सूचना महामार्ग निर्माण कार्यको प्रगति अत्यन्त न्यून देखिएको संसदिय समितिको ठहर

Technology Khabar १२ जेष्ठ २०७७, सोमबार

सूचना महामार्ग निर्माण कार्यको प्रगति अत्यन्त न्यून देखिएको संसदिय समितिको ठहर

संघिय संसदअन्तरगत विकास तथा प्रविधि समितिको आजको बैठकले सूचना महामार्ग निर्माण कार्यको प्रगति अत्यन्त न्यून देखिएको निर्णय गरेको छ ।

समितिले ग्रामिण दूरसञ्चार विकास कोषको रकम परिचालन गरि संचालन भईरहेको सूचना महामार्गको सुस्ततालाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा देशभर सबै जिल्लाहरुमा गुणस्तरीय सेवा बिस्तार गर्न निर्देशन समेत दिएको छ ।

समितिको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका अधिकारीहरुबिच गरेको छलफल पश्चात हाल ४१ जिल्लामा मात्र ब्रोडब्याण्ड इन्टरनेट पुगेको हुँदा आगामी आर्थिक वर्षभित्र सबै जिल्लामा पुर्याउने निर्देशन दिएको हो ।

सांसदहरुले छलफलमा ग्रामीण दूरसंचार विकास कोषको रकम परिचालन गरेर हालसम्म भएका प्रगतिहरुको बारेमा जानकारी लिएका थिए ।

समितिको छलफलमा नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रदेश १,२ र बाग्मती प्रदेशमा ग्रामिण दुर सञ्चार विकास कोष परिचालन गरी मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग (अप्टिकल फाइबर) निर्माण दुई वर्षभित्र सम्पन्न गरी सक्ने गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग भएको सम्झौता अनुसारको निर्माण कार्यको प्रगति अत्यन्त न्यून देखिएको थियो ।

सो योजनाअन्तरगत देशभरीका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका निकायहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा ४१ वटा जिल्लाहरुमा मात्र पुगेको छ ।

त्यसैगरि कोरोना भाइरस (कोभिड १९) को संक्रमणद्वारा उत्पन्न हालको विषम परिस्थितीमा विशेष गरेर शिक्षा क्षेत्र, उद्योग क्षेत्र एवं राज्यका हरेक संरचनालगायत सम्पूर्ण क्षेत्रलाई प्रविधि मैत्री बनाउने गरी सञ्चारको प्रभावकारी क्षमता अधिवृद्धि गर्दै आवश्यक कार्ययोजना अघि बढाउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रकाशित: १२ जेष्ठ २०७७, सोमबार

Comments are closed.

Loading...