पछिल्लो प्रत्येक महिनामा बजार हिस्सा गुमाउँदै नेपाल टेलिकम, एनसेललाई भने फलिफाप

Technology Khabar २६ जेष्ठ २०७७, सोमबार

पछिल्लो प्रत्येक महिनामा बजार हिस्सा गुमाउँदै नेपाल टेलिकम, एनसेललाई भने फलिफाप

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले पछिल्लो २ महिनामा आफ्नो बजार हिस्सा ह्वात्तै गुमाएको छ । कम्पनीले गएको २०७६ माघदेखि चैत महिनाको अवधिमा आफ्नो बजार हिस्सा गुमाएको छ ।

नेपाल टेलिकमले गुमाएको बजार हिस्सा भने अन्य दुई कम्पनीहरुले आपसमा बाँडेर लिएका छन् ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको फागुन र चैतको तथ्यांकअनुसार नेपाल टेलिकमले दुई महिनामा ३ प्रतिशत भन्दा बढिले बजार हिस्सा गुमाएको छ ।

गत माघमा कम्पनीको बजार हिस्सा ५३.७० प्रतिशत रहेकोमा कम्पनीको बजार हिस्सा गत वर्षको अन्त्यसम्ममा ३.०१ प्रतिशतले घटेर ५०.६९ प्रतिशतमा झरेको छ ।

फागुनमा कम्पनीको बजार हिस्सा अझ धेरै प्रतिशतले घटेको देखिन्छ । माघ महिनाको तुलनामा फागुनमा ३.४५ प्रतिशतले बजार हिस्सा गुमाउँदै ५०.२८ प्रतिशत रहेको छ ।

गएको माघ महिनामा टेलिकमको बजार हिस्सा ५३.७० प्रतिशत हुँदा एनसेल प्रालिको बजार हिस्सा ४१.२६ प्रतिशत थियो भने स्मार्ट टेलिकम प्रालिको बजार हिस्सा ५.०३ प्रतिशत रहेको थियो ।

तर गत वर्षको अन्त्यसम्ममा नेपाल टेलिकमको बजार हिस्सा ५०.६९ प्रतिशत रहेको छ भने एनसेलको बजार हिस्सा बढेर ४३.८५प्रतिशत रहेको छ । त्यस्तै स्मार्ट टेलिकमको बजार हिस्सा बढेर ५.४५ प्रतिशत रहेको छ ।

दुई महिनाको अवधिमा नेपाल टेलिकमले ३ प्रतिशत बजार हिस्सा गुमाउँदा प्रतिस्पर्धी कम्पनी एनसेलले भने सो अवधिमा आफ्नो बजार हिस्सा २.५९ प्रतिशतले बढाउन सफल भएको छ ।

नेपाल टेलिकमले गुमाएको बाँकी हिस्सा स्मार्ट टेलिकमको भागमा परेको छ ।

माघ महिनाको बजार हिस्सा
चैत महिनाको बजार हिस्सा

पुस महिनाको तुलनामा हेर्दा

प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा पुसको आधारमा हेर्ने हो भने त टेलिकमको बजार हिस्सा गुमाउने प्रतिशत अझ उच्च देखिन्छ । चालु वर्षको अर्धवार्षिक अर्थात पुस महनिासम्म कम्पनीको बजार हिस्सा ५५.३९ प्रतिशत रहेको थियो ।

तर चैत्रमा सो बजार हिस्सा एकैपटक ५०.६९ प्रतिशतमा झर्दा करिब ३ महिनाको बिचमा टेलिकमले ४.७ प्रतिशतले बजार गुमाएको देखिन्छ ।

टेलिकमले सो ३ महिनाको अवधिमा गुमाएको बजार हिस्सा अधिकांश एनसेलले लगेको देखिन्छ । सो अवधिमा एनसेलले आफ्नो बजार हिस्सा ४.१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

अर्को कम्पनी स्मार्टले भने सो ३ महिनाको अवधिमा ०.६ प्रतिशत बजार हिस्सा बढाउन सकेको देखिन्छ ।

दूरसंचार सेवाको समग्र अवस्था

यसैबिच सार्वजनिक तथ्यांकअनुसार चैत महिनामा दूरसंचार सेवाको पहुँच समग्रमा १२९.४६ प्रतिशत रहेको छ भने मोबाइल टेलिफोनको पहुँच १२६.८२ प्रतिशत रहेको छ । जबकि माघ महिनामा समग्र पहुँच १२९.७९ प्रतिशत थियो भने मोबाइल सेवाको पहुँच १२६.८२ प्रतिशत रहेको थियो ।

चैत महिनामा ब्रोडब्याण्ड सेवाको पहुँच ७३.३५ प्रतिशत पुगेको छ भने मोबाइल ब्रोडब्याण्डको पहुँच ५५.२९ प्रतिशत रहेको छ । यसअघि फागुन महिनाको तथ्यांकअनुसार ब्रोडब्याण्ड सेवा ७३.१४ प्रतिशत तथा मोबाइल ब्रोडब्याण्ड ५५.३८ प्रतिशत रहेको थियो ।

मोबाइल ब्रोडब्याण्डको पहुँच झिनो मात्राले घट्नुमा थ्रीजी र फोरजी सेवाको प्रहुँचमा आएको कमीले गर्दा भएको देखिन्छ ।

माघ महिनामा नेपाल टेलिकमको जीएसएम सेवाग्राहीहरु १ करोड ९८ लाख ६५ हजार २८६ जना थिए भने सो संख्या फागुनमा घटेर १ करोड ७० लाख २९ हजार ९६९ पुगेको थियो भने चैतमा केहि सुधार हुँदै १ करोड ७१ लाख ३९ हजार १६१ जना रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: २६ जेष्ठ २०७७, सोमबार