अर्थमन्त्री डा. खतिवडाले भने- भर्चुअल करेन्सी बारे लगानीकर्ताहरुबिच सचेतना फैलाऔं

Technology Khabar २५ जेष्ठ २०७७, आईतवार

अर्थमन्त्री डा. खतिवडाले भने- भर्चुअल करेन्सी बारे लगानीकर्ताहरुबिच सचेतना फैलाऔं
फाइल

काठमाडौं ।

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले क्रिप्टोकरेन्सीजस्ता भर्चुअल मुद्राको कारोबार गर्न सकिने तर्फ ईंगित गर्दै त्यसबारेमा सचेतना फैलाउनुपर्ने बताएका छन् ।

आईतवार भर्चुअलरुपमा आयोजना गरिएको नेपाल धितोपत्र बोर्डको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै खतिवडाले अहिलेको बदलिँदो परिस्थितिमा कारोबारहरु भर्चुअल मुद्राबाट समेत गर्नुपर्ने अवस्था देखिएको भन्दै त्यसलाईसमेत अघि बढाउनेगरी नियमनकारी निकायहरुको समन्वय र क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

सूचना प्रविधिले ल्याउने नयाँ उपकरणहरु, अहिले भर्चुअल करेन्सीहरु, भर्चुअल हाम्रा ट्रेण्डहरु, अहिलेको क्राउड सोर्सिङदेखि क्लाउड सोर्सिङसम्मको हाम्रा वित्तिय उपकरणहरुको बारेमा पनि निरन्तर सचेतना फैलाउने बारेमा क कसले के गर्नुपर्ने हो त्यो पनि कार्य बिभाजन गरेर जनतालाई सुसुचित गर्नुपर्यो,’ अर्थमन्त्री खतिवडाले भने ।

कार्यक्रममा खतिवडाले अहिले पूँजीबजारमा साक्षरता समेत निकै कम भएको भन्दै त्यसले शेयरलगानीकर्तालाई जोखिम बढाउन सक्ने बताए । त्यसको लागि बोर्डको ध्यान जानुपर्नेमा उनले जोड दिए ।

कमोडिटिज बजारको सञ्चालन र नियमनलाई छिटो अघि बढाउन बोर्डलाई अर्थमन्त्रीले निर्देशन दिए ।

अर्थमन्त्री खतिवडाले भर्चुअल करेन्सीको बारेमा कुरा गरेपनि नेपाल राष्ट्र बैंकले बिगत ३ वर्षदेखि नेपाल भित्र भर्चुअल प्रकारका कुनैपनि मुद्राको कारोबार वा माइनिङ गर्न प्रतिबन्ध लगाएको छ ।

हाल विश्वभर बिटक्वाइन, इथेरियम जस्ता हजारौं क्रिप्टोकरेन्सी र भर्चुअल करेन्सीहरुको प्रचलन छ। भारतमा भने सर्वोच्च अदालतको आदेशपछि केहि समयअघि मात्रै यस्तो प्रतिबन्ध हटाउन सरकारलाई आदेश दिएको छ ।

easy care

प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार