हामीले बिर्सिएको विश्व दूरसञ्चार र सूचना समाज दिवस तथा नेपालले गर्नुपर्ने काम

Technology Khabar ४ जेष्ठ २०७७, आईतवार

हामीले बिर्सिएको विश्व दूरसञ्चार र सूचना समाज दिवस तथा नेपालले गर्नुपर्ने काम

काठमाडौं ।

अनुज राज

आज मे १७ अर्थात विश्व दूरसञ्चार दिवस । नेपालमा पनि विश्व दूरसञ्चार दिवस यसअघिका वर्षाहरुमा भव्यरुपमा मनाईने गरिन्थ्यो ।

तर यो वर्ष भने कोरोनाभाइरको विश्वव्यापी महामारीले गर्दा दूरसञ्चार दिवसलाई ओझेलमा पारिदिएको छ । नेपालमा पनि लकडाउन भएको र कोरोनाभाइरसबाट हालै १ महिलाको मृत्यु भएपछि मानिसहरुमा थप डर उत्पन्न भएको छ ।

मानिसहरु घरभित्रै बसेर कोरोनाभाइरस फैलनबाट रोक्ने प्रयास गरिरहेका छन् । जहाँ घरभित्रैबाट दूरसञ्चार सेवाहरु प्रयोग गरिरहेका छन् । जसमध्ये सबैभन्दा धेरै प्रयोग अडियो र भिडियो कलिङ्गको सुविधा र डिभाइसहरु प्रयोग गरिरहेका छन् ।

विश्व दूरसञ्चार र सूचना समाज दिवसको अवसरमा अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन यूनियनले कनेक्ट २०३० आईसिटीज फर सस्टेनेबल डेभलपमेन्ट गोल्स नारा तय गरेको छ ।

विश्वभर महामारीले गर्दा यो वर्ष कतैपनि विश्व दूरसंचार दिवस भौतिक र तामझामका साथ मनाईएको छैन् । अझ नेपालमा त आज विश्व दूरसंचार दिवस हो भन्ने सो क्षेत्रका मानिसहरुले नै बिर्सेको जस्तो देखिएको छ । अरु वर्ष विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेकोमा यो वर्ष जानकारी नै नहुनु अहिलेको अवस्थामा स्वभाविक नै मानिनुपर्दछ ।

तर यो वर्ष सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले न त कुनै औपचारिक विज्ञप्ति नै जारी गर्न सके न त भर्चुअल कार्यक्रम नै आयोजना गरिएको छ । सरकारले त कोभिड-१९ बाट देशबासीलाई बचाउने कार्यमा लागेको बेला बिर्सियो होला तर यहि क्षेत्रमा आबद्ध संस्थाहरुको हरेक दिन जसो विभिन्न नाममा भर्चुअल कार्यक्रम र तामझाम गरिरहेपनि यसबारेमा कुनै काम गरेका छैनन् ।

हिजो भर्खर कोभिड-१९ बाट नेपालमा एक महिलाको मृत्युले सबैलाई दुखित र त्रसित बनाईदिएको छ भने अझ धेरै समय मानिसहरुलाई घरभित्रै बस्न बाध्य तुल्याउने देखिएको छ । जतिधेरै समय घरभित्रै बस्दछौं त्यति नै दूरसञ्चार सेवाहरुको आवश्यकता र महत्व बढिरहेको छ ।

किनकी अहिलेको समाज सूचना र सञ्चार प्रविधिको समाज हो जहाँ हरेक क्षण नयाँ जानकारी र प्रविधिहरुको विकास भईरहेकोछ । विषयम परिस्थितीमा मानिसहरुलाई एक आपसमा जोड्नका लागि पनि दूरसंचार प्रविधिको निकै महत्व रहेको यो अवस्थामा पुष्टि भएको छ ।

विश्वभर सन् १९६९ देखि विश्व दूरसंचार तथा सूचना समाज दिवस मनाईँदै आएको छ । यो दिवस आईटियूको स्थापनाको अवसर पारेर मनाईँदै आएको हो ।

यो वर्षका नारा आईटियू सदस्यहरुका लागि पनि फरक अवसरको रुपमा रहेको छ । जहाँ दिगो विकासअन्तरगतको प्रविधिगत एडभान्टेजले आगामी १० वर्षमा कसरी दिगो विकासका लक्ष्यहरुलाई सन् २०३० भित्र पुरा गर्ने संयुक्त राष्ट्र संघको एउटा एजेण्डा रहेको छ ।

