अनुसन्धानकर्ताले तयार पारे ‘माइक्रो कम्ब’ डिभाइस, एक सेकेण्डै हजार एचडी फिल्म डाउनलोड

Technology Khabar १० जेष्ठ २०७७, शनिबार

अनुसन्धानकर्ताले तयार पारे ‘माइक्रो कम्ब’ डिभाइस, एक सेकेण्डै हजार एचडी फिल्म डाउनलोड

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले अहिलेसम्मकै सबैभन्दा तिब्रगतिको इन्टरनेट स्पीड हासिल गरेको दाबी गरेका छन् ।

मोनास, स्विनबर्न र आरएमआईटी विश्वविद्यालयहरुको एक संयुक्त टोलीले ४४.२ टेराबाइट प्रति सेकेण्डको इन्टरनेट स्पीड रेकर्ड हासिल गरेको बताएका छन् ।

यो स्पीडमा प्रयोगकर्ताले एक सेकेण्डै एक हजार वटा हाई डेफिनिसन (एचडी) फिल्महरु डाउनलोड गर्नसक्नेछन्।

अनुसन्धानकर्ताहरुले एक डिभाइसको प्रयोगमार्फत विश्व रेकर्ड कायम हुने स्पीड हासिल गरेका हुन् ।

यसको लागि ‘माइक्रो कम्ब’ नामक अप्टिकल चिप टेलिकम पूर्वाधारहरुमा प्रयोग गरेका थिए, जसले हालको टेलिकम हार्डवेयरका ८० वटा लेजरहरुलाई प्रतिस्थापन गरेको थियो । सो डिभाइसभित्र सयौं इन्फ्रारेड लेजरहरु  हुन्छन् ।

‘माइक्रो कम्ब’लाई ल्याब भन्दा बाहिरको पूर्वाधारमा जडान गरेर  परीक्षण गरिएको थियो, जून अहिले अष्ट्रेलियाको राष्ट्रिय ब्रोडब्याण्ड नेटवर्कले प्रयोग गरिरहेको छ।

अष्ट्रेलियामा इन्टरनेटको गति सँधै समस्याग्रस्त हुने गरेको र ग्राहकहरुले गुनासो गरिरहने गरेका छन् । अष्ट्रेलियामा औषत डाउनलोड स्पीड ४३.४ एमबीपीएस थियो । जुन अहिलेको परीक्षणबाट पाइएको स्पीडभन्दा १० लाख गुणा स्लो हो।

अष्ट्रेलियाको टिमले भविश्यको इन्टरनेटको अवस्थालाई उनीहरुको अध्ययनले पत्ता लगाएको विषयले परीवर्तन गर्ने आशा गरेका छन् ।

मोनास विश्वविद्यालयका इलेक्ट्रिकल एण्ड कम्प्यूटर सिस्टमका लेक्चरर डा. बिल कोर्कोरानले अहिलेको विश्वमा यस्तो स्पीडले हरेक ग्राहकको आवश्यकतालाई पुरा गर्ने बताएका छन् । उनले ब्याण्डविथ पूर्वाधारमा दबाब कायम रहेको बेला यसलाई व्यवसायिक बजारमा लगेर रुपान्तरण गर्न सकिने बताए।

अनुसन्धानकर्ताहरुका अनुसार यो अध्ययनको महत्वपूर्ण आधार भनेको अहिले भएका अप्टिकल फाइबरलाई नै प्रयोग गरेर उच्च गति हासिल गर्न सकिने हो ।

अनुसन्धानकर्ताहरुले अबको करिब पाँच वर्षपछि मात्रै सो डिभाइस व्यवसायिक प्रयोगका लागि बजारमा पुग्ने अपेक्षा गरेका छन् । बीबीसी

प्रकाशित: १० जेष्ठ २०७७, शनिबार

Leave a Reply

Loading...