ताम्राकार कम्प्लेक्समा आजदेखि मोबाइल कारोबार खुल्यो, अब दैनिक ३ घण्टा व्यापार गरिने

Technology Khabar २७ जेष्ठ २०७७, मंगलवार

ताम्राकार कम्प्लेक्समा आजदेखि मोबाइल कारोबार खुल्यो, अब दैनिक ३ घण्टा व्यापार गरिने
फाइल तस्वीर

काठमाडौं ।

मोबाइल कारोबार र व्यवसायको मुख्य केन्द्रमा रहेको ताम्राकार कम्प्लेक्सले आजदेखि कारोबार पुनः शुरु गरेको छ ।

देशभर लकडाउन भएसँगै गत चैत ११ गतेदेखि बन्द रहेको ताम्राकार कम्प्लेक्सका व्यवसायीहरुले आजदेखि कारोबार खोलेका हुन् ।

ताम्राकारमा व्यवसाय गर्ने व्यवसायीहरुको संस्था मोबाइल व्यापार संघको गत आईतवार बसेको भेलाले मंगलबारदेखि बजार खुला गर्ने निर्णय गरेको थियो । सोहि अनुसार आजदेखि व्यापार कारोबार शुरु गरिएको जानकारी दिएको छ ।

संघका अध्यक्ष जगत साउदले आज निश्चित समयसम्म बजार खोलेर कारोबार गरेको जानकारी दिए ।

‘हामीले तोकिएको समयाबधिसम्म कारोबार गर्नेगरि कम्प्लेक्समा व्यवसाय खोलेका छौं, अब भोलीदेखि निरन्तर खोल्नेछौं,’ अध्यक्ष साउदले भने ।

उनकाअनुसार आज १० देखि १२ बजेसम्म मोबाइल पसलहरु खोलिएको थियो भने भोलीबाट दैनिकरुपमा बिहान ९ देखि १२ बजेसम्म पसलहरु खोलिनेछन् ।

ताम्राकार कम्प्लेक्समा मोबाइल खरिदका लागि जाने ग्राहकहरुले भने अनिवार्य मास्क लगाउनुपर्ने र स्यानिटाइजरको प्रयोग गराईने छ भने निश्चित दूरीबाट मात्र सामाग्रीहरु किनबेच गरिने व्यवस्था गरिएको छ ।

अध्यक्ष साउदकाअनुसार व्यापार नभएपनि ग्राहकहरुलाई कम्प्लेक्स खुला भएको जानकारी हुने र यसले अर्को महिनादेखि व्यापार सहज बनाउनेछ ।

उनले प्रहरी प्रशासनसँग पनि यसको लागि सहकार्य गरिने जानकारी दिए ।

Global Bank
easy care

प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार

ताजा समाचार