम्पनीको दीर्घकालीन भविष्य जोडिनेछ ।

TK Viber

प्रकाशित: ३१ जेष्ठ २०७७, शनिबार

Comments are closed.

Loading...