ह्वावे टेक्नोलोजीका विरुद्ध कडा रवैया अपनाउँदै अमेरिका, चिप आपूर्तिमा समेत प्रतिबन्ध

Technology Khabar ३ जेष्ठ २०७७, शनिबार

ह्वावे टेक्नोलोजीका विरुद्ध कडा रवैया अपनाउँदै अमेरिका, चिप आपूर्तिमा समेत प्रतिबन्ध

काठमाडौं ।

अमेरिकी सरकारले ह्वावे टेक्नोलोजिजका विरुद्ध थप कडा कदम चालेको छ । अमेरिकी प्रशासनले शुक्रबार ह्वावेलाई विश्वभरबाट चिप आपूर्तिमा समेत रोक लगाएको हो ।

टेलिकम जायन्ट ह्वावेलाई अमेरिकाले गतवर्ष नै कालोसूचीमा राखेर कारोबार गर्न प्रतिबन्ध लगाउँदै आएको छ, जसलाई अर्को १ वर्ष बिस्तार गरेको छ ।

अहिले भने अमेरिकाले ह्वावे विरुद्ध थप कदम चाल्दै चिप आपूर्तिमा पनि रोक लगाएको हो ।
शुक्रबार अमेरिकाको बाणिज्य विभागले नयाँ नियम जारी गर्दै अब ह्वावेलाई उपलब्ध गराईने सेमिकण्डक्टरहरुका लागि समेत अनुमति लिनुपर्ने प्रावधान ल्याएको हो ।

जसले आगामी दिनमा विश्वको दोस्रो नम्बरमा रहेको स्मार्टफोन निर्माता कम्पनीलाई समस्यामा पार्न सक्ने देखिएको छ ।

नयाँ नियमसँगै विश्वभरका कयौं चिप निर्माताहरुले ह्वावेको हिसिलिकन किरिन चिपसेटका लागि उपलब्ध गराउँदै आएका कम्पनीहरुको कारोबार प्रभावित हुनेभएको छ ।

‘रणनीतिकरुपमा ह्वावेको सेमिकण्डक्टरका अधिग्रहणलाई लक्षित गरिएको छ जून सिधै केहि निश्चित अमेरिकी सफ्टवेयर तथा प्रविधिको प्रत्यक्ष उत्पादन हुन्,’ सेक्रेटरी अफ कमर्श विल्बर रोजले उल्लेख गरेका छन् ।

अमेरिकी सरकारले यसअघिको प्रतिबन्धलाई ह्वावेले वाईपास गरिरहेको भन्दै झन कडा बनाएको बताईएको छ ।

नयाँ नियमले सबैभन्दा धेरै चिप निर्माता टिएसएमसी प्रभावित हुनेछ जसले किरिन चिपसेट उत्पादन गर्ने गर्दछ । यो किरिन लाइनअप ह्वावेको लागि निकै महत्वपूर्ण रहेको छ ।

उता अर्कोतर्फ चीनले पनि अमेरिकाको प्रतिबन्धको विरुद्धमा नयाँ कदम चाल्ने बताईएको छ । चीनको ग्लोबल टाइम्सकाअनुसार बेईजिङ्ग अमेरिकी कम्पनीहरुलाई अविश्वनिय कम्पनीहरुको सूचीमा राख्न तयार रहेको छ ।

यस्तो निर्णय भएको खण्डमा अमेरिकाका एप्पल इंक, सिस्को सिस्टम इंक, क्वालकम इंकका साथै बोईङ्ग कम्पनी समेत प्रभावित हुने बताईएको छ। एजेन्सीहरुका साथमा

easy care

प्रकाशित: ३ जेष्ठ २०७७, शनिबार