यो लक्ष्य अन्तरगत विश्वभर सन् २०२३ सम्ममा ६५ प्रतिशत घरधुरीहरुमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य रहेको छ । जसमा सन् २०१९ को तथ्यांकअनुसार ५७ प्रतिशत मात्र पहुँच रहेको छभने एशियाली मुलुकहरुमा त्यस्तो पहुँच केबल ५०.९ प्रतिशत मात्र छ ।

त्यस्तै सन् २०२३ भित्रै ७० प्रतिशत भन्दा बढि व्यक्तिहरुले इन्टरनेट प्रयोग गर्ने अवस्था तयार पार्ने लक्ष्य रहेको छ । जसमा सन् २०१९ सम्म ५३.६ प्रतिशत मानिसहरुमा मात्र इन्टरनेटको पहुँच रहेको छ । अझ एशिया प्यासिफिकमा हेर्ने हो भने त्यो केबल ४८.४ प्रतिशत मात्र रहेको छ ।

अर्को लक्ष्य सन् २०२३ सम्ममा इन्टरनेटको पहुँचलाई थप २५ प्रतिशत सस्तो र सुलभबनाउने रहेको छ । यसमा सन् २०१७ को आधारमा यसलाई ३.२ प्रतिशतमा मात्र सन् २०२३ सम्ममा राख्ने काम गर्नुपर्ने हुन्छ ।

त्यसैगरि सबै देशहरुले सन् २०२३ सम्ममा डिजिटल एजेण्डाहरु स्वीकार गरेर तयार पार्नुपर्ने छ भने ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्यालाई ५० प्रतिशतले वृद्धि गर्नुपर्ने अर्को लक्ष्य रहेको छ ।

४० प्रतिशत भन्दा बढि देशहरुका आधा भन्दा बढि सेवा प्रयोगकर्ताहरुलाई १० मेगाबीट प्रति सेकेण्ड भन्दा बढिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउनुपर्ने लक्ष्य तोकिएको छ ।

सन् २०२३ सम्ममा ४० प्रतिशत भन्दा बढि जनसंख्याले सरकारी सेवा अनलाईनमा उपलब्ध गराउनुपर्ने अवस्था पुर्याउनुपर्ने अर्को लक्ष्य लिईएको छ ।

अब प्रश्न आउँछ नेपालको अवस्था के छ त ? नेपाल आईटियूको सूचीमा १४० औं स्थानमा रहेको छ । नेपालको अहिलेको तथ्यांक हेर्ने हो भने नेपाल दूरसंचार प्राधिकरणका अनुसार मोबाइल सेवाको पहुँच १३६.५४ प्रतिशत रहेको छ भने ४ करोड १५ भन्दा बढि मोबाइल सिमहरु बिक्री भईसकेका छन् । त्यसैगरि तारसहितको फोन प्रयोग गर्नेहरु २.६३ प्रतिशत रहेको छ ।

अर्कोतर्फ ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरु ७१.७६ प्रतिशत रहेका छन जसमध्ये ४६ लाख ६४ हजार भन्दा बढि मानिसहरु फोरजी सेवा प्रयोग गरिरहेका छन भने थ्रीजी प्रयोग गर्नेहरु त्यसको दोब्बर भन्दा पनि बढि रहेको छन् । नेपालमा थ्रीजी प्रयोगकर्ता १ करोड १६ लाख भन्दा बढि रहेका छन् ।

हाल ५ वटा कम्पनीहरु दूरसंचार सेवा प्रदायकको रुपमा रहेपनि केबल ३ वटा कम्पनीहरु मात्र सक्रिय रहेको देखिन्छ ।

नेपालमा दूरसंचार सेवाको प्रयोग र पहुँच बिस्तार हुँदैगएपनि अझै लाखौं मानिसहरु गुणस्तरीय सेवाको पहुँचबाट बाहिर नै रहेका छन् । ७७ वटै जिल्लामा फोरजी सेवाको बिस्तार भएपनि शहरी क्षेत्रका मानिसहरुले नै गुणस्तरीय फोरजीको सेवा पाउन सकेका छैनन् ।

तर सरकारले भने सन् २०२५ सम्ममा छिमेकी मुलुक चीन र भारतको तुलनामा जीडिपीको आधारमा इन्टरनेटको पहुँचमा नेतृत्वदायी वृद्धि गर्ने अपेक्षा गर्दै डिजिटल नेपाल फ्रेमवर्क ल्याएको छ ।

