शुक्रबारको प्रर्दशनमा प्रहरीलाई हातपात गर्नेहरु चिनियाँ मोबाइल ब्राण्डका कर्मचारी भएको खुलासा

Technology Khabar २७ बैशाख २०७७, शनिबार

शुक्रबारको प्रर्दशनमा प्रहरीलाई हातपात गर्नेहरु चिनियाँ मोबाइल ब्राण्डका कर्मचारी भएको खुलासा
फाइल तस्विर

लकडाउनको बेलामा चीन फर्कन पाउनुपर्ने भन्दै निषेधित क्षेत्रमा आन्दोलन गर्ने चिनियाँहरुमध्येका केहि मोबाइल फोन कारोबारमा संलग्न कम्पनीका कर्मचारीहरु रहेका छन्।

शुक्रबार निषेधित क्षेत्र सिंहदरबार अगाडि धर्ना र विरोधमा बसेका ४७ जना चिनियाँ नागरिकलाई प्रहरीले निषेधित क्षेत्रमा धर्ना दिएको र प्रहरीमाथि आक्रमण गरेको भन्दै पक्राउ गरेको थियो ।

जसमध्ये हातपातमा उत्रिने अधिकांश चिनियाँहरु मोबाइल कम्पनीको कारोबारमा संलग्न रहेका व्यक्ति भएको खुलासा भएको छ।

धर्नामा बसेका र प्रहरीमाथि हातपात गर्नेहरुमध्ये केहि भीभो मोबाइल ब्राण्डको नेपाल स्थित कम्पनीमा काम गर्दै आएका कर्मचारीहरु रहेका स्रोतले जानकारी दियो।

ओपो र भीभो, रियलमी, ह्वावेसहित अन्य चिनियाँ मोबाइल ब्राण्डका नेपालस्थित कम्पनीमा काम गर्ने मध्यम र उच्चतहका कर्मचारीहरु अधिकांश चिनियाँ नै हुने गरेका छन् । जसले मार्केटिङ्ग, पर्सनल रिलेसन, सेल्स, रेभेन्यूलगायतका क्षेत्रमा काम गर्ने गरेका छन् । उनीहरुले नेपाली भाषा नबुझेपनि दोभोषेहरुलाई नियुक्त गरेर आफैं नै फिल्डमा समेत खटिने गरेको न्यूरोड क्षेत्रका मोबाइल व्यवसायीहरुले बताउँदै आएका छन्।

यहि शुक्रबार भएको विरोध र प्रहरीमाथिको आक्रमणको घट्नामा पक्राउ परेका ४७ जना मध्ये ४३ जनालाई रिहा गरिएको र बाँकी ४ जनामाथि कारबाही र मुद्धा दायर गरिने काठमाडौं प्रहरीका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

उनकाअनुसार ४ जनाले प्रहरीमाथि हातपात गरेको अभियोगमा कारबाही गरिनेछ र उनीहरु अहिले थुनामा रहेका छन् । विरोध गर्ने चिनियाँहरु नेपालका ठमेल, न्यूरोडलगायतका क्षेत्रहरुमा व्यापार व्यवसायमा काम गर्नेहरु, विभिन्न जलविद्युत कम्पनीमा काम गर्नेहरु रहेका उनले जानकारी दिए। उनले दिएको जानकारीअनुसार  हाल थुनामा रहेका ४ जना लीयाे लाउ(Leo Lau), ग्याभीड(Gavid), जिङ्गजाङ्गथा (Zhaingjangtha) र गीगनानी(Giganani) रहेका छन् ।

मोबाइल क्षेत्रमा आबद्ध स्रोतले शुक्रबार सिंहदरबार क्षेत्रमा प्रहरीमाथि हातपात गर्नेहरु अधिकांश भीभो मोबाइलका कर्मचारीहरु रहेको र केहि अन्य मोबाइल कम्पनीमा आबद्ध रहेको दाबी गरेको छ।

‘हिजो संचारमाध्यम र सामाजिक संजालमा आएका भिडियो र तस्विरहरु हेर्दा विरोध गर्नेहरु मध्येका केहि नेपालमा चाईनिज मोबाइल ब्राण्ड कम्पनीमा कार्यरत कर्मचारीहरु हुन् । जसमध्ये केहिलाई आफैंले व्यक्तिगतरुपमा चिन्दछु,’ स्रोतले भन्यो ।

स्रोतकाअनुसार उनीहरु मोबाइल कम्पनीहरुमा आन्तरिक रुपमा रहेर उच्च तह र मध्यम तहमा कामगर्नेहरु र मोबाइल सेल्समा आबद्धहरु रहेका छन्।

यस विषयमा भीभो र ओपो कम्पनीआबद्ध स्रोतहरुसँग सम्पर्क गर्दा आफूहरु त्यसबारेमा स्पष्ट नभएको उनीहरुले बताए।

‘तस्वीर र भिडियोहरु हेर्दा हो जस्तो देखिन्छ तर मुखमा मास्क लगाएको हुँदा यसै भन्न सकिएन्, कम्पनीले कसैलाई पनि त्यस्तो आन्दोलन गर्न भनेको छैन्, कोहि व्यक्तिगतरुपमा गएको भए भन्न सकिएन्,’ कम्पनीका स्रोतहरुले भने ।

चिनियाँ राजदूतावासले पनि आजै प्रेस विज्ञप्ति जारी गरेर नेपालमा रहेका चिनियाँहरुलाई नेपालको कानून पालना गर्न र अन्तराष्ट्रिय हवाई उडान नखुलेसम्म पर्खन भनेको छ।

प्रकाशित: २७ बैशाख २०७७, शनिबार

Comments are closed.

Loading...