लकडाउनमा नेपालको फिक्स्ड इन्टरनेटको गति १५ प्रतिशतले सुस्त, मोबाइलमा भने झिनो सुधार

Technology Khabar ३१ बैशाख २०७७, बुधबार

लकडाउनमा नेपालको फिक्स्ड इन्टरनेटको गति १५ प्रतिशतले सुस्त, मोबाइलमा भने झिनो सुधार

काठमाडौं ।

कोभिड-१९ को संक्रमण रोक्न लागू गरिएको लकडाउनपछि नेपालको केबल इन्टरनेट सेवा सुस्त भएको देखिएको छ । मानिसहरु घरमा नै बसिरहेको बेलामा अधिकांश इन्टरनेटमा व्यस्त रहेको बेला इन्टरनेटको गति उल्लेख्य मात्रामा घटेको देखिएको छ।

अन्तराष्ट्रिय स्तरमा इन्टरनेट सेवाको स्पीड मापन गर्ने संस्था ओक्लाको नयाँ रिपोर्टअनुसार नेपालको इन्टरनेट सेवाको गतिमा सुस्तता आएको हो ।

कोभिड-१९ ले विश्वभर इन्टरनेट कार्यदक्षतामा पारेको प्रभावबारे रिपोर्ट प्रकाशित गर्दै आएको ओक्लाले नेपालको इन्टरनेटको गति कम भएको देखाएको हो । रिपोर्टअनुसार नेपालको फिक्स्ड इन्टरनेट स्पीडमा १५ प्रतिशतले कमी आएको छ ।

फिक्स्ड इन्टरनेट अर्थात केबल वा एफटिटिएचमार्फत उपलब्ध गराईएको इन्टरनेट सेवाको गति निकै सुस्त भएपनि मोबाइल इन्टरनेटको स्पीडमा भने केहि सुधार देखिएको छ ।

रिपोर्टकाअनुसार लकडाउनको समयमा नेपालको मोबाईल इन्टरनेट स्पीडमा २ प्रतिशतको झिनो सुधार रहेको छ ।

कम्पनीले गएको फागुन १९ अर्थात मार्च २ तारिखको आधारमा नेपालसहित विश्वभर मापन गर्ने गरेको छ । जसमा नेपालको इन्टरनेट सेवाको गतिमा सुस्तता आएको हो ।

नेपालको फिक्स्ड इन्टरनेट स्पीडमा उल्लेख कमी आउनुका साथै विश्वभरको इन्टरनेट स्पीडमा पनि यस अवधिमा १ प्रतिशतको कमी आएको छ भने मोबाइल स्पीड पनि १ प्रतिशतले घटेको छ।

रिपोर्टअनुसार पछिल्लो मे ४ तारिखदेखि अहिलेसम्मको तथ्यांक हेर्दा फिस्क्ड इन्टरनेट डाउनलोडको गति १५ प्रतिशतले घटेर १८.३७ एमबिपिएस भएको छ भने मोबाइल डाउनलोड स्पीड २ प्रतिशतले बढेर १४.२० एमबिपिएस भएको छ।

easy care

प्रकाशित: ३१ बैशाख २०७७, बुधबार