ताम्राकार कम्प्लेक्सका व्यवसायीहरुले मंगलबारदेखि मोबाइल कारोबार शुरु गर्दै

Technology Khabar २५ जेष्ठ २०७७, आईतवार

ताम्राकार कम्प्लेक्सका व्यवसायीहरुले मंगलबारदेखि मोबाइल कारोबार शुरु गर्दै
फाइल तस्वीर

काठमाडौं ।

कोरोनाभाइरस कोभिड-१९ को महामारीले गर्दा सरकारले गत २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन गरेसँगै ताम्राकार कम्प्लेक्स बन्द रहेकोमा अब भने खोल्ने तयारी भएको छ ।

सरकारले अनौपचारिकरुपमा लकडाउन खुकुलो बनाएसँगै ताम्राकार कम्प्लेक्समा व्यवसाय पनि संचालनमा आउने भएको छ ।

मोबाइल व्यापारको केन्द्रिय हबको रुपमा रहेको कम्प्लेक्सका व्यवसायीहरुले मंगलबारदेखि निश्चित समय तोकेर व्यापार शुरु गर्न लागेका हुन् । व्यवसाय शुरु गर्न आईतबार बसेको बैठकमा सम्पूर्ण सरोकारबाला व्यवसायी र पसल धनीहरुबिच सहमति भएको छ ।

कम्प्लेक्सका व्यवसायीहरुले मंगलबारदेखि निश्चित समय बिहान ९ बजेदेखि दिउँसो १२ बजेको समयावधिसम्म कारोबार संचालन गर्ने भएका हुन् ।

‘कम्प्लेक्सका व्यवसायीहरुको संगठन मोबाइल व्यापार संघले आज सबैसँग सामूहिक छलफल राखेका थियौं, पर्सी मंगलबारदेखि व्यापार शुरु गर्ने सहमति भएको छ,’ संघका अध्यक्ष जगत साउदले टेक्नोलोजीखबरलाई भने ।

सोमबार भने सरसफाई गरिने र व्यवसायीबिच थप छलफल गरेर नियमहरु बनाउने योजना रहेको उनले बताए ।

अध्यक्ष साउदकाअनुसार सुरक्षा र सरसफाईक‍ो लागि निश्चित नियमहरुका साथ कारोबार गरिनेछ भने पसलका स्टाफहरु र ग्राहकहरुले सो नियम अनिवार्य पालना गर्नुपर्नेछ ।

गत चैत ११ देखि भएको लकडाउनका कारण देशभर व्यापार व्यवसाय ठप्प रहेको छ भने मोबाइल कारोबार पनि औपचारिकरुपमा बन्द रहेको छ ।

जसका कारण मोबाइल व्यापारको प्रमुख हिस्सा ओगटने पाको न्यूरोड क्षेत्रका मोबाइल पसलहरु समेत बन्द रहेका थिए ।

Global Bank
easy care

प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार

ताजा समाचार