नेपाली स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये ७४ प्रतिशतमा मात्र फोरजीको पहुँच, ८९ औं स्थानमा नेपाल

Technology Khabar १ जेष्ठ २०७७, बिहीबार

नेपाली स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये ७४ प्रतिशतमा मात्र फोरजीको पहुँच, ८९ औं स्थानमा नेपाल
नेपाल टेलिकमको फोरजी सेवाको लोगो । फाइल तस्बिर

काठमाडौं ।

नेपाली स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये करिब ७४ प्रतिशतले फोरजी प्रयोग गर्ने गरेको देखिएको छ । हालै सार्वजनिक भएको रिपोर्टअनुसार फोरजीको उपलब्धता भएका १०० देशहरुमध्ये नेपालको अवस्था निकै कमजोर देखिएको हो ।

विश्वभर मोबाइल फोन र मोबाइल नेटवर्कहरुको बारेमा अनुसन्धान गर्ने संस्था ओपनसिग्नलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर औसतमा फोरजीको उपलब्धता ८६.८ प्रतिशत देखिएको छ । जसमा सन् २०१९ को तुलनामा सन् २०२० मा ६.१ प्रतिशतले फोरजी कभरेजमा वृद्धि भएकोछ ।

मोबाइल नेटवर्क एक्सपेरियन्स रिपोर्टकाअनुसार नेपालले सन २०१९ र २०२० को बिचमा फोरजी उपलब्धतामा उल्लेखनिय सुधार गरेपनि अवस्था अझै कमजोर रहेको छ ।

नेपालले एक वर्षको अवधिमा २८.६ प्रतिशतले फोरजी पहुँचमा वृद्धि गरेको छ र फोरजीको पहुँच बिस्तार गर्नेमा नेपाल दोस्रो स्थानमा रहेको छ । तर उल्लेख वृद्धि गरेपनि नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये ७४.१ प्रतिशतसम्म मात्र फोरजीको उपलब्धता देखिएको छ।

स्मार्टफोन प्रयोगकर्ताको आधारमा फोरजीको उपलब्धता प्रतिशतमा नेपाल भन्दा पछाडि १२ वटा देशहरु मात्र रहेका छन् ।

दक्षिण एशियाली मुलुकमध्ये अफगानिस्तान मात्र नेपाल भन्दा पछाडि पर्दै अन्तिममा रहेको छ । छिमेकी मुलुक भारत भने फोरजीको व्यापक उपलब्धता भएको प्रमुख १० देशहरुमध्ये रहेको छ ।

रिपोर्टकाअनुसार जापानका स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये ९८.५ प्रतिशतसम्म फोरजीको पहुँच रहेको छ भने त्यसपछि दक्षिण कोरियाका प्रयोगकर्ताहरु ९८.३ प्रतिशत रहेका छन् ।

यो रिपोर्ट ओपनसिग्नलले सन् २०२० जनवरीदेखि मार्च र सन् २०१९ को सोहि अवधिमा स‌ंकलन गरेको डाटाको आधारमा तयार पारेको हो।

easy care

प्रकाशित: १ जेष्ठ २०७७, बिहीबार