सूचना प्रविधिका उद्योग र व्यवसाय अझै संचालन नहुने, मोबाइल फोन बजार खुल्ने समेत अनिश्चित

Technology Khabar २६ बैशाख २०७७, शुक्रबार

सूचना प्रविधिका उद्योग र व्यवसाय अझै संचालन नहुने, मोबाइल फोन बजार खुल्ने समेत अनिश्चित

लकडाउन खुकुलो बनाएसँगै सरकारले विभिन्न क्षेत्रका कार्यालय, उद्योग, कलकारखानाहरु संचालन गर्न दिने निर्णय गरेपनि सूचना प्रविधि क्षेत्र र मोबाइल बजार भने बन्द नै रहने भएको छ ।

मन्त्रिपरिषदको बैठकले विभिन्न कार्यालय, उद्योग, कलकारखानाहरु निश्चित मापदण्ड पुर्याएर संचालन गर्न दिने निर्णय गरेपनि सूचना प्रविधि क्षेत्रका कम्पनीहरु तथा उद्योगहरु भने बन्द नै रहने भएका हुन् ।

सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई संचालनको निर्णय गरेपनि सूचना प्रविधि क्षेत्रका उद्योग तथा कार्यालयहरु खोल्ने वा संचालन गर्ने बारेमा भने कुनै निर्णय गरिएको छैन् । यसको अर्थ ती क्षेत्रहरु शुक्रबारदेखि संचालनमा अझै आउनसक्ने छैनन् र बन्द नै रहनेछन् ।

नेपालमा सफ्टवेयर, हार्डवेयर, डाटा प्रोसेसिङ्ग, आउटसोर्सिङ्गलगायतका सूचना प्रविधिसँग सम्बन्धित उद्योग व्यवसाय हुँदै आएको छ । तर ती व्यवसाय सरकारको अर्को आदेश नआएसम्म संचालनमा रोक लगाईएको छ ।

सूचना प्रविधि कार्यालय तथा उद्योगहरु खोल्न रोक लगाएपनि सरकारले इन्टरनेट सेवा जडान र मर्मतको लागि अनुमति दिएको छ ।

यसअघिदेखि नै अत्यावश्यक सेवाअन्तरगत पर्ने इन्टरनेट सेवाको नेटवर्क मर्मत र संचालनको कामलाई सरकारले अनुमति दिएको थियो भने मर्मतको लागि आवश्यक पर्ने यातायात साधनको लागि अनुमति पनि जारी गरेको थियो ।

त्यस्तै सरकारले मोबाइल तथा ईलेक्ट्रोनिक्स उपकरणहरुको बिक्री बितरणमा अझै रोक लगाएको छ । सरकारले अत्यावश्यक र गैरखाद्य बिक्रि गर्ने बाहेकका व्यवसायीक मल र पसलहरु संचालनमा रोक लगाउने निर्णय गरेसँगै मोबाइलको खरिद बिक्री कार्य अनिश्चितकालका लागि रोकिएको हो ।

यसका साथै सरकारले सकेसम्म विद्युतीय भुक्तानीलगायतका कारोबार गर्नका लागि समेत निर्देशन दिएको छ ।

TK Viber

प्रकाशित: २६ बैशाख २०७७, शुक्रबार

Loading...