ग्राहकलाई ‘भास’ सर्भिस लगायतमार्फत ठगि गरेको भन्दै एनसेललाई साढे १० लाख रुपैयाँ जरिवाना

Technology Khabar १४ जेष्ठ २०७७, बुधबार

ग्राहकलाई ‘भास’ सर्भिस लगायतमार्फत ठगि गरेको भन्दै एनसेललाई साढे १० लाख रुपैयाँ जरिवाना

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल प्रालिलाई विभिन्न सेवाहरु अनधिकृतरुपमा संचालन गरेको भन्दै १० लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

प्राधिकरणको बोर्ड बैठकले हालै एनसेलले ग्राहकहरुलाई अनुमति बिना नै विभिन्न भ्यालू एडेड सर्भिसहरु उपलब्ध गराएर रकम उठाएको भन्दै १० लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्राधिकरण स्रोतले जानकारी दियो।

प्राधिकरण बोर्ड बैठकले यसअघि एनसेलले ‘लभ डिटेक्टर’ नामक भ्यालू एडेड सर्भिस (भास) अनधिकृतरुपमा संचालन गरेर ग्राहकहरुलाई ठगेको आरोपमा ५ लाख रुपैयाँ जरिवाना गरेको हो । सो सेवा रसियन कम्पनीले नेपालमा एनसेलसँग मिलेर संचालन गरेको थियो ।

प्राधिकरणले लभ डिटेक्टर र अर्को भ्यालु एडेड सर्भिस ‘भ्वाईस म्याजिक’ पनि अनुमति नलिई संचालन गरेको भन्दै त्यसमा अनुसन्धान गरेर ग्राहकहरु ठगिएको भन्दै एनसेललाई ५ लाख जरिवाना गर्ने निर्णय गरेको हो ।

लभ डिटेक्टर एपमार्फत कम्पनीले त्यसबेलामा नै करिब १५ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै  भ्वाईस म्याजिक एपमार्फत कम्पनीले करिब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो। लभ डिटेक्टर अनुमति नलिई संचालन गरेको र त्यसले बिकृति ल्याउने भन्दै प्राधिकरणले त्यसलाई रोक्न निर्देशन दिएको थियो ।

यसैगरि एनसेललाई अनुमतिपत्रको शर्त विपरित विभिन्न अफरहरु संचालन गरेको भन्दै अर्को ५ लाख रुपैयाँ अर्को जरिवाना गरिएको छ ।

यसमा एनसेलले शर्त विपरित शिवरात्री अफर, होली अफर, भ्यालेन्टाइन अफर र पहिलो सिम अफर संचालन गरेको थियो । ती अफरहरुले अनुमतिपत्रको शर्त उलंघन गरेको भन्दै जरिवाना गरिएको हो ।

यसमा दूरसंचार ऐनको दफा ४७ अनुसार कम्पनीलाई ५ लाख जरिवाना गरिएको छ।

यसबाहेक एनसेललाई थप ५० हजार रुपैयाँ पनि जरिवाना भएको छ । जसमा कम्पनीले ‘भास’ एप प्रयोग गर्दा ग्राहकहरुलाई स्वचालितरुपमा सेवा शुरु हुने तर स्वचालितरुपमा सेवा बन्द गर्ने प्रणाली नराखेकोमा कारबाही गरिएको हो ।

यसमा भ्यालू एडेड सर्भिस (भास) लाई अटो रिन्यू नहुने गरि बनाउनुपर्ने समेत निर्देशन दिईएको प्राधिकरणले स्रोतले उल्लेख गरेको छ ।

‘सोमबारको बोर्ड बैठकले एनसेलकाे करिब २ वर्षदेखिको भ्यालू एडेड सर्भिस (भास) बारेको फाइलमा कारबाही गर्ने निर्णय गरेको हो,’ स्रोतले टेक्नोलोजीखबरलाई भन्यो ।

ती फाइलहरु लकडाउन अगाडीदेखि नै बोर्डमा छलफलको क्रममा थिए ।

*हेडलाईन सम्पादित

easy care

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार

ताजा समाचार