सरकारी तथ्यांकलाई नै हेर्दा नेपालमा सामाजिक संजालको प्रयोग निकै बढिरहेको छ जसले इन्टरनेटका प्रयोगको दायरालाई पनि बढाउँदै गएको छ । सन् २०१८ को तथ्यांकअनुसार नेपालमा करिब ९३ लाख फेसबुक प्रयोगकर्ताहरु छन भने मनोरन्जन र भिडियो शेयरिङ्ग गर्नेहरुसहित ६४ लाख यूट्यूबमा दर्ता भएका छन् ।

यसैआधारमा सरकारले फ्रेमवर्क पारित गरेको थियो जसले आर्थिक वृद्धिलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ तर सो फ्रेमवर्क कहिलेसम्म लागू हुनेछ र प्रयोगमा आउनेछ भन्ने अझै अनश्चित रहेको छ ।

यदपी सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमअनुसार गुणस्तरीय दूरसञ्चार सेवालाई प्राथमिकतामा राखेको छ भने सूचना प्रविधिको विकास र बिस्तारलाई निरन्तरता दिने भएकोछ ।

दूरसंचार सेवा र डिजिटल सेवा एक अर्काका परिपुरक हुन जसले समग्रमा उपभोक्ताहरुलाई सहयोग पुर्याउँछ । यसको लागि सरकारले केहि रुपमा भएपनि ग्रामिण तहसम्म इन्टर्नेटको उपलब्धता गराउन शुरु गरिसकेको छ भने सुचना महामार्गको निर्माण समेत हुँदैछ । जसले आगामी दिनमा नेपालले लक्ष्य गरेका बिन्दुमा पुग्न सहज हुनेछ ।

हालै आएको तथ्यांक विश्लेषण संस्था ओपनसिग्नलको तथ्यांक हेर्दा पनि नेपालले दूरसञ्चारको प्रयोगमा निकै सुधार गरिरहेको छ विशेषगरि फोरजीको पहुँच र गुणस्तरमा तर त्यो अझै पर्याप्त छैन् । अझै सेवाग्राहीहरुले ठगिरहेको महशुस गरिरहेका छन् भने गुनासो उत्तिकै बढिरहेको छ ।

नेपालको अबको लक्ष्य भनेको शहरी क्षेत्रमा थप गुणस्तरलाई सुधार गर्दै पहुँच नभएका स्थानहरुमा दूरसञ्चार सेवाको बिस्तार गर्नु हो । यसको लागि स्रोत र साधन मात्र भएर पुग्दैन् त्यसको लागि सहि नेतृत्व, उपयुक्त समय र दृढ ईच्छाशक्ति, रणनीतिक योजना समेत हुन आवश्यक छ नत्र भने हामी सँधै आईटियूको सूचीमा पुच्छरमा नै झुण्डिरहने छौं र हामीभन्दा अविकसित भनिएका अफ्रिकी मुलुकहरुले हामीलाई पछारेर अगाडि बढ्नेछन् ।

यसको लागि दूरसञ्चार सेवाहरुको बिस्तारसँगै डिजिटल नेपाल अभियानलाई अगाडि लैजान ढिलाई भईसकेको छ त्यसैले कुनै बहाना नगरिकन हरेक तह र तप्काको पहुँच हुनेगरि सुलभरुपमा डिजिटल सेवाहरु उपलब्ध गराउनु आवश्यक छ ।

जसअन्तरगत नेपालले हरेक नागरिकलाई विद्यालयतहदेखि नै सूचना प्रविधिको ज्ञान र सिप उपलब्ध गराउने, दूर्गम भन्दा दूर्गम मानिएका स्थानहरुमा दूरसञ्चार सेवा बिस्तार गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने रणनीति र योजना लागू गर्ने डिजिटल नेपालको अभियानलाई द्रूत गतिमा अगाडि बढाउने, सूपथ मूल्यमा गुणस्तरीय सेवाको सुनिश्चित गराउने र त्यसको लागि नीतिगत सुधार गर्ने, हरेक तहसम्म तिब्रगतिको इन्टरनेट दिने लक्ष्यसहित फाइबरसहितका पूर्वाधार निर्माण गर्ने र यी सबै कार्यहरुको नियमन र अनुगमन गर्न नियमनकारी निकाय सशक्त बनाउनु पर्ने देखिन्छ ।

easy care

प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार