अमेरिकी राष्ट्रपति ट्रम्पले नै भ्रामक ट्वीट गरेको भन्दै ट्विटरले राखिदियो चेतावनी चिन्ह

Technology Khabar १४ जेष्ठ २०७७, बुधबार

अमेरिकी राष्ट्रपति ट्रम्पले नै भ्रामक ट्वीट गरेको भन्दै ट्विटरले राखिदियो चेतावनी चिन्ह

काठमाडौं ।

ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटलाई पहिलोपटक फ्याक्ट चेकका लागि चेतावनीसहित राखिदिएको छ।

ट्विटरले मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पका दुईवटा ट्वीटमा झुटो जानकारी भएको भन्दै चेतावनी चिन्ह ‘लेबल’ लगाएको हो।

उनले चुनावी मतदानको बारेमा गरेको ट्वीटलाई चेतावनी चिन्ह दिएको हो ।

सो ट्वीटमा राष्ट्रपति ट्रम्पले लेखेका थिए- ‘मेल-इन-ब्यालेट अर्थात हुलाकबाट हुने मतदानमा धाँधली हुने पूरै सम्भावना रहेको छ। मेल बक्स चोरी हुन सक्नेछन्, यसका माध्यमबाट फर्जी मतदान गर्न सकिनेछ र फेरि त्यसलाई अवैध तरिकाबाट प्रिन्ट तथा नक्कली हस्ताक्षर गरेर पनि पठाउन सकिनेछ।’

सो ट्वीटमा ट्रम्पले क्यालिफोर्नियाका गभर्नरलाई आरोप लगाएका छन् । उनले यस बारेमा दुईवटा ट्वीट गरेका थिए ।

ट्विटरको यस कार्यलाई राष्ट्रपति ट्रम्पले सन् २०२० को चुनावलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन भने ट्विटरले अभिव्यक्ति स्वतन्त्रता दबाउने काम गरेको प्रतिक्रिया दिएका छन् ।

‘ट्विटरले २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न गरिरहेको छ । उसका अनुसार, पोस्टल मतदानमाथि मेरो बयान भ्रष्टाचार र धाँधलीलाई बढावा दिनसक्छ, जुन गलत हो । उनीहरूले यो सिएनएन र अमेजन वासिङट्न पोस्टको गलत समाचारमा आधारित भएर गरिरहेका छन् ’ ट्रम्पले अर्को ट्वीटमा भने ।

उक्त ट्वीटका लागि ट्विटरको नोटिफिकेशनमा लेखिएको छ- मेल इन ब्यालेट सम्बन्धी तथ्यहरु जान्नुहोस् ।

यसअघिदेखि नै ट्विटर भ्रामक र गलत सूचना भएका ट्वीटहरुमा चेतावनीयुक्त चिन्ह राख्ने र त्यसको बारेमा सहि जानकारी दिने लिंकहरु दिईने उल्लेख गरेको थियो ।

ट्वीटरले राष्ट्रपति ट्रम्पको ट्वीटले नियतबस चुनावी प्रकृयाको बारेमा गलत र झुटो जानकारी दिएको हुँदा मेल-इन-ब्यालेटको बारेमा थप जानकारी दिँदै लेबल गरिएको उल्लेख गरेकोछ।

easy care

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार